पाल्पा : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वातावरणीय सन्तुलन कायम राख्न प्रदेश सरकारले हरेक क्षेत्रबाट सहकार्य गर्ने बताएका छन् । पाल्पाकाे बसन्तपुरमा प्राणी शास्त्रसम्बन्धी राष्ट्रिय सम्मेलनलाई साेमबार सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले पारिस्थितिक प्रणालीलाई सन्तुलनमा राख्न प्रदेश सरकारले हरेक क्षेत्रबाट सहकार्य गर्ने बताए ।
'वातावरणीय सन्तुलन जरुरी छ । पारिस्थितिक प्रणालीलाई जाेगाउन छ । यसका लागि लुम्बिनी प्रदेशमा यहाँहरुले गर्ने खाेज अनुसन्धानबाट प्राप्त नतिजालाई आधार मानेर सरकारले आफ्ना नीति, कार्यक्रम बनाउँछ,' उनले भने, 'लुम्बिनी प्रदेश जैविक विविधताले धनी छ । यसलाई बचाइराख्न जरुरी छ । लाेपोन्मुख जिवजन्तुकाे संरक्षण जरुरी छ । मानिस जीवनकाे अस्तित्व जाेगाउन पनि पारिस्थितिक प्रणाली संरक्षण गर्न जरुरी छ ।'
विकास र समृद्धिकाे आधारकाे रूपमा वातावरणीय क्षेत्र रहेकाे, यसकाे संरक्षण र मितव्यायी सदुपयोगबाट दिगाे विकासकाे आधार निर्माण गर्न सकिने बताए । प्राणी शास्त्र केन्द्रीय विभाग र नेपाल जोलोजिकल सोसाइटीको संयुक्त आयोजनामा नेसनल कंग्रेस अफ जोलोजी सुरु भएको छ । प्राज्ञिक, वैज्ञानिक, अनुसन्धानकर्ता र विद्यार्थीहरूलाई प्राणी विज्ञानको सबै पक्षमा अनुसन्धानको निश्कर्ष प्रस्तुत गरिएको नेपाल जोलोजिकल सोसाइटीका अध्यक्ष प्रा.डा. महेन्द्र महर्जनले बताए ।
सम्मेलनमा जैविक विविधता र पारिस्थितिक प्रणाली, मानव वन्यजन्तु द्वन्द्व र न्यूनीकरणलगायतका विषयमा छलफल भइरहेकाे छ । सम्मेलनमा देशभरबाट १५० भन्दा बढी प्राणीशास्त्रीहरुको सहभागिता रहेकाे छ । प्राणीशास्त्री र अनुसन्धानकर्ताहरूले लुम्बिनी केबलकारको यात्रामार्फत माथिल्लो स्टेशन बसन्तपुरमा सम्मेलन गरी प्रख्यात शक्ति पीठ कामाख्या मन्दिर दर्शन समेत गरेका छन् ।