काठमाडौँ : 'नेपाल हेल्थ कन्क्लेभ २०२४' आयोजना हुने भएको छ । नेपालमा स्वास्थ्य क्षेत्रको सुदृढीकरणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही पुस ११ र १२ गते अर्थात डिसेम्बर २७ र २७ गते काठमाडौंमा ‘नेपाल हेल्थ कन्क्लेभ २०२४’ गर्ने भएको हो ।
“Connecting Diaspora for Nepal’s Healthcare Strengthening” भन्ने नाराका साथ आयोजना हुने यो कन्क्लेभ स्वास्थ्य क्षेत्रका पेशाकर्मी र सञ्चारकर्मीहरूको सहकार्यमा सम्पन्न हुनेछ । कार्यक्रममा नेपालका स्वास्थ्य सेवाका चुनौती, अवसर र आगामी सुधारका उपायबारे विस्तृत छलफल हुने बताइएको छ ।
कार्यक्रममा भौतिक रूपमा उपस्थित हुन नसक्नेहरूको लागि भर्चुअल माध्यमबाट सहभागी हुन सकिने व्यवस्था गरिएको छ । साउदी अरेबियामा रहेका नेपालीहरूलाई यस कार्यक्रममा भर्चुअल रूपमा सहभागी हुन QR कोड स्क्यान गरेर रजिष्ट्रेशन गर्न सक्नेछन् ।
साउदीमा रहेका नेपालीहरूले कार्यक्रममा सहभागी भई नेपालको स्वास्थ्य क्षेत्र सुदृढीकरणमा आफ्नो भूमिका निभाउन सक्ने बताइएको छ ।
सम्मेलनमा विश्वभर रहेका नेपाली स्वास्थ्य विशेषज्ञहरूलाई एक ठाउँमा ल्याई स्वास्थ्यसम्बन्धी चुनौतीको समाधान खोज्न र संवाद गर्ने मन्त्रालयले जनाएको छ ।