काठमाडौं : काठमाडौं मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा विस्तार गरिएको छ । उक्त क्लिनिकको बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले औपचारिक रुपमा उद्घाटन गरेका छन् । मेयर अधिकारीले रिवन काटेर क्लिनिक, ल्याबको उद्घाटन गर्दै सोही अवसरमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरको समेत शुभारम्भ गरेका थिए ।
उद्घाटन पश्चात बोल्दै मेयर अधिकारीले रोग लाग्नेले मात्र होइन स्वास्थ्यको ख्याल पु¥याउन स्वास्थ्य व्यक्तिले पनि शरीरको नियमित चेकजाँच गर्नुपर्नेमा जोड दिए ।
खानपान जीवनशैलीको असन्तुलनले मानिसमा धेरै किसिमका रोग तथा संक्रमण बढ्दै गएकाले स्वास्थ्य सचेतना बढाउनुपर्ने आवश्यकता रहेको उनले बताए ।
क्लिनिक वानका उपनिर्देशक सन्तोष पौडेलले स्वास्थ्य क्षेत्रलाई व्यवसायिक रुपमा भन्दा सेवाको भावले हेरिनुपर्ने बताए । स्वास्थ्य क्षेत्रमा क्रियाशील संघसंस्थाले असन्तुलित प्रतिस्पर्धालाई होइन सहुलियत तथा छिटोछरितो र गुणस्तरीय सेवालाई जोडदिनुपर्ने उनले बताए ।
कार्यक्रममा उपमेयर अनिता लामा, वडा नम्बर ९ की वडाध्यक्ष सुनिता त्रिपाठी लगायतले स्वास्थ्य मानिसको जीवनको महत्वपूर्ण कुरा भएको र स्वस्थ शरीर नभए केही पनि गर्न नसकिने भएकाले यसलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिएका थिए ।
यसअघि ललितपुरको जावलाखेल र भक्तपुरको ठिमीमा ल्याब तथा स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको क्लिनिक वानको यो काठमाडौं जिल्लाको पहिलो तथा उपत्यकाको तेस्रो सेवा केन्द्र हो । उद्घाटनको अवसर पारेर शनिबारदेखि नै पाँच दिनसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । डाक्टर परामर्श,इसिजी, युरिक एसिड, सुगर, कोलस्टोल जाँच निःशुल्क तथा भिडियो एक्सरेमा ५० प्रतिशत, ल्याब टेस्टमा २५ प्रतिशत तथा खोप र औषधिमा ११ प्रतिशत छुट दिइएको छ ।