२०८१ पुष २५ गते बिहिवार / Jan 09 , 2025 , Thursday
२०८१ पुष २५ गते बिहिवार
Ads

अर्थतन्त्र र कृषि

ADV
२०८१ पुष २४ गते ०६:१५
अर्थतन्त्र र कृषि

–के. बी. बस्नेत

नेपालको अर्थतन्त्र लयमा फर्केको बताइरहँदा स्वदेशी उत्पादनहरू आवश्यकताअनुरूप बढाउन नसक्दा धेरैजसो वस्तुहरू आयात गरेर उपभोग गर्ने अवस्था सिर्जना भएको छ । हालसालै भन्सार विभागले सार्वजनिक गरेको एक तथ्यांकअनुसार यहाँको निर्यातको तुलनामा आयात १० गुणा बढी छ, जसले यहाँको अर्थतन्त्र कमजोर भएको इंगित गर्छ । 

नेपालको वैदेशिक व्यापारलाई नियाल्दा यहाँका भान्सामा प्रयोग गरिने वस्तुहरूदेखि औषधि, लत्ताकपडा, सवारी साधन, पेट्रोलियम पदार्थलगायत अन्य वस्तुहरू आयात गरिन्छ । फलतः यहाँको अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको छ । 

यहाँको अर्थतन्त्रको सबलीकरणको लागि कृषि विकासले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ, जसका लागि उन्नत बिउ बीजनको प्रयोगले उल्लेख्य भूमिका खेल्न सक्छ ।

विश्वभर जनसंख्या वृद्धि भई ८ अर्ब नाघेको छ । यो जनभारलाई भरणपोषण गर्नका लागि कृषि विकासबाहेक अर्को विकल्प छैन । वस्तुतः मानव जीवनमा प्रत्यक्ष सरोकार राख्ने व्यवसाय कृषि हो । नेपालका झन्डै दुई तिहाइ जनता हालसम्म पनि उक्त व्यवसायमा आश्रित छन् । भौगोलिक बनोटका कारण नेपाल कृषि विकासका लागि पर्याप्त सम्भावना भएको देश हो । परन्तु, हाल यो देशलाई कृषिप्रधान देश भन्न पनि लाजमर्दो भएको छ किनभने केही वर्षयता यहाँको कृषि उत्पादन नपुग भएकाले आयात बढिरहेको छ ।

एकातिर यहाँको कृषियोग्य जमिन प्रत्येक वर्ष मासिँदै र बाँझिँदै गएको छ भने अर्कातिर यहाँका ग्रामीण जनताको शहरतिर बसाइँ सराइका कारण कृषि उत्पादन घट्दै गएको छ । आगामी दिनहरूमा पनि यस्तो अवस्था विद्यमान रहने छ । 

आज जलवायु परिवर्तनले संसारका विभिन्न क्षेत्रमा गहिरो प्रभाव परेको छ । यसको सबैभन्दा बढी नकारात्मक प्रभाव कृषि क्षेत्रमा परेको छ । यस्तो परिवर्तनका कारण नेपाललगायत विश्वका सबैजसो देशहरूमा मौसमअनुकूलको खेती गर्ने अवस्था छैन । फलतः यी देशहरूमा कृषि उत्पादन थप घट्दो क्रममा छ । पछिल्ला तथ्यांकहरूलाई नियाल्यौं भने पनि ती विषयहरू प्रस्ट हुन्छन् । 

हालै विश्व बैंकद्वारा प्रकाशित नेपाल विकास प्रतिवेदनअनुसार आगामी दिनहरूमा नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान घट्ने छ । वास्तवमा यहाँका ग्रामीण जनताको बढ्दो बसाइँ सराइ, युवाहरूको विदेश पलायन, भूक्षय, पानीको मुहान सुक्ने बढ्दो क्रम, जंगली जनावरहरूको बढ्दो प्रकोप, तराईमा सडक सिर्जित डुबानको समस्या आदि कारणहरूले यस्तो अवस्था भएको हो ।

१९९४ सालमा नेपालमा कृषि विकास परिषद्को स्थापना गरिएको थियो, जसको प्रमुख उद्देश्य कृषि विकास गर्नु थियो । कृषिको समसामयिक सुधारका लागि १ पुस २०२१ मा यहाँ भूमि सुधार ऐन लागू गरियो, जसबाट आशा गरेअनुरूप फाइदा हुन सकेन ।

२०५२ सालमा दीर्घकालीन कृषि नीति अपनाइयो तर यसलाई व्यवहारमा उतार्न नसक्नाले कृषिमा ठोस विकास भएन । पछिल्लो समय २० वर्षे (२०७२–२०९२) कृषि नीति अवलम्बन गरिएको छ । खाद्यान्नमा आत्मनिर्भर हुने, रोजगारी सिर्जना गर्ने, खाद्य तथा पोषण सुरक्षा गर्ने उक्त नीतिको प्रमुख उद्देश्य छ । परन्तु, यहाँको खेतीयोग्य जमिनमा उन्नत बिउ बीजनको प्रयोगबिना उक्त उद्देश्य परिपूर्ति गर्न सहज छैन किनभने उक्त बिउ बीजनको प्रयोगले कृषि उत्पादन ३ गुणासम्म वृद्धि गर्न सकिने कुरा एक अध्ययनले देखाएको छ । 

हालसम्म पनि नेपालका अधिकांश कृषकहरूले आफ्ना खेतीयोग्य जमिनमा रैथाने बिउ बीजन प्रयोग गर्दै आएका छन् । यदि भविष्यमा यहाँको कृषि उत्पादन उल्लेख्य रूपमा बढाउने हो भने उनीहरूलाई उन्नत बिउ बीजनको व्यवस्था गरी प्रयोग गर्न उत्प्रेरित गर्न आवश्यक छ । तर, कुनै पनि खेतीयोग्य जग्गामा लामो अवधिसम्म एकै किसिमका उन्नत बिउ बीजन प्रयोग गर्दा त्यहाँको उत्पादन क्षमतामा ह्रास आउने हुँदा किसानहरूलाई नयाँ बिउ बीजन प्रयोग गर्न सचेत गराउन आवश्यक छ । यसो गर्न नसकेमा उन्नत बिउ बीजनको प्रयोगबाट ठोस फाइदा प्राप्त गर्न सकिँदैन । 

वस्तुतः नेपालमा आजसम्म पनि कुन जग्गामा कस्ता बिउ बीजन प्रयोग गर्न उपयुक्त हुन्छ भन्ने कुराको अध्ययन, अनुसन्धान गर्न सकिएको छैन । त्यसैले भविष्यमा यस सम्बन्धमा अध्ययन, अनुसन्धान गरी यथोचित ठाउँमा यथोचित बिउ बीजन सिफारिस गरी किसानहरूलाई प्रयोग गर्न प्रोत्साहन गर्नुपरेको छ । यसो गर्न सकेमा भविष्यमा यहाँको कृषि उत्पादन वृद्धि भई देश खाद्यान्नका लागि आत्मनिर्भर हुने छ र यहाँको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने छ ।

पर्याप्त सिँचाइबिना उन्नत बिउ बीजन प्रयोग गरे पनि अपेक्षाअनुसार फाइदा लिन सकिँदैन । तसर्थ, सिँचाइ सुविधा नपुगेका यहाँका जग्गा जमिनमा लघु सिँचाइ, स्यालो ट्युब वेल, लिफ्ट सिँचाइ र थोपा सिँचाइ आवश्यकताअनुरूप उपलब्ध गराउन जरुरी छ । यसैगरी चन्द्र, गण्डक र जुद्ध जस्ता पुराना नहरको मर्मत सम्भार गरी संचालन गर्न नितान्त आवश्यक छ । 

नेपाली किसानहरूको आवश्यकताअनुसार सिँचाइ सुविधाहरू प्रदान गर्न ठूला सिँचाइ आयोजनाहरूले महत्त्वपूर्ण भूमिका खेल्छन् । परन्तु, हालसम्म पनि यहाँ उक्त आयोजनाहरू सरकारले मात्र निर्माण गर्न सक्छ भन्ने गलत सोच छ । तसर्थ, यस्ता आयोजनाहरू आवश्यकताअनुरूप सम्पन्न गर्न सकिएको छैन ।

वास्तवमा यस्ता आयोजनाहरू आवश्यकताअनुसार यथाशीघ्र सम्पन्न गर्न निजी क्षेत्रको सक्रिय सहभागिताको आवश्यकता पर्छ । यसका लागि सरकारले उक्त क्षेत्रलाई आवश्यकताअनुसार सुविधा प्रदान गर्नु जरुरी छ । उन्नत बिउ बीजनहरू उपयुक्त किसिमबाट प्रयोग गरी अधिकतम प्रतिफल प्राप्त गर्न गाउँगाउँमा कृषि विकास कार्यालय खोली कृषकहरूको आवश्यकताअनुसार परामर्श दिन नितान्त आवश्यक छ । यसका लागि स्थानीय निकायहरूको भूमिका महत्त्वपूर्ण छ । 

भविष्यमा उन्नत बिउ बीजनको प्रयोग बढाउन सके कृषि उत्पादन वृद्धि भई उक्त व्यापार प्रवद्र्धनमा थप सघाउ हुने छ । यद्यपि, यी वस्तुहरू निर्यात गर्न सहज छैन । त्यसैले समय र लागतको विश्लेषण गरी क्वारेन्टाइन चेक पोस्टहरू सम्बन्धित भन्सार कार्यालयहरू नजिक निर्माण गर्न नितान्त आवश्यक छ । यसो गर्न सकेमा भविष्यमा कृषिजन्य वस्तुहरूको निर्यात व्यापार अभिवृद्धि गर्न सहज हुने छ र यहाँको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्ने छ ।

पर्याप्त लगानीबिना नेपालको खेतीयोग्य जमिनमा उन्नत बिउ बीजन व्यापक रूपमा प्रयोग गर्न सम्भव छैन किनकि उन्नत बिउ बीजनको परीक्षण गरी किसानहरूलाई सुपथ मूल्यमा वितरण गर्नका लागि विपुल धनराशि खर्च गर्न जरुरी छ । 

तथापि, हालसम्म पनि यहाँ कृषि विकासका लागि छुट्याइएको रकम पर्याप्त नभएकाले भविष्यमा उक्त रकम कुल वार्षिक बजेटको न्यूनतम २९ प्रतिशत हुन नितान्त आवश्यक छ । यसका लागि सम्बन्धित पक्षको ध्यान यथाशीघ्र आकृष्ट हुनुपर्छ ।

ADVADV

सम्बन्धित खबर

Advertise