अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १४ को दुर्गम गाउँमा दुई गाउँ जोड्ने मोटरेवल पुल बनेसँगै अहिले खुसियाली छाएको छ ।
गाउँमा पुल नहुँदा ५ मिनेटको वारी गाउँबाट पारी गाउँमा पुग्न झण्डै ४ महिना कुर्नुपर्ने बाध्यता थियो । अहिले उक्त बाध्यता हटेको भन्दै स्थानीयवासी हर्सित भएका छन् । उक्त ठाउँका विद्यार्थीहरु पुल नहुँदा खोलाबाट तरेर जान सक्ने अवस्था थिएन । ५ मिनेटको पेरिफेरिमा रहेको पावरा माध्यमिक विद्यालय जान उनीहरुले असोज महिनानै कुर्नुपर्ने बाध्यता थियो ।
अहिले पुल बनेपछि आफुहरुलाई खुसीको सीमा नभएको मिक्रमसोताका स्थानीय दिपकबहादुर कार्कीले बताए ।
काम सुरु भएको पाँच वर्षमा पुल निर्माण सम्पन्न भएको हो । दुई गाउँको बीचमा रहेको बाणगंगा खोलामा पुल नहुँदा वर्षातको समयमा स्थानीय विद्यार्थीहरु मावि स्कुल पढ्न जानबाट बञ्चित हुने अवस्था थियो ।
दुर्गम वस्तीमा पावर र बिक्रमसोता दुई गाउँलाई पुलले जोडेपछि अहिले त्यो क्षेत्र निकै सुगम बनेको स्थानीय भक्त बहादुर अधिकारीले बताए । उनले भने, ‘पुल बनेपछि दुवै गाउँका स्थानीय र मावि तह पढ्ने विद्यार्थी सबैभन्दा खुसी हुँदै पुल निर्माण गर्न सहयोग गर्नेहरुलाई धन्यवाद दिएका छन् ।’ हिउँदमा फराकिलो ठाउँबाट खोला तरेर पारी गाउँ जानुपर्ने स्थिति थियोे भने वर्षामा बाढीका कारण आउजाउ ठप्प हुँदा सबैभन्दा बढी विद्यार्थी मर्कामा परेका थिए ।
‘बिक्रसोताका विद्यार्थीलाई माध्यमिक शिक्षा लिन बाणगंगा नदी तरेर पावर गाउँमा रहेका पावर माध्यमिक विद्यालयमा पढ्न जानुपर्ने बाध्यता हटेको शीतगंगा १४ का वडाध्यक्ष दामोदर न्यौपानेले बताए । न्यौपानेले भने वर्षा सुरु भएपछि विद्यार्थीले खोला तर्न नसकेर पढाई नै छुटाउने अवस्था थियोे । अहिले मोटरेवल पुल बनेर चार दिनदेखि गाडी र मान्छे आउजाउ गर्न सुरु भएपछि यहाँको चहलपहल निकै बढेको छ ।
खोला तर्न नसकेरै वर्षामा तीन÷चार महिना स्कुल गएर पढ्नबाट वञ्चित हुने बाध्यताको अन्त्य भएको अध्यक्ष न्यौपानेले मध्यान्हसँग बताए ।
अब सहज रुपमै बिक्रमसोताका विद्यार्थीले नियमित स्कुल गएर पढ्न पाउने खबरले अहिले बाहिर बसेर कर्म गरेकाहरुले समेत खुसी व्यक्त गरेका छन् ।
हिउँदरभर खोला तरेर स्कुल गएपनि वर्षामा जान सक्ने अवस्था थिएन । अब पुल बनेपछि यो गाउँमा आउने आन्तरिक पर्यटक समेत बढेका स्थानीय लोकप्रसाद भुसालले बताए ।
पावर गाउँका स्थानीय पनि वर्षा शुरु भएपछि बिक्रसोता हुँदै पूर्वपश्चिम राजमार्ग कपिलवस्तुको पिपरा, बैरिया हुँदै बुटवल आउजाउ गर्न निकै ठूलो समस्या थियोे । वर्षाको लागि हिउँदमै नुन, तेल, चामल लगायतका आवश्यक वस्तुहरु जुटाइसक्नुपर्ने बाध्यता अन्त्य हुँदा निकै खुसी लागेको स्थानीय चुमा गाहाले बताइन् । बर्खाको बेला बिरामीलाई उपचारको लागि कपिलवस्तु र बुटवलका अस्पताल लैजान समेत नदी तर्न नसक्दा निकै कठिनाई हुने गरेको गाहाको भनाइ छ ।
‘पुलले बाह्रै महिना दुई गाउँलाई जोड्यो,’ चुमाले भनिन्, ‘सबै कुरामा सहज हुँदा गाउँका स्थानीयमा खुसीको सीमा छैन ।’
दुर्गम बस्तीमा चुनावमा भोट माग्न आउने नेतासँग स्थानीयले बारम्बार पुल बनाइदिन आग्रह गर्दै आएका थिए । यसपटक बिक्रम पाबरावासीको माग पूरा गर्न पाउँदा खुसी लागेको शीतगंगा नगरपालिकाका नगरप्रमुख छबिलाल पौडेलले बताए ।
नेपाल सरकारको ९ करोड ९० लाख रुपैयाँको लागतमा सो ठाउँमा ७० मिटर लम्बाइको पुल निर्माण सम्पन्न भएको शिवपुर सडक डिभिजन कार्यालय कपिलवस्तुका सिनियर डिभिजन इन्जिनियर सविन कोईरालाले जानकारी दिए ।
२०७७ फागुनमा निर्माण कार्य सुरु भएको पुलको सबै काम सम्पन्न भएपछि गाडी र मान्छे आवत–जावत गरेको शिवपुर सडक डिभिजन कपिलवस्तुका इन्जिनियर प्रदीप आचार्यले बताए । करिब ५ वर्षको अवधिमा पुल बनेको हो ।