अर्घाखाँची : लुम्बिनी प्रदेश सरकारका खानेपानी तथा शहरी विकास मन्त्री रोज राणाले लुम्बिनी प्रदेशका १२ जिल्लामा खानेपानी र शहरी विकास भवन सडक क्षेत्रमा देखिएका सबै खाले समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
मन्त्री राणाले ‘एक घर एक धारा’को अभियानलाई पूरा गर्दै कार्यान्वयन चरणमा रहेका खानेपानी आयोजनालाई सम्पन्न गर्ने लक्ष्य लिएको जानकारी दिए । प्रदेश सरकारले आफ्नै खानेपानी ल्याब स्थापना गर्दै कपिलवस्तुमा ल्याब खोल्दै रहेको जानकारी दिए ।
‘खानेपानीको गुणस्तर परीक्षण गरेर पानी खुवाउनुपर्छ भनेर ल्याब स्थापना गर्दैछौं’ उनले भने । चालू वर्षमा १६८ खानेपानी आयोजना सम्पन्न गर्ने र जसबाट ७ लाख ४ हजार लाभान्वित हुने लक्ष्य प्रदेश सरकारले राखेको उनले बताए ।
योजनाबद्ध विकास प्रदेश सरकारको पहिलो आधार भएको बताउँदै समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनी बनाउने अभियान पूरा गर्ने दिशामा सरकार रहेको उनले बताए ।
मन्त्री राणाले खानेपानी तथा शहरी विकास मन्त्रालयमा विकास गर्नका लागि बजेट पर्याप्त नभएको बताउँदै थप बजेटको व्यवस्था गरी आगामी वर्षमा खानेपानीको समस्या सबै ठाउँमा आफ्नै कार्यकालमा समाधानका लागि अधिकतम प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
वेलवास खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा बुटवल–१३ का उपभोक्तालाई खानेपानी आपूर्तिका लागि निर्माण हुने ४ लाख ५० हजार लिटर ( ४.५ क्यु मि) को ट्याङ्कीको शिल्यान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले भने,‘खानेपानी मन्त्रालयमा बजेट अभाव छ, त्यसैले काम गर्न केही कठिनाइ छन् तर आवश्यक बजेट व्यवस्थापन गरेर समस्यामा समाधानमा लाग्नेछु । मन्त्रालयलाई सफल बनाउन सबै कर्मचारी जनप्रतिनिधिबीच समन्वय र सहकार्य आवश्यक रहेको छ ।’
यो टंकी १ करोड ८५ लाख २९ हजारको लागतमा निर्माण हुन लागेको छ । ओम/सुशिम कम्पनीले ठेक्का प्रक्रियाबाट निर्माण गर्ने जिम्मा पाएको छ । आयोजनाको कुल लागत १४ करोड ३९ लाख ४२ हजार छ । जसभित्र ६ किलोमिटर पाइप बिच्छाइनेछ । यसले १ हजार ५ सय घरधुरीलाई स्वच्छ खानेपानीको आपूर्ति गर्नेछ । हाल यहाँ रहेको जनसंख्यालाई दैनिक १० लाख ८० हजार २६४ लिटर पानीको आवश्यक पर्ने भन्दै मन्त्री मन्त्री राणाले उपभोक्ता समिति बिलासी हुँदै गएकोले गाडी चढनुपर्ने, काठमाडौं जाँदा जहाज चाहिने, दैनिक भत्ता र तलव चाहिने, सस्थामा पैसा भएर पनि धेरै महसूल उठाएर आवश्यकता पूरा गर्ने काम गर्न नहुने बताए ।
कार्यक्रममा उपभोक्ता समिति का अध्यक्ष पुरूषोत्तम बस्याल, उपाध्यक्ष जिवलाल पन्थी, सचिव जीवनाथ अर्याल, कोषाध्यक्ष शान्ता घिमिरे, सहसचिव भरत गौतम लगायत सम्पूर्ण समितिका पदाधिकारीले भनाइ राखेका थिए ।
नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको स्थापनापछि वेलवास नयाँगाउँमा खानेपानीको सुलभ आपूर्ति भइरहेको छ । तर यसले पनि आगामी दिनमा माग अनुसार आपूर्ति गर्न नसक्ने महसुस भइरहेको अवस्थामा यो ट्याङ्की निर्माणले कम्तिमा २०/२५ वर्षलाई स्वच्छ खानेपानी उपलब्ध हुने विश्वास लिएको खानेपानी मन्त्रालयका महाशाखा प्रमुख गुणानिधि पोख्रेलले बताए ।