२०८२ कार्तिक १३ गते बिहिवार / Oct 30 , 2025 , Thursday
२०८२ कार्तिक १३ गते बिहिवार
Ads

सहज र छिटोछरितो सेवा प्रवाह गर्ने प्रमुख प्रशासकीय अधिकृत खनालको प्रतिबद्धता

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ कार्तिक १२ गते २१:३०
सहज र छिटोछरितो सेवा प्रवाह गर्ने प्रमुख प्रशासकीय अधिकृत खनालको प्रतिबद्धता

सन्धिखर्क : सन्धिखर्क नगरपालिकामा नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृतका रूपमा हाजिर भएका नेपाल सरकारका युवा उपसचिव प्रमोद खनाललाई बुधबार भव्य स्वागत गरिएको छ ।

२०७५ सालदेखि निजामती सेवामा प्रवेश गरेका खनालले शाखा अधिकृतका रूपमा रुपन्देही, कपिलवस्तुका विभिन्न नगरपालिका तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न मन्त्रालय, विभाग र कार्यालयहरूमा कार्य अनुभव हासिल गरेका अनुभवी प्रशासक हुन् । 

सात वर्षभित्रै खुला प्रतिस्पर्धाबाट उपसचिवमा पदोन्नति भइ खनाल सन्धिखर्कमा पदस्थापन भएका हुन् । 

स्वागत समारोहमा सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृत खनाललाई बधाई दिँदै नागरिकका अपेक्षाहरू बुझी सीमित स्रोत साधनकाबीच असिमित आवश्यकताहरू पूरा गर्नुपर्ने जिम्मेवारी रहेको उल्लेख गरे । 

उनले राष्ट्रसेवक कर्मचारीहरूले सरल, सहज, छिटोछरितो र पारदर्शी सेवा प्रवाहमा महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए ।

नगरप्रमुख श्रेष्ठले भने, ‘युवा जोश र जागरका साथ अन्य ठाउँमा काम गरेको र विदेशमा अध्ययनको अनुभवलाई उपयोग गर्दै अघि बढ्नुहुनेछ भन्ने विश्वास लिएको छु । सन्धिखर्क नगरपालिका देशकै उत्कृष्ट नगरपालिकामध्ये पर्छ, हामीलाई सधैं सबैले हेर्ने र सोध्ने गर्दछन्। नागरिकलाई कुनै पनि बहानामा दुःख दिने, पैसा लिने, समयमै काम नगर्ने कार्य सह्य नहुनेछ । यस्तो गुनासो आए चौबीस घण्टाभित्र कानुन बमोजिम कारबाही हुनेछ ।’

श्रेष्ठले थपे, ‘जनतालाई मुस्कानसहित सेवा प्रवाह गर्न सबै कर्मचारी र जनप्रतिनिधिहरू एकजुट हुनुपर्छ। बसाइँसराइ र विदेश पलायन रोक्न स्थानीय सरकारले अग्रसर हुनुपर्ने समय आएको छ । आर्थिक विकास र रोजगारीका कार्यक्रम अघि बढाउँदै सन्धिखर्कलाई समृद्ध नगर बनाउन सबै पक्ष एक भएर लाग्नुपर्छ ।’

नगरउपप्रमुख मिष्रा आचार्यले पनि स्वागत गर्दै कर्मचारी र जनप्रतिनिधिहरूबीच एकता र समन्वयका साथ देखिने गरी काम गर्नुपर्ने बताइन् ।  उनले नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृतबाट कुशल नेतृत्वको अपेक्षा रहेको उल्लेख गरिन् । 

प्रमुख प्रशासकीय अधिकृत खनालले नागरिकका काममा कार्यालय समय बाहेक पनि सहज र छरितो रूपमा काम गर्ने प्रतिबद्धता जनाए । उनले भने,‘हामी सबै कर्मचारीले आफ्नो पेशागत जिम्मेवारीका लागि सुत्ने बेलामा पनि कार्यालयको कामबारे सोचेर उर्जा र गतिशीलतासहित सेवा प्रवाह गर्नुपर्छ ।’

खनालले सन्धिखर्क नगरपालिका अन्य पालिकाहरूको तुलनामा भौगोलिक र सामाजिक रूपमा सन्तुलित रहेको जनाउँदै भने,‘हामी कर्मचारीहरूको टिमले जनप्रतिनिधिहरूको टिमसँग सहकार्य गर्दै परिणाममुखी कार्य गर्नुपर्छ। हाम्रो कामले नै नगरपालिकाको सफलता निर्धारण गर्छ । हामीले जागिरकै लागि होइन, जीवनमा गर्व गर्नलायक काम गर्नुपर्छ ।’

स्वागत कार्यक्रममा वरिष्ठ शाखा अधिकृत मञ्जु खनाल, वडा नं. १ का अध्यक्ष माधव श्रेष्ठ, वडा नं. २ का अध्यक्ष एवम् नगरप्रवक्ता मोतिजंग रायमाझी, वडा नं. ५ का अध्यक्ष ऋषभ अधिकारी, वडा नं. ८ का अध्यक्ष हुमप्रसाद बन्जाडे, वडा नं. ९ का अध्यक्ष पदमबहादुर भुसाल, वडा नं. १० का अध्यक्ष मोहनसिंह ठकुरी लगायत जनप्रतिनिधि, प्रशासकीय अधिकृतहरू, कर्मचारी र स्थानीय नागरिकको उपस्थिति रहेको थियो । 

कार्यक्रम नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठको अध्यक्षता, प्रशासक अधिकृत मुक्तिराम खनालको सञ्चालन र वरिष्ठ प्रशासकीय अधिकृत मञ्जु खनालको स्वागत मन्तव्यमा सम्पन्न भएको हो । कार्यक्रमपछि प्रमुख प्रशासकीय अधिकृत खनालले सबै कर्मचारीसँग परिचयात्मक बैठक राखी गुणस्तरीय र मुस्कानसहित सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise