नेपालमा जब मोडलिङ र मोडलको प्रसंग चल्छ, तब प्रतीक्षा काफ्लेको नाम नलिई धरै छैन । कारण– असंख्य मोडलहरूको भीडमा पृथक् पहिचान बनाउन सफल उनी नयाँ पुस्ताकी लोकप्रिय अनि चर्चित मोडल हुन् ।
विगत करिव १ दशकदेखि व्यावसायिक रूपमा नै यस क्षेत्रमा समर्पित प्रतीक्षाले हालसम्म ३ दर्जनभन्दा बढी म्युजिक भिडियोमा आफ्नो कला क्षमता देखाइसकेकी छन्, जुन आफैंमा चमत्कारिक मात्र होइन, ऐतिहासिक र सफल पनि छन् ।
नेपाली कला, मनोरञ्जन अझ विशेषगरी म्युजिक भिडियो विधाको उत्थान, संरक्षण, सवर्द्धन, प्रवर्द्धन तथा विकासमा उनको अमूल्य योगदान छ । प्रस्तुत छ, पछिल्ला दिनमा देशका विभिन्न स्थानमा आयोजित मेला, महोत्सव, ‘मोडलिङ कम्पिटिसन’, ‘फेसन सो’, ‘स्टेज प्रोग्राम’, नयाँ म्युजिक भिडियोको सुटिङ आदिमा व्यस्त प्रतीक्षासँग मध्यान्ह दैनिकका लागि उत्तम कार्कीले गरेको कुराकानी ।
तपाईंको पृष्ठभूमि संक्षिप्तमा बताइदिनुहोस् न ।
मेरो जन्म पाँचथर जिल्लाको हालको फिदिम नगरपालिका– १ मा भएको हो । गाउँको मध्यम वर्गीय हाम्रो परिवारको त्यतिबेलाको आम्दानीको मुख्य स्रोत भनेको व्यापार, व्यवसाय नै हो । त्यस्तै ३–४ वर्षको उमेरमा मलाई घर नजिकैको तत्कालीन श्री विद्यावर्द्धन बोडिङ स्कुलमा भर्ना गरियो । २०६८ सालमा त्यहाँबाटै एसएलसी पास गरें । त्यसपछि उच्च शिक्षा अध्ययनसँगै औपचारिक रूपमै कलाकारितामा जम्ने मीठो सपना सँगालेर काठमाडौं भित्रिएकी हुँ ।
कलाकारिता क्षेत्रप्रति कसरी रस बस्यो ?
यो क्षेत्रप्रति कसरी आकर्षित भएँ भन्ने त मेसो पाउनै सकिनँ । तर, म सानैदेखि चञ्चले र रसिक स्वभावकी थिएँ । पहिलेबाटै गीत, संगीत, नाचगान, अभिनय भनेपछि हुरुक्क हुन्थें । गाउँको पूजाआजा, जात्रा, मेलापात, बिहेबटुलो, चाडपर्व मात्र होइन, विद्यालय, कलेजमा आयोजना गरिने हरेक साँस्कृतिक कार्यक्रममा पनि आकर्षणको केन्द्र बन्थें ।
म त्यहाँ पुगिनँ भने प्रतीक्षा किन आइनन् ? भनेर सोधीखोजी हुन्थ्यो । म नगए त कार्यक्रम नै खल्लो हुन्छ भन्नुहुन्थ्यो सबैजसोले । त्यतिबेला विद्यालयमा हरेक शुक्रबार आयोजना हुने अतिरिक्त क्रियाकलापमध्ये प्रतिस्पर्धात्मक साँस्कृतिक कार्यक्रममा म सदा प्रथम हुन्थें । विद्यालय, अन्तरविद्यालय, क्षेत्रस्तरीय, जिल्लास्तरीय, अंचलस्तरीय आदिमा समेत सर्वोत्कृष्ट कलाकारको हैसियतमा धेरै पुरस्कार हात पारेकी छु । त्यसले ममा हौसला बढायो । कलेज भर्ना भएपछि भने कलाकारिता क्षेत्रभित्रको मोडलिङ विधामा नै समर्पित भएँ ।
मोडलिङको गोरेटो कसरी पहिल्याउनुभयो ?
काठमाडौं आएपछि चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा भर्ना भएँ । यसो सुझबुझ गर्दै जाँदा कलाकारिता क्षेत्रसँग सम्बन्धित साथीभाइ र आफन्त भेटें । उहाँहरूसँगै उठबस, सामीप्यता बाक्लियो । त्यही संगतले मोडलिङ क्षेत्रको केही सैद्धान्तिक त केही व्यावहारिक ज्ञान हासिल गरें अनि मोडलिङमा पाइला अगाडि बढाएँ । त्यो अन्तरालमा कक्षा १२ सम्मको अध्ययन पनि पूरा गरी स्नातकतर्फ लाग्दै थिएँ ।
व्यावसायिक मूलबाटोमा चाहिँ कसरी पुग्नुभयो नि ?
२०७२/०७३ सालमा आइपुग्दा मैले व्यक्तिचित्र, बृत्तचित्र र विज्ञापनमा मोडलिङ गर्ने अवसर पाएँ । त्यसमा राम्रो सफलता हात लागेपछि आफूमा निखार ल्याउन सुरुमा सहायक मोडल हुँदै म्युजिक भिडियोको क्षेत्रमा प्रवेश गरें । त्यही क्रममा उत्कृष्ट म्युजिक भिडियोमा राम्रो मोडलका रूपमा स्थापित भएँ । यससँगै मेरो मोडलिङको व्यावसायिकता फस्टाउन थालेको हो ।
तपाईंले अहिलेसम्म कतिवटा म्युजिक भिडियोमा अभिनय गर्नुभयो ?
अहिलेसम्म ३ दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी छु ।
तीमध्ये व्यावसायिक सफलता हात पारेका, चर्चित गीतको नाम लिनुपर्दा ?
हुनत मैले अभिनय गरेका प्रायः सबै गीत चर्चित, लोकप्रिय र ऐतिहासिक नै छन् । सबैले अत्यधिक व्यावसायिक सफलतासमेत हासिल गरेका छन् । तीमध्ये पनि उच्च व्यावसायिक सफलता पाउने गीत भनेको ‘तिम्रो आकर्षणले...’, ‘मनका कुरा...’, ‘बुङ्गो...’, ‘आँखामा निँद...’, ‘नघोच यो छाती...’, ‘मुर्रा भैंसी...’, ‘दसैं आयो...’, ‘माया ग¥यौ...’, ‘तिमीलाई नै...’, ‘सोह्रै शृंगार लाएँ...’, ‘तिम्रो जस्तो हैसियत...’, ‘हेरें सानुलाई...’, ‘सुन्तलीको पोइ’ (टेलिफिल्म) आदि पर्छन् । ‘खतरा होला नि...’, ‘यो हावा चञ्चल हुन्छ...’लगायत सार्वजनिकको पर्खाइमा छन् ।
मोडलिङ क्षेत्र नै किन रोज्नुभयो ?
कतिपय कुरा जीवनका अभिन्न हुन्छन् । मेरा लागि मोडलिङ त्यस्तै बन्यो । मानिसमा मनोरञ्जनप्रति त रुचि हुन्छ नै, र त यसमा झुकाव बढ्दै जाने हो । म पहिले रहरले, अहिले यो पेसा भनुँ वा यो विधामा व्यावसायिक रूपमा छु । मोडलिङ अब मेरो जिन्दगी बनेको छ । यसैमा सुन्दर भविष्य देखेको छु । मोडलिङबाटै संसार जित्ने सोच छ ।
तपाईंको सफलताको सूत्र के हो ?
मेरो सफलताको मुख्य सूत्र भनेको काममा इमानदारी, एकाग्रता, लगनशीलता र निरन्तरता हो । रुचिको विषयलाई परिपक्वता ल्याउने भनेकै यसैले हो । फेरि, मानिसले आफ्नो सोख र चाहना कहिल्यै मार्नु हुँदैन । आफूले इच्छाएको काम गर्दा सन्तुष्टि मिल्ने मात्र होइन, छिट्टै सफलता प्राप्त हुन्छ । म यसैलाई मूलमन्त्र मानेर अघि बढिरहेकी छु । र त अहिले सारा कलाकार, प्राविधिक, गीतकार, गायक, संगीतकार, निर्माता, निर्देशक, श्रोता, दर्शक आदि सवैको अपार माया पाएकी छु । अत्यन्तै खुसी लाग्छ ।
मोडलिङ गरेर नेपालमा ज्यान पाल्नै मुस्किल छ भनिन्छ नि ?
एक दृष्टिकोणबाट हेर्दा यो भनाइ सही हो र अर्का दृष्टिकोणबाट हेर्दा विल्कुल गलत छ । नामका मात्र मोडललाई न कसैले इज्जत, सम्मान गर्छ, न त उसले पैसा नै कमाउन सक्छ । त्यस्ताले चाहिँ मोडल/मोडलिङको नाम भजाउँदा भोकभोकै मर्ने हुन् ।
तर, वास्तविक, व्यावसायिक र क्षमतावान् मोडललाई बाँच्न, बचाउन र घरबार चलाउन कुनै समस्या छैन । नेपाली कलाकारिता, मोडलिङ क्षेत्र पहिलेको जस्तो होइन, अहिले निकै विकसित भएको छ । दक्ष, मिहिनेती, परिश्रमी र व्यावसायिक मोडलले राम्रो कमाइ गरिरहेका छन् । यसै क्षेत्रबाट कमाइ गरेर आर्थिक रूपमा सम्पन्नशाली भएका छन् ।
तपाईंको अवस्थाचाहिँ कस्तो छ नि ?
मेरो सवालमा हेर्ने हो भने, मोडलिङ पेसाबाटै मनग्य आम्दानी भएको छ । मलाई यसै क्षेत्रले आर्थिक रूपमा सबल मात्र होइन, सम्पन्न नै बनाएको छ । उसो त मासिक कमाइ सार्वजनिक नगरौं, तथापि म नेपालको व्यस्त, महँगो र धेरै आम्दानी गर्ने मोडलमा पर्छु ।
यो क्षेत्रमा लागेर अहिलेसम्म समाज र राष्ट्रप्रति चाहिँ के दिनुभयो ?
आफ्नो पेसामार्फत मैले जुन असल कर्म गरिरहेकी छु, पक्कै पनि यसले केही न केही सकारात्मक अंशहरू दिएको होला भन्ने लाग्छ । केही जिम्मेवारी बहन गर्न सकें हुँला जस्तो लाग्छ । तर, समाज र राष्ट्रले जति दिएको छ, त्यति मात्र दिन पनि मैले अझै धेरै गर्न बाँकी छ ।
अनि, समाज र राष्ट्रलेचाहिँ के दिए त ?
मलाई समाज र राष्ट्रले सबै दिएका छन् । म अहिले जहाँ छु, यो सबै समाज र राष्ट्रले गर्दा भएको हो । यो देश अनि समाजले एउटा मोडलको रूपमा स्वीकारेर सम्मानको दृष्टिकोण राख्नु नै मेरा लागि सौभाग्यको पक्ष हो ।
हाल म ‘नागरिक समाज’को मानार्थ सदस्य, ‘नेपाल म्युजिक भिडियो कलाकार संघ’ र ‘राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठान’को सदस्य, ‘पिम नेपाल’को उपमहासचिव अनि आभूषण इन्टरटेनमेन्टको अध्यक्ष छु । अन्य संस्थामा पनि जोडिन अनुरोध आइरहेको छ ।
यस्तै, मलाई विभिन्न दर्जनौं सरकारी तथा गैरसरकारी संस्थाले अभिनन्दन, पुरस्कार र अवार्डसहित सम्मान गरेका छन् । जस्तो कि ‘म्युजिक एन्ड फेसन अवार्ड, २०२२’, ‘स्पर्स म्युजिक अवार्ड, २०८०’, ‘सगरमाथा म्युजिक अवार्ड, २०८१’, ‘राष्ट्रिय वर्ष व्यक्ति सम्मान, २०७८’, ‘सगरमाथा कला सम्मान, २०८०’, ‘जिनियस कला सम्मान, २०८१’ लगायत पाएकी छु ।
अनि, ‘दोस्रो काव्य म्युजिक अवार्ड, २०८०’ र ‘१२औं नेपाल–अफ्रिका फिल्म फेस्टिभल, २०२४’ मा जुरी (निर्णायक)को भूमिका निर्वाह गरेकी छु । यो नै सबैभन्दा ठूलो सम्पत्ति हो जस्तो लाग्छ ।