शितगंगा : शितगंगा नगरपालिकाको अर्घाखाँचीमा स्थानीय तह कानुन निर्माण प्रक्रिया र कार्यान्वयनको अवस्था विषयमा अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको आयोजनामा शितगंगा नगरपालिकाका नगरसभा सदस्यहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हुम बहादुर केसीले स्थानीय कानून तर्जुमा कार्य सम्बन्धमा सहजीकरण गर्दै स्थानीय तहले विभिन्न किसिमका कानून निर्माण गर्दा विचार गर्नुपर्ने कुराहरु, स्थानीय कानुन तर्जुमा कार्यविधि, सभामा विधेयक पारित हुने प्रक्रिया लगायतका विषयमा जानकारी गराएका थिए ।
त्यस्तै, शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर जिसीले नगरपालिकाको तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै नगरपालिकाबाट बनेका कानुनहरु, कानुन तर्जुमाका आधारहरु, त्यस क्रममा देखिएका समस्याहरु, समाधानका उपायहरु उल्लेख गरेका थिए ।
कानुन तर्जुमा सम्बन्धी पर्याप्त ज्ञानको कमी, दक्ष जनशक्तिको अभाव, तालिम तथा गोष्ठी नहुनु, सहभागितामूलक पद्धती अवलम्बन नहुनु जस्ता समस्या भएको भन्दै सभा सचिवालय, कर्मचारी र स्रोत साधनको प्रयाप्त व्यवस्था, जनप्रतिनिधि र कर्मचारीलाई कानुन तर्जुमा गर्ने विषयमा प्रदेश सरकार र संघीय सरकारले बेलाबखत तालिम, प्रशिक्षण तथा अभिमुखीकरण, सबै स्थानीय तहमा कानुन अधिकृतको व्यवस्था, सहभागितामुलक कानुन तर्जुमा गर्ने पद्धतीको अवलम्वन जस्ता कार्य गरी समाधान गर्न सकिने सुझाव प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै शितगंगा नगरपालिकाका नगर उपप्रमुख गिता भाटले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएकाले जनताको हितलाई ध्यान दिएर कानुन निर्माण गर्नुपर्ने बताइन् ।
स्थायी सरकारका रुपमा रहेका कर्मचारीहरुले नेताको आदेशमा भन्दा कानुनको कुरा ख्याल गर्नुपर्ने उनको सुझाव छ ।
नगरपालिकाले यस्तो कार्यक्रमको आयोजना गर्न कार्यपालिका बैठकमा छलफल गर्ने समेत उनको भनाइ छ । कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, नगरपालिकाका शाखा प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा कानुन न्याय संसदीय मामिला मन्त्रालयका उपसचिव शुभाष कँडेल, शाखा अधिकृत जेभी कँडेलले कानुन निर्माण स्थानीय जनप्रतिनिधिहरुको दायित्व, भावी रणनीतिका बारेमा प्रशिक्षण दिएको शितगंगा नगरपालिकाका योजना अधिकृत नुमलाल खनालले जानकारी दिए ।