काठमाडौं : नेपाली कांग्रेसबारे आमरूपमा हुने साझा टिप्पणी हो– गुटैगुटको पार्टी । महाधिवेशनको समयमा यस्तो टिप्पणी अझ ज्यादा हुने गर्छ । कांग्रेसकै नेताहरूका अनुसार गुट बन्ने र भत्किने प्रक्रिया भने एउटा महाधिवेशनबाट अर्को महाधिवेशनसम्मै चलिरहेको हुन्छ ।
१४औं महाधिवेशनमा शेरबहादुर देउवासँग सभापतिमा पराजित डा. शेखर कोइराला त्यसबेलैदेखि १५औं महाधिवेशनको तयारीमा छन् । स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्यको निर्वाचनमा आफू पक्षीय नेतालाई टिकट दिलाउनेदेखि सरकार बनाउन र भत्काउन गुटकै तर्फबाट भूमिका खेल्दै आएका डा. कोइराला पछिल्लो समय भने १५औं महाधिवेशनको तयारीमा केन्द्रित भएका छन् ।
फेरि सभापतिमा उठ्नेमा प्रस्ट रहेका डा. कोइराला आफूलाई खास कांग्रेसको नेतृत्वकर्ताको रूपमा प्रस्तुत गरिरहेका छन् र सभापति देउवाले गुटको मलजल गरेको बताइरहेका छन् ।
संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१औं जन्मजयन्तीको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले सभापति देउवाले नै गुटलाई फस्टाउन मलजल गरेको आरोप लगाए ।
‘अहिले पार्टीमा विचलन छ, हामीले स्वीकार्नुपर्छ । शेखर पनि भागबन्डामा लागेको कुरा यहाँ आयो, ६०/४० को भागबन्डा । भागबन्डा भनेर चुप लागेर बस्ने त होइन नि !’, उनले भने ।
‘सभापतिले केही पनि सुन्दै नसुन्ने हो भने अप्ठ्यारोमा पर्छ । राजनीति गर्नेहरूलाई अप्ठ्यारो पर्छ, यो हामीले बुझ्न जरुरी छ’, कोइरालाले भने, ‘सभापति किसुनजीको पनि अनुयायी हो । गुटलाई फस्टाइदिने काम उहाँले नै गर्दा अप्ठ्यारो परिस्थिति सिर्जना हुँदै रहेछ ।’
नेपालको राजनीतिमा अग्रणी राजनीतिक दल हो नेपाली कांग्रेस । तत्कालीन जहानियाँ राणा शासनको जरो किलो उखेल्न भनेर भूमिगत रूपमा स्थापित पार्टी नेपाली कांग्रेसले राणा, पञ्चायतका निरंकुशता खेपेको मात्र छैन, २००७, २०४६ र २०६३ सालपछिका खुला प्रजातान्त्रिक परिवेशमा शासनसमेत गरेको छ ।
२००७ सालको क्रान्तिपछि र २०१५ सालको आमनिर्वाचनयता पटकपटक सत्ता सम्हालेको अनुभव पनि छ कांग्रेससँग ।
बी. पी. कोइराला, मातृकाप्रसाद कोइराला, सुवर्णशम्शेर, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहहरूले जन्माएर हुर्काएको कांग्रेसले नेपाली राजनीतिक आन्दोलनका अनेक चरणहरूमा आफूलाई अग्रमोर्चामा राखेर आन्दोलन सम्पन्न गरेको पनि छ ।
२०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट दुई तिहाइ बहुमत पाएको कांग्रेस राजा महेन्द्रको राजनीतिक चातुर्य र तुल्सी गिरीको खुराफाती खेलका सामु पराजित बन्यो । १ पुस २०१७ मा राजा महेन्द्रले दुई तिहाइ बहुमतप्राप्त सरकारका प्रधानमन्त्री बी. पी. कोइरालालगायत नेतालाई थुनामा हालेर प्रत्यक्ष शासन सुरु गरेपछि कांग्रेस प्रतिबन्धित भयो । निर्दलीय पञ्चायत सुरु भयो ।
३० वर्षसम्म निर्दलीय र निरंकुश पञ्चायती व्यवस्था कायम रहँदा पनि कांग्रेसले पटकपटक अनेक विरोध र आन्दोलन जारी राख्यो ।
२०४६ सालमा आएर संयुक्त वाम मोर्चा बनाएर वामपन्थीहरू तथा कांग्रेस मिलेर पञ्चायतविरुद्ध आन्दोलन गरेपछि निर्दलीय पञ्चायतले घुँडा टेक्यो । पुनः प्रजातन्त्र प्राप्त भयो ।
यसपछि पनि कहिले एकमना त कहिले संयुक्त सरकारको नेतृत्व पटकपटक गरेको कांग्रेस अहिले पनि सत्ताको केन्द्र भागतिरै छ । नेकपा एमालेसँगको संयुक्त सरकारमा रहेको कांग्रेस सत्तारूढ पार्टी हो अहिले ।
जस्तो इतिहास उस्तै वर्तमान
कांग्रेसको स्थापनादेखि नै यसभित्र व्यक्ति गुट चलायमान रहेका पाइन्छ । खासमा यसको स्थापनाकै क्रममा एकातिर सुवर्णशम्शेरको कांग्रेस र अर्कातर्फ बी. पी.को कांग्रेस देखिन्छन् । यी दुवैको संयोजनमा नेपाली कांग्रेस स्थापना भएको पाइन्छ ।
स्थापनाकालको गुटबन्दीको रोग हालसम्म पनि कांग्रेसमा जीवित छ ।
कांग्रेसको इतिहास हेर्ने हो भने स्थापनाकालदेखि नै कांग्रेसमा जुटभन्दा गुटको राजनीतिले प्रश्रय पाउँदै आएको छ । स्थापनाको केही समयपछि नै संस्थापकहरू, जो दाजुभाइ पनि हुन्, बी. पी. र मातृकाप्रसाद कोइरालाबीच तनाव सुरु भयो । पार्टी सभापति र प्रधानमन्त्री आफैं भएको देखी सहेनन् बी. पी.ले दाजु मातृकालाई । यही भएर उनले दाजुमाथि नै प्रहार सुरु गरे ।
मातृका राजातिर मिल्न गए भने बी. पी.ले पार्टी नेतृत्व सम्हाले । तर, केही समयपछि पुनः सुवर्णशम्शेर र बी. पी.बीच पनि मनमुटाव सुरु भयो । यसले कांग्रेसलाई कमजोर बनाउँदै लग्यो ।
यस्ता फुट र गुटका बीच पञ्चायत सुरु भयो । यसबीचमा पनि कांग्रेस नेतृत्वमा अघोषित शीतयुद्ध जारी रह्यो । पक्ष–पक्षमा विभाजित हुने क्रम निरन्तर रह्यो कांग्रेसभित्र ।
बीपीको मृत्युपछि पनि कांग्रेसभित्र गिरिजाप्रसाद, कृष्णप्रसाद, गणेशमानलगायतका बीच शीतयुद्ध जारी रह्यो । पछिल्लो समय शेरबहादुर देउवा र गिरिजाप्रसाद कोइरालाबीचको टकरावले पार्टी विभाजनसम्म पुर्यायो ।
अहिले गिरिजाप्रसाद, कृष्णप्रसाद, गणेशमानलगायतका संस्थापक नेताहरू छैनन् तर दोस्रो पुस्ताका नेताहरू देउवा, डा. शेखर कोइराला, डा. शशांक कोइरालासँगै कृष्णप्रसाद सिटौला पनि आफ्नै गुट बनाएर अघि बढिरहेको अवस्था छ । यसबीचमा रामचन्द्र पौडेल भने राष्ट्रपति बनेपछि सक्रिय राजनीतिमा देखिएका छैनन् ।
अहिले कांग्रेस १४औं महाधिवेशनपछि १५औं महाधिवेशनको संघारमा छ । नेपाली कांग्रेसले यसबीचमा विभागहरू गठन गर्न सकस भयो भने भ्रातृ संगठनहरूलाई पनि गति दिन नसकिरहेको अवस्था छ ।
नेपाली कांग्रेस संस्थापन पक्षले इतर पक्षलाई बेवास्ता गरेको भन्दै डा. शेखर कोइराला पक्ष असन्तुष्ट भई समानान्तर गतिविधि गर्न लागेको छ ।
सभापति शेरबहादुर देउवाले केही समयअघि कोशी प्रदेशमा राखेको भेलालाई कोइरालाले बहिस्कार मात्र गरेनन्, आफ्ना पक्षका पालिकाका नेताहरूको छुट्टै भेला गरे ।
डा. शेखर कोइराला आफ्नो पक्षमा मत बढाउन देश दौडाहमा निस्कने तयारीमा छन् । पूर्व र सुदूरपश्चिमको भ्रमण गरिसकेका छन् उनले ।
कोइराला आगामी महाधिवेशनमा पार्टी सभापतिमा जितेर कोइराला परिवारको विरासत कांग्रेसमा फर्काउने सक्दो प्रयासमा देखिन्छन् । यद्यपि, ‘साइलेन्ट प्लेयर’ मानिने वर्तमान सभापति शेरबहादुर देउवासँग कोइरालाको टक्कर विगतमा झैं असफल होला वा सफल, त्यो जान्न भने १५औं महाधिवेशन कुर्नै पर्छ ।