
चितवन : चितवन माडी नगरपालिका–३ बसन्तपुरस्थित बघौंडा अस्पतालमा सुगर, प्रेसर र दमका औषधि सकिँदा बिरामीहरू खाली हात फर्कनुपर्ने अवस्था बनेको छ । अस्पतालले आगामी दुई महिनासम्म औषधि अभाव रहन सक्ने भन्दै बिरामीहरूलाई औषधि उपलब्ध भएको सुनिश्चित गरेर मात्र टिकट काट्न आग्रह गरेको छ ।
अस्पतालका अनुसार मधुमेहका बिरामीले नियमित सेवन गर्नुपर्ने मेटफर्मिन र ग्लिमिपिराइड मिश्रित औषधि तथा उच्च रक्तचाप र मुटुका बिरामीले प्रयोग गर्ने टेल्मिसार्टन र हाईड्रोक्लोरथायाजाइड मिश्रित औषधिसहित स्वास्थ्य बीमाबाट निःशुल्क वितरण हुने धेरै औषधिको अभाव देखिएको छ ।
औषधि अभावका कारण सुगर, प्रेसर र दमका बिरामीहरूले स्वास्थ्य बीमाबाट पाउने औषधि बाहिरका औषधि पसलबाट महँगो मूल्यमा खरिद गर्नुपर्ने बाध्यता भएको छ । अस्पतालमा सर्जिकल सामग्री र प्रयोगशाला सामग्री भने हाल पर्याप्त रहेको जनाइएको छ ।
स्वास्थ्य बीमा बोर्डबाट २०८१ साल कात्तिक महिनादेखि रकम नआएपछि अस्पताल गम्भीर आर्थिक संकटमा परेको अस्पतालले जनाएको छ । गत आर्थिक वर्षको मात्र करिब ३ करोड ३० लाख रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको अस्पतालका सूचना अधिकारी टंक बसेलले जानकारी दिए ।
आर्थिक कठिनाइबीच पनि अस्पतालले औषधि खरिद प्रक्रिया अघि बढाइसकेको र यसका लागि माडी नगरपालिका स्वास्थ्य शाखा तथा प्रदेश जनस्वास्थ्य कार्यालयसँग सहयोगको आग्रह गरिएको बसेलले बताए ।
गत आर्थिक वर्ष (२०७९/८०) मा टेन्डरमार्फत खरिद गरिएका औषधिको पूरा भुक्तानी गर्न नसकेको अस्पतालले स्पष्ट पारेको छ । बिरामीहरूले अनावश्यक दुःख नपाउन् भन्ने उद्देश्यले सूचना जारी गरिएको अस्पतालले जनाएको छ ।