अर्घाखाँची : अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क शान्ति बगैंचामा विगत १२ वर्षदेखि पानीपुरी र चटपटे विक्री गर्दै आएका केशव मुखिया अहिले सबैले चिन्ने सफल व्यवसायी बनेका छन् । साना बोली फुटेका केटाकेटीदेखि कपाल फुलेका बूढापाकाहरूले समेत मुखियालाई चिन्छन् ।
उनको यो परिचय कुनै नौलो काम गरेर बनेको भने होइन । केशवको परिचय चटपटे बनाउने सीपले चर्चित बनाएको हो । १२ वर्षको उमेरदेखि नै चटपटे बेच्दै आएका केशवको १२ वर्ष चटपटे घोलेरै बितिसकेको छ । त्यही चटपटे बेचेर उनले सन्धिखर्कमा लाखौं मूल्य पर्ने २ तले पक्की घरसमेत जोडेका छन् ।
दैनिक दिउँसो बेच्ने चटपटेका लागि चटपटे बनाउँदा चाहिने आवश्यक सामग्री बिहानै जुटाउनु नै केशव मुखियाको दैनिकी हो । पहिला टाउकामा चटपटेको बाकस बोकेर बजारका विभिन्न चोकमा डुलाएर बेच्ने गरेका केशव ८ वर्षदेखि ठेला बनाएर चटपटे बेच्दै आएको बताउँछन् ।
केशवले बनाएको चटपटे खाँदै आएका सन्धिखर्क आसपासका युवापुस्ता र स्कुले केटाकेटी चटपटेको कुरा गर्नेबित्तिकै केशवलाई सम्झन्छन् । केशवले चटपटे मात्र बेचेका छैनन्, त्यही चटपटेको व्यापारबाट सन्धिखर्कमा ४ आना जग्गामा बनेको २ तले घरसमेत जोडेका छन् ।
केशव भन्छन्, ‘गरेपछि के हुँदैन भन्ने कुरा प्रमाणित गरेको छु ।’ सानो व्यवसाय भनेर हेला गर्न नहुने र निरन्तर लागिरहे त्यहीँबाट जीवनलाई सफल बनाउन सकिने बताउँदै चटपटे बेचेरै घरमा रहेका ४ जना परिवारसमेत पालेको उनी बताउँछन् ।
‘५० लाख पर्ने २ तले पक्का घर बनाएको छु । मेरो अहिलेसम्मको आम्दानीको स्रोत भनेकै त्यही चटपटे बेचेर आउने रकम नै हो । दैनिक २ हजारदेखि ४ हजारको व्यापार गरेको छु ।’ नाफा पनि खर्च कटाएर १५ सय, २ हजार हुने उनी बताउँछन् ।
केशवलाई चटपटे व्यापारको सुरुवाती दिनमा यसबाट आम्दानी गरेर घर जग्गा जोड्छु भन्ने विश्वास लागेको थिएन तर निरन्तर रूपमा लगनशील भएर लागिपरे चटपटे व्यापार जस्तो सानो व्यवसाय गर्दा पनि सफलता हात पर्ने अनुभव उनले लिए । उनी सामाजिक संजाल टिकटक र फेसवुकमा समेत भाइरल छन् ।
केशवले मध्यान्हसँग भने, ‘सँगै पढेका साथी पैसा कमाउनकै लागि घर परिवारबाट टाढा भएर वर्षौं अर्काको मुलुकमा पसिना बगाउँदै छन् तर म परिवारकै साथमा रहेर सानै पेसा गरेर पनि सन्तुष्ट छु । विदेशमा वर्षौंदेखि बस्ने साथीभाइले पनि त्यही घर जग्गा जोडे, मैले पनि पानीपुरी र चटपटे व्यवसायको आम्दानीले थोरै भए पनि घर जग्गा जोडेको छु ।’
सन्धिखर्क चोकमा ठेला लिएर बस्ने गरेका केशवको ठेलामा हेर्दा खास सामग्री केही देखिँदैन । सामान्य भुजा, चना, भुजिया, मटर, भटमास, मसला, नुन, खोर्सानी, टमाटर, कागतीलगायतका सामग्रीलाई नै मिसाएर चटपटे बनाएर अर्घाखाँचीका बासिन्दालाई चटक्क मुख मिठ्याउने पिरो चटपटे बनाएर सेवा दिन्छन् उनी ।
त्यसो त चोकमा ठेला लिएर चटपटे बेच्नेको संख्या कम छैन । हँसिला र मिजासिला केशवले चटपटेका पारखीहरू लोभ्याउने चटपटे बनाउने भएकैले उनकोमा चटपटे खान सधैं आउने गरेको पाणिनि गाउँपालिका– १ का नारायण पोख्रेलले बताए । पोख्रेलले भने, ‘केशव भाइको चटपटेमा सबै सामग्री सन्तुलन मिलाएर हाल्ने हुँदा चट्ट परेको चटपटे बनाउने भएकैले उनकोमा बढी भीड लाग्ने गरेको हो ।’
दैनिक ७०० को सामान हाल्दा १ हजार ५०० देखि झन्डै ३ हजारसम्म आम्दानी गर्ने गरेका उनीलाई पछिल्लो समय सबैथोकको महँगी बढ्दै गएकाले अहिले पहिलाको जस्तो चटपटेमा फाइदा नहुने गरेको मुखियाले बताए ।
‘चटपटेमा पहिला जस्तो नाफा छैन । अहिले रोजीरोटी मात्रै बस्ने गरेको छ तर पनि व्यवसाय निरन्तर रूपमा गर्दै आएको छु’, केशव भन्छन् ।
उनको परिवारलाई गाउँघरमा ‘चटपटेको परिवार’ भनेर चिनिन्छ । केशवकी आमा पनि चटपटे बेच्दै आएकी थिइन् । अहिले भने व्यापार छाडेकी छन् ।