२०८२ असार २३ गते सोमवार / Jul 07 , 2025 , Monday
२०८२ असार २३ गते सोमवार
Ads

मधेश प्रदेशका सञ्चारकर्मीहरुको स्वास्थ्य र दुर्घटना बीमाको बाटो खुल्यो

shivam cement
कमल साह
२०८१ पुष १४ गते १९:३५
मधेश प्रदेशका सञ्चारकर्मीहरुको स्वास्थ्य र दुर्घटना बीमाको बाटो खुल्यो

जनकपुरधाम : मधेश प्रदेशमा कार्यरत सञ्चारकर्मीहरुको स्वास्थ्य र दुर्घटना बीमाका लागि बीमा कम्पनीसँग सम्झौता भएको छ । मधेश प्रदेशमा कार्यरत झण्डै साढे तीन सय सञ्चारकर्मी यस कार्यक्रमबाट लाभान्वित हुने अनुमान गरिएको छ । 

मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालय मातहतको आम सञ्चार प्राधिकरणले मधेश प्रदेशमा रहेका सबै क्रियाशील पत्रकारहरूको १ लाखको स्वास्थ्य बीमा तथा ७ लाखको दुर्घटना बीमा गर्ने योजना बनाएको हो । सो योजना कार्यन्वयनका लागि शुक्रबार सम्झौता सम्पन्न भएको छ ।

मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको प्रमुख आतिथ्यमा  प्राधिकरण र राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग सम्झौता भएको हो । 

जनकपुरधाममा रहेको मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको सभाकक्षमा आयोजित कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री लेखीले मधेश प्रदेश सरकार सञ्चारमैत्री सरकार भएको उल्लेख गर्दै पत्रकारहरूको स्वास्थ्य तथा दुर्घटना बीमा निःशुल्क रुपमा गरेर प्रमाणित गरेको बताए । उनले पत्रकारहरूको समस्याप्रति प्रदेश सरकार पूर्ण रुपमा जानकार भएको बताए । 

उनले निकट भविष्यमा नै मधेश प्रदेशका सबै शहीद परिवारलाई एक लाखको स्वास्थ्य बीमा निःशुल्क रुपमा गर्ने तयारी प्रदेश सरकारले गरेको बताए । 

जनता समाजवादी पार्टीका मधेश प्रदेशका प्रमुख सचेतक रामअशिष यादवले लोकतन्त्र तथा गणतन्त्रको पहरेदारको रुपमा रहेको पत्रकारिता क्षेत्रको विकास तथा पत्रकार सुरक्षाको लागि प्रदेश सरकारले चालेको कदमको सराहना गरे । 

आम सञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्याम सुन्दर यादवले मधेश प्रदेशका आठ वटै जिल्लामा कार्यरत नेपाल पत्रकार महासंघको सिफारिश आधारमा स्वास्थ्य बीमा तथा दुर्घटना बीमा गरिने बताए । 

उनले यसअघि महिलाहरूको स्वास्थ्य बीमा गर्दै आएको भएपनि यसपटक ७ सय ३५ पत्रकारहरूको महासंघ तथा मिडियाको सिफारिसमा बीमा गरिदिने बताए । 

उनले पत्रकारितामा निरंतर तीन वर्षदेखि कार्यरत सञ्चारकर्मीको स्वास्थ्य बीमा र दुर्घटना बीमा गरिने बताए । राष्ट्रिय बीमा कम्पनीका व्यवस्थापक देवराज घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा बीमा कम्पनीसँग बिमितले गर्नुपर्ने दाबी भुक्तानीसहितको विषयमा कम्पनीका अधिकारी निरञ्जन आचार्यले जानकारी गराएका थिए । 

पत्रकारहरूको बीमाका लागि मधेश प्रदेश सरकारले आवश्यक बजेट विनियोजन चालु आर्थिक वर्षको बजेटमा नै गरेको छ । नेपाल पत्रकार महासंघ मधेश प्रदेशको हालै सम्पन्न निर्वाचन अनुसार मधेश प्रदेशमा झण्डै सात सय सदस्य रहेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise