२०८१ चैत २७ गते बुधवार / Apr 09 , 2025 , Wednesday
२०८१ चैत २७ गते बुधवार
Ads

बारबर्दिया नगरपालिका-२ बालविवाह मुक्त वडा घोषणा

draupadi film
सन्तोष पौडेल
२०८१ मंसिर २२ गते २१:०५
बारबर्दिया नगरपालिका-२ बालविवाह मुक्त वडा घोषणा

बर्दिया : लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर बारबर्दिया नगरपालिका वडा नं. २ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । शनिबार एक समारोहकाबीच  वडालाई  बालविवाह मुक्त वडा घोषणा गरिएको हो । घोषणा पूर्व गरिएको सर्वेक्षण अनुसार बालविवाहमुक्त वडा घोषणा गर्न मापदण्ड पुगेकाले वडालाई बालविवाहमुक्त वडा बनाइएको हो । बाल विवाहमुक्त घोषणा गर्न २० प्रतिशतभन्दा तल हुनुपर्नेमा बारबर्दिया नगरपालिका वडा नं. २ मा १० प्रतिशत मात्र बालविवाह देखिएकाले वडालाई घोषणा गरेर कार्यान्वयनको दिशामा अगाडि बढाइएको छ ।

बालविवाह सम्बन्धी रणनीति जारी, बाल संरक्षण नीति लागू, बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका, बाल अधिकार संरक्षण समिति पालिका, वडा र विद्यालय स्तरमा क्रियाशील रहेको लगायतका मापदण्ड पूरा भएकाले वडालाई बालविवाहमुक्त घोषणा गरिएको हो । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले वडालाई बालविवाहमुक्त घोषणा गरेर प्रमाणपत्र वडा नं. २ का वडाध्यक्ष रामफेरन थारुलाई हस्तान्तरण गरेका थिए ।

सो अवसरमा मन्त्री जन्मजय तिमिल्सिनाले वालविवाहमुक्त भएको वडालाई पूर्णरुपमा बालविवाहमुक्त गराउन सरोकारवाला निकायले चासो लिनुपर्ने बताए । उनले बारबर्दिया नगरपालिका वडा नं. २ थारू जातीको बाहुल्यता भएको ठाउँ भएकाले सो ठाउँमा शिक्षा लगायतका कार्यक्रममा स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

उनले बालविवाह अन्त्यका लागि सबै पक्षले हातेमालो गर्नुपर्नेमा जोड दिँदै बालविवाहमुक्त जिल्ला बनाउन गुणस्तरीय शिक्षाको भूमिका निर्णायक हुने बताए ।

‘बालविवाहको अन्त्य, सुदृढ समाजको गन्तव्य’ भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा बारबर्दिया नगरपालिका उपप्रमुख रत्ना कुमारी पाण्डे, प्लान इन्टरनेशनल नेपालकी क्षेत्रीय प्रबन्धक मिना पराजुली, र बी ग्रुप बाँकेका कार्यकारी निर्देशक डम्मर सुनारले बालविवाहमुक्त अभियानलाई सफल बनाउन भएका प्रयास बारेमा चर्चा गरे । 

वडाध्यक्ष रामफेरन थारुको अध्यक्षतामा सम्पन्न भएको घोषणा कार्यक्रममा महिला तथा जेष्ठ नागरिक शाखाकी निरीक्षक लक्ष्मी पौडेल र प्लान इन्टरनेशनल नेपालकी मिना पराजुलीले बालविवाहमुक्त घोषणाका लागि भएको सामूहिक प्रयासबारे जानकारी गराए ।

वडालाई बालविवाहमुक्त गर्न सहयोग पुर्‍याउने विभिन्न व्यक्तित्वहरुलाई लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले सम्मान गरेका थिए । बारबर्दिया नगरपालिका, प्लान इन्टरनेशनल नेपाल, राधाकृष्ण थारु जनसेवा केन्द्र, बर्दिया, भेरी वातावरणीय विशिष्टता समूह (वि ग्रुप), बाल क्लव संजाल, किशोरी क्लव, युवा क्लव लगायतको सहकार्यमा बालविवाह मुक्त वडा घोषणा गरिएको हो ।

ADV

सम्बन्धित खबर

Advertise