२०८१ पुष ७ गते आइतवार / Dec 22 , 2024 , Sunday
२०८१ पुष ७ गते आइतवार

गाउँमा चहलपहल, सुनसान सदरमुकाम

ADV
सुर्य प्रसाद भुसाल
२०८१ पुष १ गते २०:१६
गाउँमा चहलपहल, सुनसान सदरमुकाम

अर्घाखाँची : स्थानीय तह कार्यान्वयन भएको ७ वर्ष पूरा भएको छ भने पुरानो सदरमुकाममा भन्दा पालिका नजिक चहलपहल बढेको देखिन्छ । हिजो सुनसान रहेका गाउँपालिका आसपास गाउँ टोलहरु  अहिले चहलपहल बढेको देखिन्छ । लगानी र आम्दानीको आकर्षण बनेका जिल्ला सदरमुकाम भने स्थानीय तहले गर्दा पहिला भन्दा सुनसान भएका थिए तर अहिले चहलपहल बढ्दै छ ।

सदरमुकाममा हुने चहलपहल अहिले स्थानीय तहका सदरमुकाम सरेको छ । जिल्ला सदरमुकाम  पहिला भन्दा सुनसान हुन थालेसँगै आर्थिक तथा व्यापारिक गतिविधिहरु समेत पहिला भन्दा अहिले घटेका छन् । स्थानीय तहका केन्द्रमा सदरमुकामको झल्को दिने चहलपहल बढ्दै गएको छ । सन्धिखर्क अर्घाखाँचीको सदरमुकाम हो, जहाँ नेतादेखि कार्यकर्ता र हाकिमदेखि कर्मचारीको जमघट हुने गर्छन् । कुनै जिल्ला स्तरीय ठूलो सभा आन्दोलन र कोण सभा गर्न परे अनिवार्य झर्नुपर्ने हुन्छ । राजनीतिक दलका सबै जिल्ला स्तरीय गतिविधि सन्धिखर्कमा हुने गरेको छ । 

जिल्ला सदरमुकाममा सबै सरकारी अड्डा त छन् तर चहलपहल कम छ । अहिले सदरमुकाम विगतमा जस्तो चहलपहल देखिँदैन, यसको कारण हो स्थानीय सरकार गाउँ–गाउँमा हुनु ।  

सन्धिखर्कमा  नागरिता र राहदानी मालपोत तिरो नापी कार्यालयहरुमा काम गराउन भने जिल्लाभरका मानिस आउनुपर्ने बाध्यता छ । स्थानीय तह कार्यान्वयनसँगै अहिले जिल्ला सदरमुकामहरु पहिला भन्दा सुनसान बन्दै गएको स्थानीय व्यापारी बताउँछन् । दैनिक सेवाग्राहीको चाप हुने जिविस अहिले  समन्वय समितिका रूपमा परिणत भएपछि त्यहाँ समन्वय समितिका पदाधिकारी बाहेक कुनै सेवाग्राही आउँदैनन् । सन्धिखर्कमा ‘भवन मात्रै ठूला छन् । बजेट र योजना कम भएको कारणले पहिला भन्दा सुनसान भएको स्थानीयको बुझाइ छ । पहिले जस्तो भनसुन गरेर पनि सन्धिखर्कका सरकारी कार्यालयमा आउन चाहने कर्मचारीको दौडधुप पनि अहिले कम देखिन्छ । कर्मचारी पनि बढी पालिकामा जान चाहन्छन् । 

सन्धिखर्कका व्यापारी तिर्थराज घिमिरेले भने,‘पहिला सरकारी कार्यालयमा सबै काम हुने थियोे । योजनाका कार्यक्रम हुन्थ्यो । अहिले सबै नगरपालिका गाउँपालिकामा पुगेपछि सेवाग्राही पनि सन्धिखर्कमा कम मात्रै आउने गरेका छन् ।’ फोटोकपी, स्टेसनरीको व्यापार घटेको उनको दाबी छ । अहिले जिल्लाका सबै कामहरु गाउँमा पालिका वडा कार्यालय वा पालिका मातहतका कार्यालय शाखा कार्यालयहरुबाट हुने गर्छ ।  धेरै शैक्षिक सेवाग्राही आउने शिक्षा विकास समन्वय इकाई  कार्यालय अहिले निकै सुनसान हुनेगर्छ । धेरै शिक्षक, कर्मचारीहरुको काम स्थानीय तहमा पालिकाबाट हुने भएपछि अति आवश्यक पर्ने शिक्षक कर्मचारी बाहेक अरु सो कार्यलयमा सेवा लिन आउन पर्दैन ।

जिल्ला सदरमुकामको व्यापार पनि फस्टाउन सकेको छैन । जिल्लाको ठूलो व्यापारको हिस्सा गाउँका व्यापारिले लिन थालेका छन् । सरकारी सेवा र सुविधा पनि पहिले भन्दा सहज बन्दै गएपछि मानिसहरु सन्धिखर्क कम मात्रामा आउने गरेका छन् । जिल्ला समन्वय समिति अगाडि रोशन होटल  संचालन गर्दै आएका रोशन पाण्डेले भने,‘पहिला–पहिला  नास्ता बेचेर थाकिन्थ्यो । अहिले व्यापार कम भएकोले समस्या उत्पन्न भएको हो ।’ स्थानीय तह कार्यान्वयन भएपछि  आफु मात्रै नभएर सदरमुकामका थुप्रै व्यापारीको व्यापार घटेर गएको सन्धिखर्कका फोटो व्यापारी नारायण भट्टराई गुनासो गरे । अहिले गाउँबाट धेरै सिफारिस लिन सन्धिखर्क सदरमुकाम आउनु पर्दैन् । यातयातको सुविधा र गाउँमा बजार विस्तार हुँदै गएपछि धेरै सामान किनमेल गर्न सदरमुकाम नै आउनुपर्दैन । जसका कारण अन्य व्यापारीसँगै धेरै लगानी गरेर बनाएका होटेल व्यावसायीहरु पनि चिन्तामा छन् । ‘पहिले पहिले गाविसको सिफारिसका लागि पनि मानिस सचिव खोज्दै होटलमा आए देउराली होटलका संचालक मेग बहादुर खड्काले भने, ‘अहिले सबै गाउँकेन्द्रित हुनाले व्यापारमा ह्रास आएको आफुले महसुस गरेको छु ।’ आजभन्दा ८ वर्ष  अगाडि दैनिक २०÷३० हजारको व्यापार हुने गरेकोमा अहिले अन्यन्तै न्यून रहेको खड्काको भनाइ छ ।

ADVADV

सम्बन्धित खबर

Advertise