काठमाडौं : वामदेव गौतम र ‘चर्चा’ पर्याय थिए कुनैबेला । राजनीतिक दलहरू भूमिगत भएका समयमा अर्थात् निर्दलीय पंचायती व्यवस्थामा पनि उनी राजनीतिक वृत्तमा कताकता चर्चामै रहन्थे । बहुदलीय व्यवस्था पुनस्र्थापनापछिका अधिकांश समय त उनी नेपाली राजनीतिको केन्द्रमै चर्चाका पात्र बनिरहे ।
नेपालको कम्युनिस्ट आन्दोलनमा लामो समय बिताएका वामदेवबारे उनलाई नजिकबाट चिन्ने, जान्नेहरूले रमाइला टिप्पणी बनाइरहन्छन् । जंगी, हक्की र प्रस्ट स्वभावका वामदेवले बोलेका विषय र सन्दर्भ अनि शब्दलाई लिएर नेपाली राजनीतिक वृत्तमा एक प्रकारको रमाइलो माहोल नै बन्ने गर्छ ।
वामदेव भन्नु र ‘चलायमान’ अर्थात् ‘डाइनामिक’ भन्नु पनि उस्तैउस्तै बनेको हो कुनै समय । यति विधि चलायमान थिए वामदेव कि नेपाली राजनीतिमा उनको ‘हलचल’ले स–सानो भूकम्प सिर्जना गरिदिन्थ्यो ।
विशेषगरी २०४७ सालपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) निर्माण भएपछि एमालेभित्रको शक्ति संघर्षमा प्रायः अघि सर्ने व्यक्ति हुन् वामदेव । मदन भण्डारीदेखि माधव नेपाल हुँदै केपी ओलीसम्म एमाले नेतृत्व आइपुग्दा एमालेभित्रको गुट समीकरणमा गतिलो प्रभाव छाड्ने वामदेव कहिल्यै पार्टी सत्तामा पुग्न भने सकेनन् ।
मदन भण्डारीले उहिल्यै भनेका थिए रे, ‘वामदेवलाई पार्टीको पहिलो जिम्मेवारी पनि नदिनू, साह्रै तल पनि नराख्नू ।’ वामदेवको अस्थिर, लहडी र मूढे स्वभावप्रति मदन ऊबेलै परिचित थिए भन्ने यस भनाइले देखाउँछ । यसको पुष्टि पनि भयो २०५४ सालमा आएर । वामदेवकै पहलमा एमाले विभाजित भयो र माले बन्यो ।
२०५६ सालको आमनिर्वाचनमा करिब ७ लाख मत प्राप्त गर्दागर्दै लज्जास्पद शून्य सिट पाएपछि ‘पुनः मुसिको भवः’ शैलीमा वामदेवहरू मूल पार्टी अर्थात् एमालेमै फर्किन बाध्य भए । तर, उनीलगायत एमालेमा फर्किंदा सीपी मैनालीलगायत नेताहरूलाई भने एमालेमा फर्काउन सकेनन् ।
आखिर त्यसबेला पार्टी फुट्नुको कुनै गम्भीर राजनीतिक कारण थिएन, न त वैचारिक÷दार्शनिक कारणले नै फुटेको थियो एमाले । वास्तवमा ‘महाकाली सन्धि’लाई बहाना बनाएर पार्टीभित्र नेतृत्वको ‘जुँगा तानातान’को परिणाम थियो एमाले विभाजन र त्यसको अगुवाइ गरेका थिए वामदेवले । सँगै थिए सहाना प्रधान, आरके मैनाली, सीपी मैनालीहरू ।
उसो त, तत्कालीन प्रभावशाली युवा नेताहरू योगेश भट्टराई, घनश्याम भुसालहरू पनि वामदेव, सीपीहरूसँगै ‘सती’ गएकै हुन् । एमालेका दर्जनौं ‘अपराध’ लिखित रूपमै सार्वजनिक गर्ने भट्टराईहरू भलै माधव नेपाल, झलनाथ खनालहरूलाई केपी ओलीबाट अलग्याएर आफू ओलीकै छत्रछायामा रमाइरहेका छन् । भुसाल भने अन्ततः नेपाल र खनालसँगै छन् महत्त्वपूर्ण जिम्मेवारी महासचिवमा– नेकपा (एकीकृत समाजवादी)को ।
उनीहरूलाई ‘इमान’, ‘आदर्श’ र ‘नैतिकता’ जोगाउने ठूलो पीर देखिन्छ । यही भएर त उनीहरू आफ्ना लाज लुकाउँदै आँखा छोपेर ‘केपी ओली जिन्दावाद’ भनिरहेकै छन् ।
तर, पार्टी एकता जोगाउने अन्तिम प्रयास पनि बाँकी नै राखेका वामदेवले भने एमाले विभाजित नहुन्जेल एमाले परित्याग गरेनन् । विभाजित भएको पनि केही समय पर्खिएर बसे– कतै पुनर्मिलन हुन सक्छ कि भनेर ।
तर, त्यो संभावना नदेखेपछि वामदेवले अन्तत एमालेका सबै जिम्मेवारीबाट राजीनामा दिएको घोषणा मात्र गरेनन्, लिखित रूपमा एमाले कार्यालय सचिव समक्ष सहयोगीमार्फत राजीनामा बुझाए ।
उनले यसो गरेर सही वा गलत के गरे, त्यो इतिहासले बताउला तर जब आफ्ना आदर्श, सिद्दान्त र मूल्य, मान्यतामा कुनै पनि संस्था रहन सक्दैन भने इमान्दार व्यक्ति त्यस संस्थामा बसिरहन पनि हुँदैन । भलै, वामदेव स्वयं कतिको इमान्दार थिए÷छन् भन्ने आमबुझाइ आफ्नै किसिमको होला ।
वामदेवले राजीनामापत्रमा एमालेभित्र अध्यक्ष ओलीको अहं, कुण्ठा, आग्रहले प्रश्रय पाएको तर विधि, विधान र इमान्दारी नभएकाले पार्टी परित्याग गरेको बताएका थिए ।
सरसर्ती हेर्दा भने वामदेवका ओलीप्रतिका आरोप गलत हुन् भन्ने लाग्दैन । विगतमा अर्थात् २०५४ सालमा एमाले विभाजनमा पनि ओलीले तत्कालीन महासचिव माधवकुमार नेपालका पक्षमा रहेर सीपी, वामदेवहरूलाई एमालेबाट पाखा लगाएकै हुन् ।
त्यसबेला माधव नेपाललाई बुरुकबुरुक उचालेर आफ्ना विरोधी (प्रतिस्पर्धी ?)हरूलाई पाखा नलगाएका भए ओली सायदै आज एमालेका अध्यक्ष बन्ने थिए । र, सायदै ४ पटक प्रधानमन्त्रीको कुर्सीमा बस्थे ।
आज आएर उनै माधव नेपाललाई एमालेबाट पाखा लगाएर आफ्ना आसेपासे, भक्तजनहरूलाई काखी च्यापेर पार्टीमा मस्ती गर्न सफल बनेका छन् ओली ।
हिजो ओलीका विरुद्ध निकै उग्र बनेका भीम रावल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे आदि प्रवृत्तिलाई ओलीले कुन मन्त्र पिलाए र आफ्नै काखीमा राख्न सफल भए ? भन्ने आमचासो छँदै छ । तर, राजनीतिक बजारमा विश्लेषण भइरहेको थियो कि ती ‘१० थान’हरूको ओलीसँग अघोषित सम्झौता थियो– माधव नेपाल र झलनाथ खनालहरूलाई एमालेबाट पाखा लगाउने । सोही जिम्मेवारी पूरा गर्न रावल, पाण्डे, भुसाल, भट्टराईहरू उफ्रिएका थिए ओलीविरुद्ध ।
अन्ततः उनीहरू सफल भए अर्थात् ओलीलाई उनीहरूले सफल बनाए अभीष्टमा । तर, के एमालेचाहिँ सफल बन्यो त ? प्रश्न यो हुनुपथ्र्यो पार्टीमा । यो प्रश्नको जबाफ भने अत्यन्त निराशाजनक आउँछ । अवश्य पनि एमाले पूर्ण रूपमा असफल भयो विभाजित बनेर । त्यसो त, विभाजित बन्नुअघि नै प्रस्ट बहुमतको आफ्नै सरकार ढालेर एमाले असफल भइसकेकै थियो ।
कुरा वामदेव गौतमकै गरौं ।
नेकपा हुँदै प्रचण्ड, माधव र ओलीबीचको फाटो मिलाउने प्रयास भइरहेकै थिए । त्यसमा पनि अघोषित रूपमा वामदेवलाई नै मोहरा बनाइयो ।
त्यसबेला नेकपामा भइरहेको ‘खिचातानी’का बीचमै जन्मिएको थियो, भैंसेपाटी गठबन्धन । केपी ओलीलाई अप्ठ्यारोमा पार्न र शक्ति आफूमा केन्द्रित गर्न प्रचण्डलगायत असन्तुष्ट पक्षहरू माधव नेपाल, वामदेव गौतम, झलनाथ खनाल आदि सम्मिलित उक्त गठबन्धन ओलीका लागि निकै सकसपूर्ण हुने ठानिएको थियो ।
त्यसबेला यसको ठूलै असर नदेखिए पनि अहिलेसम्म आइपुग्दा त्यसको प्रभावकारी असर देखिएको छ । नेकपा विभाजन भई एमाले र माओवादी केन्द्र ब्युँतिँदा होस् वा एमाले विभाजनको आधार ‘भैंसेपाटी गठबन्धन’ले आधार प्रदान गरेको प्रस्टै छ ।
उक्त भेलामा सभामुख माओवादी पक्षलाई दिलाउने, वामदेवलाई राष्ट्रियसभामा ल्याएर संविधान संशोधनमार्फत राष्ट्रियसभा सदस्य हुँदै प्रधानमन्त्री बन्ने बाटो खुला गर्ने र वामदेवलाई प्रधानमन्त्री बनाउनेलगायतका निर्णय भएका बाहिर आएका थिए ।
आखिर सोहीअनुसार माओवादीबाट अग्निप्रसाद सापकोटा सभामुख बनाइए भने वामदेवलाई राष्ट्रियसभामा पनि लगियो । तर, प्रधानमन्त्री वामदेवलाई बनाउने कुनै बाटो थिएन किनभने केपी ओली ‘बरु भाँचिने, ननिहुरिने’ अडानमा थिए र गरे पनि त्यस्तै, भयो पनि त्यस्तै ।
वामदेवलाई राष्ट्रियसभामा लैजाने प्रस्तावमा पनि केपी ओली सकारात्मक थिएनन् । उनले ‘पार्टी सचिवालयको निर्णय मान्दिनँ’ भनेका थिए । यसरी सचिवालयकै निर्णय मान्दिनँ भन्ने अहं र दम्भ भएका कम्युनिस्ट पार्टीका नेतृत्व सायद केपी ओली नै थिए ।
यसकै दुष्परिणाम ओलीले आजसम्म भोगिरहेका छन् । एकपछि अर्को भड्खालोबाट बचेर हिँड्न ओलीलाई अहिले निकै गाह्रो छ । यसबीचमा वामदेव धेरै पटक ‘मोहरा’ बनाइए । कहिले प्रचण्डले त कहिले माधवले वामदेवलाई अघि सारिरहे । उनका नाममा राजनीतिक अभीष्ट पूरा गर्ने खेल खेलिरहे ।
पछिल्लो समय जब माधव नेपाल ओलीबाट क्रमशः लखेटिँदै जान थाले, माधवले पुनः वामदेवलाई नै रोजे मोहराका लागि । वामदेवको अनौठो विशेषता के छ भने, उनी सानै कुरामा छिट्टै ‘प्रफुल्ल’ बनिदिन्छन् र ‘प्रयोग’ भइरहन्छन् । तत्कालीन एमाले, नेकपा वा पछिल्लो एमालेकै लफडाका सन्दर्भमा पनि वामदेव पटकपटक प्रयोग भइरहे ।
एमाले विभाजन गरेर बनाएको माले संचालन गर्न अक्षम भई एमालेमा पुनः भारी बिसाएका दिनदेखि एमालेमा कसलाई नेता बनाउने भन्ने प्रमुख खेलाडी र अखटो पनि वामदेव बने । बुटवलमा सम्पन्न आठौं अधिवेशनमा झलनाथ खनाललाई पार्टी अध्यक्ष बनाउने जस वामदेवलाई नै जान्छ ।
नवौं अधिवेशनमा केपी ओलीलाई वामदेवको साथ नरहेको थियो भने बुटवलको नियति ओलीले भोग्ने निश्चित थियो र माधव नेपाल अध्यक्ष हुने पक्कापक्पकी थियो ।
तत्कालीन नेकपाभित्रको गठजोड र आन्तरिक ‘खुराफात’ केलाउँदा प्रचण्ड, नेपाल र खनालले ‘वामदेव कार्ड’को राम्रै सदुपयोग गरेका देखिन्छ । प्रधानमन्त्रीको कुर्सी देखाएर वामदेवलाई अघि बढाएर ओलीको ‘सेखी झार्ने’ अभीष्ट पूरा गर्ने दाउमा प्रचण्ड–नेपाल–खनाल देखिएका थिए । तर, अन्ततः माधव एक्लैले ओलीलाई प्रधानमन्त्रीको कुर्सीबाट भ्वाक्कै झारिदिए ।
वामदेव ‘जबर्जस्त’ राष्ट्रियसभामा तानिएका भए पनि उनको प्रधानमन्त्रीको अभीष्ट त के पूरा हुनु, मन्त्रीको अवसर समेत प्राप्त गरेनन् ।
अहिले वामदेवले एमाले परित्यागको घोषणाको अवस्थामा छन् । उनी माधव नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा जाने चर्चा भइरहेको छ । उता, नेकपा (एस)ले भर्खरै स्थायी कमिटी गठन गरिसकेको छ । विभिन्न विभागहरू पनि टुंग्याएको छ । वामदेवको स्थान नेकपा (एस)मा के हुने भन्ने पनि टुंगो लागेको छैन ।
‘पार्टी एकता राष्ट्रिय अभियान’ भनेर नेपालका कम्युनिस्ट पार्टीहरूलाई एक बनाउने अभियानका संयोजक बनेका गौतमले यसबीचमा कुनै उत्पादक उपलब्धि हात पार्न सकेनन् ।
राजनीतिक चर्चाबाट अलग हुन नसक्ने गौतमलाई पुनः ‘फोरम’ चाहिएको आभास हुन्छ उनको सक्रियता देख्दा । उनी अहिले नेकपा एससँग नजिकिने प्रयासमा छन् र उपयुक्त भूमिकाका लागि अध्यक्ष माधवकुमार नेपालसँग भेटघाटमा छन् । वामदेव गौतमको दशकौं लामो राजनीतिक जीवनले पार्टीमा पहिलो स्थान कहिल्यै नपाई विश्राम लिने त होइन ?
राजनीतिक यात्रा
-पाल्पाबाट भूमिगत राजनीतिक यात्रा सुरु
-पञ्चालतकालमै रुपन्देही, नवलपरासी र कपिलवस्तुको इञ्चार्ज
-२०३० सालपछि को–अर्डिनेसन केन्द्रमा
-यसबीच २ वर्ष जेल
-२०३५ सालमा माले गठन, गण्डकी–धौलागिरि इञ्चार्ज
-२०४६ भदौको चौथो महाधिवेशनबाट केन्द्रीय सदस्य
-२०४७ सालयता खुला राजनीतिमा
-२०४७ सालपछि नेकपा एमाले गठन भएसँगै एमाले नेता
-२०५४ सालमा एमाले विभाजन गरी मालेमा
-बीचमा पुनः एमालेमै फर्किएका
-नेकपा विभाजनपछि ‘स्वतन्त्र’
-हाल ‘पार्टी एकता राष्ट्रिय अभियान’का संयोजक
संसद् र सरकार यात्रा
-०४८ साल : बर्दिया क्षेत्र नं.– १ बाट प्रतिनिधिसभामा विजयी
-२०५१ साल : बर्दिया क्षेत्र नं.– १ बाट विजयी
-२०५६ साल : बर्दिया क्षेत्र नं.– १ मा पराजित
-२०६४ साल : बर्दिया क्षेत्र नं.– १ मा पराजित
-२०७० साल : प्युठान क्षेत्र नं.– १ बाट विजयी
-२०७४ साल : बर्दिया क्षेत्र नं.– १ मा पराजित
-२०७७ साल : राष्ट्रियसभा सदस्य
सरकारमा
-२०५३ सालमा उपप्रधान एवं गृहमन्त्री (८ महिना)
-२०६५ सालमा उपप्रधान एवं गृहमन्त्री (९ महिना)
-२०७० सालमा उपप्रधान एवं गृहमन्त्री (२० महिना)