२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

गेरुवामा किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार परियोजना सञ्चालन हुँदै

ADV
सन्तोष पौडेल
२०८१ जेठ १९ गते १७:१८
गेरुवामा किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार परियोजना सञ्चालन हुँदै

बर्दिया : बर्दियाको गेरुवा गाउँपालिकामा किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार परियोजना सञ्चालन हुने भएको छ । राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा कोईकाको आर्थिक सहयोगमा परियोजना सञ्चालन हुने भएको हो । 

किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्यमा सुधार ल्याउन र अधिकारमा पहुँच बढाउन अझै आवश्यक भएकाले परियोजनाको दोस्रो चरण गेरुवा गाउँपालिकामा कार्यान्वयन गर्न लागिएको परियोजना संयोजक सुरज अर्यालले बताए । आधारभूत विद्यालय, समुदाय र स्वास्थ्य संस्थालाई कार्यक्षेत्र बनाएको परियोजनाले किशोरकिशोरी र युवाहरूको यौन प्रजनन स्वास्थ्य अधिकार सुधार गर्न समुदायका सदस्यहरूलाई संलग्न गराउँदै यौन प्रजनन स्वास्थ्य अधिकारबारे समुदायमा चेतना बढाउने परियोजना संयोजक अर्यालले जानकारी गराए ।

उनका अनुसार कक्षा ६ देखि १२ सम्मका किशोरकिशोरी, अभिभावक ,परिवार तथा समुदाय, शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति, सामुदायिक महिला, स्वास्थ्य स्वयंसेविका, समुदायका अगुवा तथा धार्मिक गुरु तथा स्थानीय सरकार परियोजनाको लक्षित समूह हो ।

‘परियोजनाले नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बाल बालविवाह र किशोरावस्थामा हुने गर्भपतन न्यूनीकरणमा योगदान पुर्‍याउने, दिगो प्रभावका लागि प्रथम चरणको परियोजनाबाट प्राप्त उपलब्धिहरू र सिकाइहरुलाई अवलम्बन गर्ने, किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको उदीयमान माग पूरा गर्ने तथा किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारप्रतिको धारणा र व्यवहारमा परिवर्तन ल्याउने गरी परियोजनाले काम गर्नेछ,’ परियोजना संयोजक अर्यालले भने ।

परियोजना अन्तर्गत हुने विभिन्न किसिमकम भेला, बैठक, अभिमुखीकरण, क्षमता विकास तालिम, संवाद, विद्यालयमा महिनावारी व्यवस्थापनका लागि आराम कक्षको स्थापना तथा किशोरकिशोरीमैत्री सूचना कक्षको स्थापना, स्वास्थ्य सेवालाई किशोरकिशोरीमैत्री बनाउन सहयोग, सामुदायिक सहजकर्ताको विकास तथा परिचालनलगायतका क्रियाकलापमा यस वर्ष करिब ७२ लाख ९५ हजार रुपैयाँ गेरुवा गाउँपालिकामा खर्च गरिने जानकारी गराइएको छ ।

परियोजना सञ्चालनपश्चात यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धमा किशोरकिशोरी, उनीहरुको परिवार र समुदायको ज्ञान, धारणा र व्यवहारमा सुधार आउने अपेक्षा गरिएको छ । जसबाट यौन तथा प्रजनन स्वास्थ्य र अधिकार प्रवर्द्धन हुनुका साथै किशोरकिशोरीहरुले स्वस्थ जीवन शैली अपनाउने विश्वास लिइएको छ ।

गेरुवा गाउँपालिकासहित मधुवन, गुलरिया, ठाकुरबाबा र बारबर्दिया नगरपालिकामा समेत सञ्चालन हुने परियोजना २०२६ डिसेम्बर २६ सम्म सञ्चालनमा रहने छ ।

ADVADV

सम्बन्धित खबर

Advertise