नवलपरासी : सुनवल सामुदायिक सिकाइ केन्द्रले फोहोर मैला व्यवस्थापन तथा करेसाबारीसम्बन्धी ३ दिने तालिम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजित बजेटबाट ४ समूहका ५० महिलाहरूको सहभागितामा केन्द्रले उक्त तालिम कार्यक्रम सम्पन्न गरेको हो ।
घरबाट निस्किएको फोहोर मैलाबाट मल उत्पादन, करेसाबारी तयार गर्नुका साथै हरेक प्रकारका साग सब्जीहरूको नर्सरी तयार गर्ने र विषादीको प्रयोग नगरी सागसब्जीहरू कसरी उत्पादन गर्ने भन्नेबारे लुम्बिनी प्रदेश सिटिइभिटीका प्रशिक्षक बिमल ढकालले उनीहरूलाई प्रशिक्षण दिएका थिए ।
सामुदायिक सिकाइ केन्द्र सुनवलका अध्यक्ष सन्जय श्रेष्ठको अध्यक्षता, वडा नम्बर १ का अध्यक्ष मन बहादुर थापाको प्रमुख आतिथ्यता तथा शिक्षा शाखा अधिकृत पशुपनि भट्टराईको विशेष आतिथ्यतामा तालिम सम्पन्न भएको हो ।
तालिममा लोटस महिला समूह, मिलिजुली महिला समूह, कंवर महिला समूह, नमुना कृषि समूह गरी ४ समूहका महिलाहरू सहभागी भएका थिए ।
तालिममा सहभागी समूहमध्ये नमुना कृषि समुहकी अध्यक्ष दुर्गा पान्डेयले तालिमले मात्र पर्याप्त नहुने भन्दै पालिकाले समूहलाई जिविकोपार्जनको लागि कृषि उत्पादन गर्न जग्गा तथा बजारीकरणको पनि व्यवस्था गर्नुपर्ने धारणा राखिन् ।
प्रमुख अतिथि थापाले महिलाहरूलाई आत्मनिर्भर बनाउन यस्तै तालिमहरू हरेक वर्ष आउने बताए । उनले महिलाहरूले उत्पादन गरेको कृषिजन्य उत्पादनहरू संरक्षणको लागि शीतभण्डार रहेको जानकारी गराउदै बजारीकरणको लागि हाटबजारमा सटर कोठाहरू तयार हुँदै गरेको उल्लेख गरे ।