२०८१ पुष २५ गते बिहिवार / Jan 09 , 2025 , Thursday
२०८१ पुष २५ गते बिहिवार
Ads

एमाले–माओवादी बैठक : आन्तरिक लोकतन्त्र देखाउने दाँत !

ADV
अस्मिता बम
२०८१ पुष २४ गते ०६:४०
एमाले–माओवादी बैठक : आन्तरिक लोकतन्त्र देखाउने दाँत !

काठमाडौं : नेपालका २ ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समितिको बैठक सम्पन्न गरेका छन् । गत आइतबार एकै दिन सुरु भएर मंगलबार एकै दिन समापन भएका दुवै दलभित्रका गतिविधि समान रूपमा अगाडि बढेका थिए ।

माओवादीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ३० पेजको राजनीतिक प्रतिवेदन ल्याएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले ४७ पेजको राजनीतिक प्रतिवेदन ल्याएका थिए । राजनीतिक प्रतिवेदनमा रहेका कतिपय विषयमा समानता त कतिपय विषयमा फरक मतसमेत थिए । तर, दुवै दलले यो पटकको केन्द्रीय समितिको बैठकबाट समान उद्देश्य पूरा गर्ने प्रयास गरे । त्यो विषय हो– पार्टीभित्रको फरक मतको व्यवस्थापन । 

एमालेमा फरक मत राखेकै कारण भीम रावल पार्टीबाट निष्कासनमा परेका छन् । अरू २ जना नेतालाई स्पष्टीकरण सोधिएको छ । फरक मत राखेकै कारण पार्टीमा कारबाहीमा परेको भनेर एमालेभित्र कतिपयले असन्तुष्टि व्यक्त गर्दै आएका छन् । त्यसको झल्को केन्द्रीय समितिको बैठकमा पनि देखियो । 

व्यवसायी मीनबहादुर गुरुङबाट जग्गासहित केन्द्रीय कार्यालय भवन दानमा लिने निर्णयलाई लिएर रावलसहितका नेताहरूले असहमति जनाएका थिए । असहमति जनाउने नेताहरू कारबाहीमा पर्दासमेत केन्द्रीय कमिटी बैठकमा कतिपय नेताहरूले व्यापारीबाट दानको घर लिएर पार्टी संचालन गर्नु राम्रो नहुने भनेर धारणा राखे ।

गत २५ असोजमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र व्यापारी गुरुङ दम्पत्तीले कीर्तिपुरमा केन्द्रीय कार्यालय भवन शिलान्यास गरेका थिए ।

उक्त निर्णयलाई लिएर सार्वजनिक रूपमै आलोचना गर्ने नेताहरू कारबाहीमा परेका स्मरण गर्दै अध्यक्ष ओलीले असन्तुष्टि भए पार्टीमै राख्न आग्रह गरे । सडकमा गएर पार्टीको आलोचना गर्ने विषय विधिसम्मत नरहेको भनेर ओलीले आन्तरिक लोकतन्त्रप्रति प्रतिबद्ध रहेको र आफ्ना विषय विधिसम्मत रूपमा राख्न आग्रह गर्दै पार्टीभित्रको विवाद मत्थर पार्ने प्रयास गरे ।

यस्तै दृश्य माओवादीको केन्द्रीय समितिको बैठकमा पनि थियो । माओवादीमा उपमहासचिव जनार्दन शर्माले महाधिवेशन माग गरेका थिए । नवौं महाधिवेशनलाई विशेष महाधिवेशनको रूपमा तत्काल गर्नुपर्ने उनको माग थियो । तर, अध्यक्ष प्रचण्डले ६ महिनापछि महाधिवेशनको तालिका नै घोषणा गर्नेगरी केन्द्रीय समितिको बैठक राख्ने भनेर सम्बोधनको प्रयास गरे । उपमहासचिव शर्माले चाहेजस्तो वैचारिक छलफलको माहोल भने बनेन ।

उल्टै माओवादी अध्यक्ष प्रचण्डले पार्टीमा आन्तरिक लोकतन्त्र रहेको र यसको सम्मान आफूबाट हुने भनेर विश्वास जित्ने प्रयास गरे । 

प्रचण्डले भनेका छन्, ‘पद्धतिसम्मत गरिने विचार अभिव्यक्ति भिन्न मत वा आलोचनाको स्वतन्त्रतालाई कुण्ठित गरिने हुँदैन र कुण्ठित गरिने पनि छैन ।’

बोलीमा जे जस्तो भए तापनि व्यवहारमा एमाले र माओवादी दुवै दलमा आन्तरिक लोकतन्त्र देखाउने विषय मात्र भएको सरोकारवालाहरू बताउँछन् । 

उनीहरूका अनुसार पार्टी कमिटी क्रियाशील रहेको देखाउन र आन्तरिक लोकतन्त्रको अभ्यास गरेको भन्न वर्ष दिनमा एक पटक केन्द्रीय समितिको बैठक राख्ने र आफूअनुकूल निर्णय गराउने नेतृत्वको प्रवृत्ति यस पटक पनि दुवै दलमा दोहोरिएको छ ।
 

ADVADV

सम्बन्धित खबर

Advertise