अर्घाखाँची : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्दियाको बाँसगढीमा थारु सांस्कृतिक केन्द्रको नव निर्मित भवनको उद्घाटन गरेका छन् ।
प्राचीन सृजनशील आदिवासी समाज रेडियो गुर्वावा एफ.एमले निर्माण गरेको सांस्कृतिक भवनको अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर मुख्यमन्त्री आचार्यले उद्घाटन गरेका हुन् । भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सिमान्तकृत तथा पिछडिएको वर्गको हरेक क्षेत्रमा समान पहुँचका लागि प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रमहरुलाई समावेशी बनाएको बताए ।
प्रदेश निजामती सेवामा थारु समुदाय तथा अन्य समुदायलाई केन्द्रित गरेर आरक्षणको व्यवस्था गरेको मुख्यमन्त्री आचार्यले जानकारी दिए । ‘प्रदेश सरकारले बनाएका कानुनहरुले सिमान्कृत तथा पिछडिएको वर्गको समावेशी प्रतिनिधित्व सुनिश्चित गरेको छ’मुख्यमन्त्री आचार्यले भने,‘लुम्बिनी प्रदेशमा १४ प्रतिशतको हाराहारीमा थारु समुदाको जनसंख्या रहेको छ । हामिले थारु समुदायको निजामती सेवामा १३ प्रतिशत आरक्षणको व्यवस्था गरेका छौं ।’ प्रदेश सरकारले समाज रुपान्तरणको अभियानलाई अघि बढाउन नीति तथा कार्यक्रमहरुलाई समेत जोडेर लगेको सभामा जानकारी दिए ।
‘यो समाज रुपान्तरणको अभियानलाई व्यापक बनाउन जरुरी छ । प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रमलाई सोही अनुसार अघि बढाएको छ’उनले भने,‘यसले सामाजिक सद्भावलाई अझैं बढाउने छ । हामीले परिकल्पना गरेको समुन्नत समाज निर्माणको लागि आजको दिन कोशेढुंगा सावित हुनेछ ।’
सिमान्तकृत तथा पिछडिएको वर्गको पक्षमा सरकार रहेको बताउँदै उनले आगामी दिनहरुमा समुदायलक्षित अभियानहरु सञ्चालन गरिने बताए । सम्बोधनको क्रममा मुख्यमन्त्री आचार्यले अव्यवस्थीत बसोवासी तथा भूमिहिन दलित, भूमिहिन सुकुम्वासीको समस्या समाधान गर्न तीन तहकै सरकारले आफ्ना भूमिकालाई प्रभावकारी बनाएर लगेको जानकारी दिए । प्राचीन सृजनशिल आदिवासी समाजका अध्यक्ष सार्जने कामीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।
स्थानीय टीकाराम पौडेलले दान दिएको डेढ कठ्ठा जग्गा र डेनमार्कका फ्लेमिङ टपसोयले ५५ लाख, समाजको २६ लाख, लुम्बिनी प्रदेश सरकारको २० लाख र बासगढि नगरपालिकाको १५ लाख गरी कुल एक करोड १६ लाख रुपियाँको लागतमा भवन निर्माण भएको हो ।