काठमाडौं : प्रसिद्ध अमेरिकी लेखक, दार्शनिक, अभियन्ता तथा इतिहासविद् हेनरी डेभिड थोरोले भनेका छन्, ‘तपाईंले आफू नराम्रो छु भन्ठान्नुपर्दैन, कसै न कसैका लागि धपक्क बलेको हुनुहुने छ ।’
हुन पनि कसैको नजरमा नराम्रो देखिएको त्यही व्यक्ति अरू कसैको नजरमा भने सुन्दर÷सुन्दरी हुन्छ । यस अर्थमा राम्रो र नराम्रोको कुनै मापदण्ड हुँदैन । तर, मानव स्वभाव न हो, ऊ कहिल्यै पूर्ण सन्तुष्ट भने हुँदैन । फेरि, आफूसुहाउँदो पहिरनमा चिटिक्क पर्ने, आकर्षक देखिने चाहना कुन मानिसमा नहोला र ?
अफसोच ! सबैले चाहेर यस्तो रहर पूरा हुँदैन । कतिको शारीरिक बनावटले साथ दिँदैन त कतिपयको पहिरन र कलाले यद्यपि उनलाई भने सबै पक्षले उच्च समर्थन जनायो । र त पेसागत रूपमा नै यस क्षेत्रमा समर्पित भएकी हुन् ।
नेपाली कला र मनोरञ्जनको क्षेत्रमा छोटै समयमा फड्को मार्न सफल, नयाँ पुस्ताकी लोकप्रिय विश्व कीर्तिमानी नायिका छिरिङ शेर्पाको गाथा हो यो ।
औपचारिक रूपमा छिरिङलाई हाल सम्बोधन गरिने शब्द भनेको नायिका हो । अहिलेसम्म उनले जेजति अभिनय गरेकी छन्, ती आफैंमा चर्चित र ऐतिहासिक छन् । यद्यपि, उनको परिचय यतिमै सीमित छैन, बहुआयामिक र फराकिलो छ ।
कतिले कुशल मोडल, कतिले विश्व कीर्तिमानी सुन्दर नायिका त कतिले उदाहरणीय समाजसेवी र अभियन्ताको रूपमा चिन्छन् । तर, नजिकबाटै नियाल्नेहरूले भने उनलाई बहुविधाकी धनी व्यक्तित्वको श्रेणीमा राख्छन् ।
छिरिङको जन्म १८ फागुन २०५३ मा सोलुखुम्बू जिल्लाको हालको दूधकुण्ड नगरपालिका– ६ छितोकमा पूर्वा शेर्पा र लाक्पाका १ छोरी तथा २ छोरामध्ये पहिलो सन्तानको रूपमा भएको हो ।
‘हुने बिरुवाको चिल्लो पात’ भनेझैं सानैदेखि जिज्ञासु स्वभाव र तीक्ष्ण बुद्धिकी छिरिङको बाल्यकाल साथीसंगीको तुलनामा सुखद पृथक् रह्यो । आफ्ना समकक्षीभन्दा फरक भए पहिलेदेखिकै सोच, सोख र सपना पनि । अध्ययनका अतिरिक्त कलाकारिता र सौन्दर्यमा विशेष ध्यान दिने उनले त्यतिबेलै आफ्नो भविष्यको गन्तव्य पहिल्याउन थालेकी हुन्, जतिबेला भर्खरै ६–७ वर्षीया थिइन् ।
‘म सानैदेखि कलाकार बन्न रुचाउथेँ । घर बस्दा होस् या विद्यालय जाँदा वा बाहिरफेर कतै निस्कँदा नै किन नहोस्, आफूलाई ‘क्युट’ देखाउन चाहन्थेँ । त्यसैले शरीर सुहाउँदो पहिरन लगाउने मात्रै होइन, त्यहीअनुसार मिल्दो शृंगार पनि गर्थें’, छिरिङ आफ्नो बाल्यकाल स्मरण गर्छिन्, ‘त्यही भएर होला सबैतिर मेरो पोसाक र कलाको प्रशंसा हुन्थ्यो ।’
हुन पनि त्यतिबेलादेखि अहिलेसम्म उनको यो विशेषतामा कुनै क्रमभंग भएको छैन बरु समयानुकूल परिमार्जित छ ।
त्यतिबेला गाउँको मध्यम वर्गीय शेर्पा परिवार काठमाडौं भि(ित्रएपछि आम्दानीको मुख्य स्रोत टे«किङ र होटल व्यवसाय बन्यो । पहिलेदेखि नै आफ्नो कर्तव्यप्रति जागरुक छिरिङलाई ३–४ वर्षको उमेरमा गौरीघाटस्थित प्रेरणा बोडिङ हाई स्कुलमा भर्ना गरियो । अध्ययनमा अब्बल उनले त्यहाँ कक्षा ९ सम्म पढेर २०७०/०७१ मा श्री विभूति वैकल्पिक विद्यालयबाट एसएलसी पास गरिन् ।
अब भने छिरिङको दैनिकीमा केही परिवर्तन आयो । बज्र इन्टरनेसनल कलेजमा उच्च शिक्षा अध्ययन थालेसँगै औपचारिक रूपमै कलाकारिता क्षेत्रमा पनि जम्ने मीठो सपना सँगालेर पाइला अघि बढाइन् । यस क्षेत्रसँग सम्बन्धित साथीभाइ, आफन्त भेटिन्, उठबस र सामीप्य पनि उनीहरूसँगै बाक्लियो । त्यही संगतले छिरिङले कलाकारिताको केही सैद्धान्तिक त केही व्यावहारिक ज्ञान हासिल गरिन् ।
त्यस अवधिमा विभिन्न फेसन शो, सौन्दर्य प्रतियोगिता, व्यक्तिचित्र, वृत्तचित्र, विज्ञापन, म्युजिक भिडियो र सानो–ठूलो पर्दाका चलचित्रहरूमा आफ्नो कला क्षमता देखाउने अवसर मिल्यो उनलाई । अनि, छोटो समयमै उत्कृष्ट मोडल/नायिकाको रूपमा स्थापित भइन् ।
यस्तैमा कक्षा १२ पूरा गरी बागबजारमा अवस्थित पद्यकन्या कलेजमा कला विषय लिएर स्नातक तहको पढाइ अगाडि बढाइन् ।
उसो त कलाकारिताप्रति छिरिङको समर्पण सानैदेखिको हो । विद्यालयमा हरेक शुक्रबार आयोजना हुने अतिरिक्त क्रियाकलापमध्ये नृत्य र अभिनयमा अनिवार्य सहभागिता जनाएर उत्कृष्ट हुने विद्यार्थीमा पर्थिन् उनी । ‘ममा कलाकार अझ विशेषतः मोडल÷नायिका बन्ने चाहना बच्चादेखि नै जागेको हो । छरछिमेक, टोलका पूजाआजा, बिहेबटुला, चाडबाड आदिमा जसरी पनि पुग्थें र नाचगान गर्थें’, छिरिङ आफ्नो विगतदेखि वर्तमानसम्म नियाल्छिन्, ‘मुख्यतः हाम्रो शेर्पा समुदायबाट कलाकारिता क्षेत्रको आँखाको नानी नै बनिरहेकी छु । सर्वोत्कृष्ट मोडल/नायिकाको रूपमा थुप्रै सम्मान–पुरस्कार पाइरहेकी छु । उहाँहरूको यस्तै माया र हौसलाले यस क्षेत्रमा अनवरत रूपमा दौडिरहेकी छु, रमिरहेकी छु ।’
उनले मोडलिङ गरेको पहिलो म्युजिक भिडियो ‘ऊ साह्रै राम्री छ...’ हो । चलचित्रतर्फ भने सन् २०१६ मा ‘टिन्छेन फामा’मार्फत अभिनय थालनी गरेकी हुन्, जुन चलचित्र राष्ट्रपतिबाट ‘सर्वोत्कृष्ट जनजाति चलचित्र’ पुरस्कार पनि पाउन सफल भयो ।
छिरिङले मोडलिङ गरेका चर्चित र व्यावसायिक रूपमा सफल म्युजिक भिडियोहरूमा ‘मरिसकेको माया...’, ‘नाचिदेऊ मैच्याङ...’, ‘शैलुंगे बजार...’, ‘मोहनी...’, ‘नजिक छैन...’, ‘फिक्का लाग्छ...’, ‘तिम्रै नाम...’, ‘हरसाँझ...’, ‘किन दुख्छ मुटु मेरो...’, ‘मेरो मन...’, ‘मेरी प्रियसी...’, ‘किन हो सानु...’, ‘शेर्पिनी कान्छी...’, ‘पोखराको फेवाताल...’, ‘स्यार्खुम्बू कि सम्धिनी...’, ‘लेकाली गाउँ...’, ‘घुम्दै आउँछ सुखदुःख...’, ‘रात...’, ‘गोधूलि साँझ...’, ‘स्यार्खुम्बू कि स्यार्वा...’, ‘म्युजिकल्ली जमानामा...’, ‘खुम्बु पासाङ ल्यामु...’, ‘आहाले रामसाइँली...’, ‘तिम्रो याद...’, ‘ऊ साह्रै राम्री...’, ‘मायामा आँसु...’ आदि पर्छन् ।
उनी वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाको ‘सौर्य प्रोडक्सन’बाट छिट्टै निर्माण हुन लागेको नेपाली चलचित्र ‘टाँसिदेले’मा पनि नायिकाको भूमिकामा देखिँदै छन् ।
‘आदिवासी जनजाति चलचित्र महासंघ, नेपाल’को उपाध्यक्ष, ‘शेर्पा चलचित्र संघ, नेपाल’को संस्थापक अध्यक्ष, ‘विश्व साँस्कृतिक तथा कला समाज महासंघ’को ‘ग्लोबल मानार्थ सल्लाहकार’ (यो संस्था १३६ मुलुकमा क्रियाशील छ) रहेकी छिरिङ आफ्नो विधा, क्षेत्र तथा पेसा सम्बद्धका अतिरिक्त विभिन्न सामाजिक संस्थामा पनि आबद्ध छन् ।
यस अर्थमा उनी विभिन्न सरकारी÷गैरसरकारी संस्थाबाट धेरै पटक अभिनन्दित, पुरस्कृत र अवार्डसहित सम्मानित भएकी छन् । छिरिङले सन् २०१५ को ‘मिस टिनेजर इन्टरनेसनल’मा ‘मिस ट्यालेन्ट’, २०१६ को ‘मिस इन्डिजिनियस हेरिटेज, नेपाल’ प्रतियोगितामा ‘मिस एलिगेन्ट’को उपाधि पाएकी छन् ।
यसैगरी ‘डान्सिङ विथ द स्टार्स नेपाल, २०२२’ को ‘रियालिटी शो’मा नृत्यकला प्रस्तुत गरेर सर्वोत्कृष्टको जित हात पारिन् भने ‘मोस्ट पपुलर रियालिटी शो स्टार’ (फेसन एन्ड मोडल अवार्ड, २०२२) जितेपछि नेपाली कलाकारितामा थप उचाइमा पुगिन् ।
अझ गौरवपूर्ण पक्ष त छिरिङले १७ नोभेम्बर २०२२ का दिन ‘भूमिदेखि उच्चतम उचाइमा गरिएको कोरियोग्राफी जोडी’ शीर्षकमा पहिलो विश्व कीर्तिमान बनाएकी छन् । उता, २४ मे २०२४ मा ‘शेर्पालाई श्रद्धाञ्जलि र पर्वतारोहीहरूका लागि मेरो आवाज’ भन्ने नारासहित सगरमाथा चढेर अद्वितीय उपलब्धि हासिल गरिन् ।
यति मात्र होइन, छिरिङले कला–मनोरञ्जन क्षेत्रसँग सम्बन्धित दर्जनजति कार्यक्रममा कुशल निर्णायक र विभिन्न व्यवसाय, कम्पनीमा सदभावनादूतको भूमिकासमेत निर्वाह गरिसकेकी छन् ।
‘कसैबाट प्रेरणा लिएर भन्दा पनि म नै प्रेरणा दिनका लागि कलाकारिता क्षेत्रमा आएकी हुँ किनकि हामी शेर्पा समुदाय कलाकारितामा निकै पछाडि छौं । शेर्पाहरूको पारिवारिक शिक्षा नै व्यापार व्यवसाय, पर्वतारोहण, डाक्टर, इञ्जिनियर, पाइलट जस्ता पेसाहरूमा प्रोत्साहन गर्ने खालको हुन्छ । आफ्ना बच्चाहरूलाई त्यो बेला कलाकारिता क्षेत्रमा लाग्नुपर्छ भनेर कुनै पनि शेर्पा परिवारले साथ, सहयोग गर्नु हुँदैनथ्यो’, छिरिङ आफैंप्रति गर्व गर्छिन्, ‘त्यसैले मलाईचाहिँ कलाकारितामार्फत नै केही गर्न मन लाग्यो, आफ्नो नाम र कामलाई चिनाउने इच्छा जाग्यो, नयाँ पिँढीका लागि एउटा मार्गदर्शन र उदाहरण बन्ने सोच आयो, जुन केही हदसम्म पूरा पनि भएको छ ।’