काठमाडौं : सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले आफ्नै नेतृत्वको सरकारको कामको गति पर्याप्त नभएको निष्कर्ष निकालेको छ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कामको गति पर्याप्त नभएको स्वीकार गरेका छन् ।
बिहीबार बसेको एमाले सचिवालय बैठकमा केन्द्रीय कमिटीमा छलफल हुने विषयवस्तु समेटेर तयार पारिएको अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा सरकारको ६ महिनाको कामको समीक्षा गरिएको छ ।
एमालेको केन्द्रीय कमिटी बैठक २१ र २२ पुसमा बस्दै छ । बैठकका लागि ओलीले तयार पारेको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘यति मात्रै कामको गति पर्याप्त छैन । सरकारले अझ बढी ‘पुस’ गरोस्, सरकारले अझ बढी गति देओस्, २ वटा दल मिलेर बनेको शक्तिशाली सरकार हो । त्यसले त्यहीअनुरूप नै प्रभावकारी ढंगले दिनुपर्छ ।’
नागरिकलाई सेवा प्रवाह, विकास निर्माण, अर्थतन्त्रलाई लयमा फर्काउन सरकारले अझ बढी ध्यान केन्द्रित गर्नुपर्ने ओलीले उल्लेख गरेका छन् ।
प्रतिवेदनमा सरकारको समीक्षा गर्दै आगामी दिनमा गर्नुपर्ने कामको योजना पनि बनाइएको छ । ‘सरकार गठनयताको ६ महिनामा सरकारले केही महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ । तर, थुप्रै कामहरू गर्न अझै बाँकी रहेको हुनाले ती बाँकी कामहरूलाई छिटो सम्पन्न गर्न, अर्थतन्त्रलाई चलायमान बन(ाउन र अझ लयमा ल्याउने पाटोमा सरकारले अझ बढी ध्यान केन्द्रित गर्नुपर्छ’, प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनमा देशको पछिल्लो राजनीतिक अवस्था, सरकारका कामकारवाही, अन्तर्राष्ट्रिय परिस्थितिलगायतका विषय समेटिएको छ ।
एमाले र कांग्रेस मिलेर बनेको सरकार र त्यसको औचित्यबारे समेत अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।
नयाँ सरकार बनेपछि एमालेको पहिलो केन्द्रीय समिति बैठक बस्न लागेको हुनाले नेपाली कांग्रेससँग किन नयाँ सहकार्य सुरु गर्नुपर्यो भन्नेबारेमा पनि प्रतिवेदनमा विश्लेषण गरिएको छ ।
कांग्रेससँगको सरकार गठनको औचित्य, आवश्यकता र यसले सिर्जना गरेका अवसरहरू के हुन् भन्नेबारे समेत प्रतिवेदनमा अध्यक्ष ओलीले विश्लेषण गरेका छन् ।
अर्थतन्त्रमा अपेक्षित रूपमा प्रगति नभए पनि गएको चौमासिकमा अघिल्लो चौमासिकको तुलनामा १७ प्रतिशत राजस्व वृद्धि भएको दाबी प्रतिवेदनमा छ ।
सरकार बनिसकेपछि आएको अर्थतन्त्रमा सुधार, विकास निर्माणका कामहरूसमेत प्रतिवेदनमा समेटिएका छन् । प्रतिवेदनमा पछिल्लो समय समाजमा बढिरहेको अराजकता र त्यसको निराकरणका उपायहरूसमेत समावेश गरिएको छ ।
‘शेयर बजार माथि नै छ । लगानी, वैदेशिक सहायता, ऋण, निजी क्षेत्रमा लगानी बढेको छ । बंगलादेशसँग ऊर्जा व्यापार सम्झौता, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनका विषयमा प्रगति भएको छ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वसम्मतिले पारित भए पनि आयोग बन्न ढिलाइ भएको छ । त्यसलाई तीव्रता दिनुपर्छ । वैदेशिक सम्बन्धलाई सन्तुलनमा राख्ने र सहकारी क्षेत्रमा देखिएको बेथिति रोक्न सरकारले काम गरिरहेको छ’, ओलीले उल्लेख गरेका छन् ।
सरकारको गति बढनुपर्छ : महामन्त्री शर्मा
एमाले अध्यक्ष ओलीले सरकारको काम पर्याप्त नभएको प्रतिवेदनमा उल्लेख गरेको सन्दर्भमा सत्ताको अर्को प्रमुख घटक नेपाली कांग्रेसले प्रधानमन्त्रीको स्वीकारोक्तिलाई सकारात्मक रूपमा लिएको छ ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सरकारको सन्दर्भमा एमालेले गरेको समीक्षा उसको आफ्नो भए पनि कति पर्याप्त भएन भन्ने चासो पनि रहेको बताए ।
‘सरकारको गति पर्याप्त भएन भन्दै गर्दा यो त आमरूपमै उठेको सवाल हो’, शर्माले भने, ‘सरकारको गति बढाउनुपर्छ भन्ने कुरा हामीले भन्दै आएका छौं ।’
उनले सरकारले प्रभावकारी ढंगले काम गर्नुपर्ने बताउँदै यसमा एमाले पनि सहमत हुनु र प्रधानमन्त्री स्वयंले स्वीकार गर्नु सकारात्मक रहेको उल्लेख गरे । ‘सिंगो सरकारको गति बढ्नुपर्छ, सरकारको निर्णय क्षमता बढाउनुपर्छ’, शर्माले भने ।
बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले केन्द्रीय कमिटीमा छलफल हुने विषयवस्तुका बारेमा सचिवालय बैठकमा छलफल भएको जानकारी दिए ।
ज्ञवालीले एमाले र कांग्रेसको सरकार बनेपछि मुलुकमा स्थिरता आएको र देशको अर्थतन्त्रले समेत लय लिएको दाबी गरे । बीआरआईसमेत एमाले र कांग्रेसको सहमतिमा हस्ताक्षर भएको उनले बताए ।
रावलको आरोपको खण्डन
निष्कासनमा परेका नेता भीम रावलले पार्टी र अध्यक्ष ओलीमाथि लगाएको आरोपको एमालेले खण्डन गरेको छ ।
एमालेले रावलद्वारा सार्वजनिक ३१ पृष्ठको प्रश्न र आरोपलाई तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै दस्तावेजको ‘कपी पेस्ट’को संज्ञा दिएको छ । सचिवालय बैठकपछि उपमहासचिव ज्ञवालीले रावलले सार्वजनिक गरेको दस्तावेज सोही प्रकृतिको भएको टिप्पणी गरे ।
‘२०७७ कात्तिकमा लगभग यिनै भाषामा प्रचण्डले तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई यस्तै खालको टिप्पणी गर्नुभएको थियो’, ज्ञवालीले भने, ‘सायद १९ पेजको थियो । एक हिसाबले यो त्यसकै कपी पेस्ट जस्तै हो ।’
उनले गालीगलौजले देश नबन्ने पनि बताए । ज्ञवालीले भने, ‘रवि लामिछानेजी पनि गालीगलौजबाटै उदाएको हो । गालीगलौजले देश बन्दैन ।’
साढे ३० पृष्ठको गालीगलौज र आधा पृष्ठ मात्र योजना रहेकाले रावलमा कति नकारात्मकता रहेछ भन्ने प्रस्ट भएको ज्ञवालीले टिप्प्णी गरे ।
संगठित सदस्यता खोसिएपछि रावलले बुधबार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ७४ प्रश्न र आरोप लगाएका थिए ।