कपिलवस्तु : कपिलवस्तु शिवराज –५ स्थित चन्द्रौटामा ९औँ चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । व्यापार संघको आयोजनामा माघ ९ गतेदेखि २० गतेसम्म महोत्सव हुने भएको हो ।
‘कृषि, उद्योग, पर्यटन र व्यापारः स्थानीय उत्पादनको प्रयोग, रोजगारको मुख्य आधार’ भन्ने नाराका साथ महोत्सव आयोजना हुन लागेको छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिइने महोत्सवको मूल आयोजक समितिका संयोजक महादेव पोखरेलले बताए । यस पटकको महोत्सव जिल्लाभरीका स्थानीय तहसँग सहकार्य गर्दै पर्यटन तथा औद्योगिक क्षेत्रमा प्रचारप्रसार गरिने आयोजकले जनाएको छ ।
संघका वरिष्ठ उपाध्यक्ष जगत प्रसाद पौडेलले महोत्सवले स्थानीय उत्पादनलाई राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न, उद्योग, व्यापार, र पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । महोत्सवले रोजगारका अवसरहरू सिर्जना गर्दै, यहाँका समुदायलाई आर्थिक रूपमा सबल बनाउन मदत पुर्याउने बताए ।
महोत्सवले कृषि, उद्योग, र पर्यटन क्षेत्रलाई प्रोत्साहन गर्दै स्थानीय उत्पादन तथा रोजगारीलाई अगाडि बढाउने अपेक्षा गरिएको छ । उक्त कार्यक्रमका अवसरमा नवनिर्वाचित पत्रकार महासंघ कपिलवस्तुका सचिव सनिउल्ला धोबी र सदस्य माधव बेल्वासेलाई सम्मान गरिएको थियो ।