काठमाडौं : निर्दलीय पञ्चायतविरुद्ध संघर्षरत रहँदा पञ्चायती शासकले देशमा बस्न नदिने वातावरण बनेपछि धेरै नेता निर्वासनमा रहे । २०३३ सालमा निर्वासनमा रहेका बीपी कोइराला, गणेशमान सिंहलगायतका नेताहरू ‘राजासँग घाँटी जोड्न’ स्वदेश फर्किए । त्यो दिन १६ पुस थियो ।
१६ पुसलाई त्यही समयदेखि नेपाली कांग्रेसले ‘राष्ट्रिय मेलमिलाप दिवस’ भन्न थाल्यो र मनाउन थाल्यो । आज यो दिवस मनाउन थालेको ४७ वर्ष भएछ तर भनिएझैं ‘राष्ट्रिय मेलमिलाप’को अवस्था के छ ? कांग्रेस स्वयंभित्रको मेलमिलाप कस्तो छ ? यो गम्भीर विमर्शको पाटो हो ।
बीपीले ‘राष्ट्रिय मेलमिलाप’का नाममा स्वदेश फर्किने वातावरण साँच्चै राष्ट्रिय हितकै लागि थियो वा अन्य ? यसबारे विश्लेषकहरूमा एकमत पाइँदैन । केही विश्लेषकहरू बीपी वा कांग्रेसप्रति तत्कालीन भारत सरकारको नेतृत्व अर्थात् इन्दिरा गान्धीले हेर्ने दृष्टिकोण र बीपी तथा कांग्रेसप्रति गर्ने व्यवहार सहज नभएको बताउँदै आएका छन् ।
राजनीतिक विश्लेषक हरिविनोद अधिकारी त्यस बेला बीपी भारतमा इन्दिरा गान्धीको नेपालमा गणतन्त्रको दबाबलाई अस्वीकार गरी बरु नेपालभित्रै राजासँग समन्वय र सहमति गरेर अघि बढ्ने मनशायले नेपाल फर्किएका बताउँछन् । भन्छन्, ‘भारतीय नेताको इशारा मान्नुभन्दा आफ्नै देशका शासकको जेल भोग्न बरु तयार भएर बीपी फर्किएका हुन् ।’
इन्दिरा गान्धीसँग ‘शीतयुद्ध’झैं सम्बन्धमा बीपी कोइराला रहेका र त्यस कारण बीपीलगायतका नेताहरू भारतमा बसिरहनु ‘खतरा’ हुन सक्ने आँकलनका कारण ‘राष्ट्रिय मेलमिलाप’को नाटक मञ्चन गरिएको पनि केही आलोचकहरूले बताउँदै आएका छन् ।
इन्दिरा गान्धीले नेपालको भूगोलप्रति देखाएको ‘अनावश्यक चासो’ तथा बीपीसँगको राष्ट्रियता र राष्ट्रिय अखण्डताका सवालमा गान्धीको मतभेद अर्थात् तत्कालीन प्रधनमन्त्री वा ‘भारत छोडो’ आन्दोलनका नेता जवाहरलाल नेहरुसँगको बीपीको नेपालको राष्ट्रियताका सवालमा भएको असहमति जस्ता कुराले बीपीलाई भारतमा बस्न अप्ठ्यारो परेर राष्ट्रिय मेलमिलापको नीतिका नाममा उनी र गणेशमानहरू नेपाल छिरेका हुन पनि सक्छन् । त्यतिबेला यो सन्दर्भ निकै चर्चाको विषय रहेको पुराना नेताहरूले बताउँदै आएका छन् ।
बीपीलगायत नेताहरू ‘मेलमिलाप’का बहानामा स्वदेश त फर्किए तर तत्कालीन सरकारले विमानस्थलबाटै पक्राउ गर्यो र बन्दी बनायो । उनीहरूलाई मृत्युदण्डसम्म हुनेगरी राजद्रोहको मुद्दा चलाइयो ।
राजा वीरेन्द्र भर्खरै राजगद्दीमा बसेको समय थियो । राज्याभिषेक नै केही महिनाअघि मात्र भएको थियो उनको ।
नेपाली राजनीतिका ‘चतुर खेलाडी’ सूर्यबहादुर थापाको सल्लाह र सुझावमा चल्ने राजा वीरेन्द्रलाई जनमतसंग्रहको घोषणा गराउन बाध्य पार्नु कांग्रेसको एक प्रकारको नैतिक जीत भने थियो त्यस बेला । तर, थापाको चातुर्य र बेइमानीका कारण जनमतसंग्रहमा बहुदल पराजित भयो, जुन हुनु नै थियो ।
प्रश्न यो सोचनीय छ कि साम, दाम, दण्ड, भेद, हात, हतियार सबै ढंगले निर्दलीयतासँग लड्ने संकल्प गरेर निर्वासनमा रहेका बीपी मेलमिलापका नाममा राजासँग साँठगाँठ गर्न किन नेपाल फर्किए ? के पाए त्यसबापत बीपी स्वयंले र नेपालीले ? यसबारे भरपर्दो जबाफ आजसम्म कसैले दिएका छैनन् ।
‘बीपी स्वदेश फर्किएपछि जनमतसंग्रह भयो नि त !’ भन्ने तर्कमा रमाउने एउटा पाटो भने छ तर तत्कालीन अवस्थामा जनमतसंग्रहको अवस्था निम्त्याएको मेलमिलापले नभएर तत्कालीन पाकिस्तानी राष्ट्रपति जुल्फिकर अली भुट्टोको फाँसीका विरुद्ध नेपाली विद्यार्थीले गरेको आन्दोलनले हो ।
मेलमिलापको नीति लिएर बीपी स्वदेश फर्किएको १३ वर्षपछि २०४६ सालको जनआन्दोलन भएको हो । यस कारण २०४६ सालको जनआन्दोलनमा पनि मेलमिलापको कुनै भूमिका देखिँदैन । त्यसमा मेलमिलापको नीतिको सन्दर्भ जोडिने कुरै थिएन ।
मेलमिलापको नीतिले बन्दी अवस्थामै रहेका बीपीलाई उपचारका लागि राज्यकै खर्चमा अमेरिका भने पठायो ।
बीपीलाई अब अमेरिकामै बस्न धेरैले सल्लाह र दबाब दिए पनि उनी पुनः जेलमै बस्नुपर्ने जान्दाजान्दै स्वदेश फर्किए । यो निर्णयचाहिँ बीपीको खास सही निर्णय मान्न सकिने विश्लेषक अधिकारी बताउँछन् । उनी भन्छन्, ‘किनभने उनी जुन अभियानमा वर्षौंदेखि लागेका थिए, जेलनेल र निर्वासन भोगेका थिए, यदि उनी विदेशमै बसेका भए त्यसमा गम्भीर चोट पुग्ने थियो । आन्दोलन सिथिल हुने थियो । र, २०४६ सालभन्दा धेरै पछिसम्म नेपाली निरंकुशता र निर्दलीयताको चंगुलमा फसिरहनुपथ्र्यो ।’
मेलमिलापको सान्दर्भिकता
वर्तमान नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक हरेकजसो क्षेत्रमा बेथिति, विग्रह र बेमेल व्याप्त छ । यस्तो बेलामा सबै पक्ष जिम्मेवार, गहन र उत्तरदायी बन्नुपर्ने अवस्था छ ।
को कुन जातको, को कुन धर्मको, को कुन वर्णको, को कुन लिंगको, को कुन समुदायको, को कुन राजनीतिक दलको वा को कुन क्षेत्रको भन्ने कुरा भुलेर सबैले एक मालामा उनिएर एकजुट भएर मुलुकको समृद्धिका लागि लाग्नुपर्ने अवस्था छ ।
तथापि, १० वर्षे सशस्त्र द्वन्द्वले थिलथिलो पारेको नेपालका हरेक क्षेत्रको पुनर्निर्माण, पुनर्संरचना गर्न पनि सबै पक्षबीच मेलमिलाप, सद्भाव र सम्मानभाव हुनु आवश्यक छ ।
यसका अतिरिक्त हरेकजसो राजनीतिक दलभित्रका आन्तरिक खिचातानी, द्वन्द्व, कलह, बेमेलले गर्दा ठूला र पुराना अनि जिम्मेवार भनिएका राजनीतिक दलहरू पटकपटक फुट्ने र फाट्ने क्रम निरन्तर छ । यसबाट मुक्तिका लागि पनि खासमा मेलमिलाप आवश्यक छ ।
तथापि, हामीकहाँ न घरमा, न समाजमा, न त राज्य तहमै मेलमिलाप फापेको छ । महिनैपिच्छेजसो सत्ता परिवर्तन र खिचातानीमा सरकार र संसद्मा रहेका दलहरू व्यस्त छन् भने राजनीतिक दलहरू आ–आफ्नै दलभित्रका लडाइँ, पदीय खिचातानी, खुट्टा तानातानमा अल्झिएका छन् । सन्दर्भ कांग्रेसमै केन्द्रित गरौं ।
कांग्रेसमा स्थापनाकालदेखि नै मेलमिलाप रहेको देखिँदैन । संस्थापकहरू बीपी, मात्रिकाप्रसाद कोइराला, सुवर्णशम्शेरदेखि पछिल्लो समय गिरिजाप्रसाद, कृष्णप्रसाद, गणेशमान सिंह हुँदै गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, सुशील कोइराला, रामचन्द्र पौडेल आदि कसैमा पनि आन्तरिक मेल कहिल्यै देखिएन ।
विवाद, बेमेल र असन्तुष्टिको अर्को नाम बन्न पुग्यो कांग्रेस । आजका मितिमा पनि कांग्रेस उही अवस्थामा छ ।
पछिल्लो समय १५औं महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसभित्रको राजनीतिमा अनेक ध्रुव र अनेक धार अनि गुट र उपगुट जन्मिएका छन् । पार्टी सभापति देउवाले स्वेच्छाचारी निर्णय गरेको, विधानविपरीत निर्णय गरेको, संस्थापनइतरलाई बेवास्ता गरेको, दबाएको अनेक आरोप लगाएर संस्थापनइतर पक्ष असन्तुष्ट बनेको छ ।
अहिले १५औं महाधिवेशनको तयारीमा रहेको कांग्रेसभित्र गुट, उपगुटको सक्रियता तीव्र बनिरहेको छ । संस्थापनइतर पक्षका नेता डा. शेखर कोइराला केही समयअघि कोशी प्रदेशस्तरीय नेता, कार्यकर्ता भेला गराएर पश्चिमतिर भेटघाट गर्न गएर फर्किएका छन् । संस्थापन पक्ष अर्थात् पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको कोशी प्रदेशस्तरीय भेलालाई कोइराला पक्षले बहिस्कार गरेको थियो ।
अर्कातर्फ, गणेशमान सिंहको पुस्तैनी विरासत बोकेर हिँडेका प्रकाशमान सिंहले आफैं पार्टीको कमानमा दाबी गरिरहेका छन् भने गिरिजाप्रसाद कोइरालाको अमूल्य आशीर्वादबाट कांग्रेस राजनीतिको केन्द्रमा हस्तक्षेप गर्न सफल कृष्णप्रसाद सिटौला पनि आफ्नै झुण्ड बोकेर मच्चिइरहेका छन् ।
उता, गिरिजापुत्री सुजाता कोइराला र बीपीपुत्र डा. शशांकको भने खुलासा देखिँदैन अहिलेसम्म तर आमआँकलन छ कि उनीहरू अन्ततः कोइराला विरासत फर्काउने अभियानमा एक ठाउँ उभिने छन् ।