–नरेन्द्रमान श्रेष्ठ
देशमा दशकौंको इतिहास बोकेका राजनीतिक दलहरूले पनि आमनागरिकको प्राथमिक आवश्यकता के हो भन्नेसम्मको हेक्का राखेका पाइन्नँ । यो नेपाली नागरिकहरूका लागि विडम्बनाको विषय हो भन्दा पनि फरक नपर्ला ।
देशका आमनागरिकको प्राथमिक आवश्यकता के हो भन्नेसम्म थाहा नहुनेहरूले सरकार चलाउँदा नै आज अवस्था भद्रगोल छ । न उनीहरूले आमनागरिकको गाँसको विषयलाई ध्यान राख्न सकेका छन्, न त बासको विषयलाई । जनताको स्वास्थ्य, शिक्षा र रोजगारीको विषयमा सरकारलाई कुनै सरोकार छैन ।
आज सक्नेले उपचार गर्ने, नसक्ने मर्ने अवस्था छ । रोजगारीलगायतका विषय राज्यको एजेन्डाभित्र नै पर्दैनन् भन्ने बुझाइ नै एकरूपमा स्थापित गर्न खोजिएको छ ।
जनताको आवश्यकताका विषयमा बेसरोकार बनेको सरकारको प्राथमिकतामा भने भ्यु टावर, धरहरा, केबलकार जस्ता विषय परेका छन् । पुराना त पुराना भइहाले, नयाँ र वैकल्पिक राजनीतिक दल भन्नेहरू पनि पुरानाहरूको नै पद चिन्हमा दौडिरहेका छन् भन्दा पनि फरक नपर्ला । पछिल्लो समय उत्पादन क्षेत्रमा लगानी गर्ने भन्दा पनि अनुत्पादक क्षेत्रमा लगानी गर्ने होड सरकारबाटै चलाइएको छ ।
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृह जिल्ला झापाको दमकमा भव्य कार्यक्रम आयोजना गरी भ्यु टावरको उद्घाटन गरे । उद्घाटन समारोहलाई हेर्दा अब दमकमा व्यापक चहलपहल हुने अनुमान आमको थियो । तर, भ्यु टावर उद्घाटनको दिनदेखि भ्यु टावर आसपास सुनसान छ । कताकता भ्यु टावरले स्वयं प्रधानमन्त्री ओलीलाई गिज्याइरहेको लाग्दै छ ।
यद्यपि, प्रधानमन्त्री ओलीले भने भ्यु टावर निर्माण गरेकामा कहीँ कतै लज्जित अनुभूति गरिरहेका छैनन् । उनले उक्त विषयलाई निकै गर्वको रूपमा प्रचार गरिरहेका छन् ।
यता, काठमाडौंको सुन्धारामा पनि ‘धरहरा’ भनेर निर्माण गरेको ‘सेतो टावर’को अवस्था उस्तै छ । राज्यको अर्बौं लगानी भएको सेतो टावर कसरी चलाउने भन्ने चिन्ता पैदा भएको छ । झापाको भ्यु टावर होस् वा काठमाडौंको भ्यु टावर निर्माणमा ठूलो लगानी छ । यद्यपि, यो होइन कि यस्ता टावर २ ठाउँमा मात्र छन् ।
यस्ता टावर अहिले देशैभर छन् । झन्डै पछिल्लो १ दशकको बीचमा सरकारले यस्ता टावर देशैभर बनाएको छ, जसमा अर्बौं खर्च भएको छ तर त्यसले प्रतिफल भने दिन सकिरहेको छैन ।
सरकारले यसरी भ्यु टावरको नाममा लगानी बढाइरहँदा निजी क्षेत्रका लगानी पनि करिब यसैगरी अनुत्पादक क्षेत्रमा वृद्धि भइरहेको छ । सरकार भ्यु टावरको खेतीमा लागिरहँदा निजी क्षेत्र पनि यी र यस्तै परियोजनामा केन्द्रित भएको छ ।
अहिले निजी क्षेत्रले देशैभर केवलकारको बाढी ल्याएको छ । डाँडा र मन्दिर देख्यो कि केबलकार बनाइहाल्ने अवस्था छ । रोचक, त्यसमा सुरुमा लगानी निश्चित व्यक्तिको देखिए पनि पछि जनताको लगानी गराइएको छ । जहाँ जनताबाट आईपीओमार्फत लगानी भित्र्याउने गरिएको पाइन्छ । तर, यस्ता केबलकार कति र कहिलेसम्म चल्लान् ? प्रश्न उठेको छ ।
अहिले काठमाडौंको चन्द्रागिरिसहित देशैभर २ दर्जनको हाराहारी केबलकार बन्दै छन् । कहीँ तयार भइसकेका छन् त कहीँ तयार हुँदै छन् । तर, विडम्बना ! सबै परियोजना बिनाव्यावसायिक योजना तयार भइरहेका छन्, जसले मुलुकलाई कता लैजान्छन् ? भन्ने प्रश्न उठिरहेको छ ।
एकातिर देश युवाविहीन हुँदै गइरहेको छ भने अर्कातिर विशेषगरी गाउँहरू रित्तिन थालेका छन्, जसको प्रभाव उत्पादन हुने जग्गाहरू बाँझिन थालेका छन् । यसले उत्पादन प्रणाली र उत्पादन सम्बन्धमा नै ठूलो फेरबदल ल्याएको छ, जसले हाम्रो अर्थतन्त्रको मोडालिटीमा पनि निकै प्रभाव जमाएको छ ।
यसप्रति न कुनै दललाई चासो छ, न त कुनै सरकारलाई । सरकार एकातिर युवालाई विदेश जान प्रोत्साहन गरिरहेको छ भने अर्कातिर गाउँ छाडेर सुगम रोज्न प्रोत्साहन गरिरहेको छ । यो आरोप होइन, सरकारको अवधारणालाई केलाउँदा प्रस्ट हुन सकिने विषय हो ।
अहिले सरकारकै नीतिका कारण पर्यटन उद्योगमा पनि ठूलो समस्या परिरहेको छ । सरकारले युवालाई गाउँ छाड्न प्रोत्साहन गरिरहँदा गाउँसँग जोडिएको पर्यटन हराउने अवस्था बनेको छ । विगतमा जसरी गाउँतर्फ आकर्षित हुँदै विदेशी पर्यटक आउने अवस्था थियो, त्यो क्रमशः हराएको छ ।
यसले गाउँको अर्थतन्त्रलाई नराम्रोसँग प्रभावित बनाएको छ । जसरी विगतमा गाउँमै युवाहरू स्वरोजगार हुन्थे, आजभोलि त्यसको संरचना बदलिँदा युवाहरू पनि विस्थापित हुने अवस्था बनेको छ ।
अर्कातर्फ, हाम्रो शिक्षा पनि व्यावहारिक छैन । व्यावहारिक शिक्षा लिन खोज्ने विद्यार्थीलाई सरकारले विदेश जान प्रोत्साहन गरिरहेको छ । अहिले व्यापार घाटाको ठूलो हिस्सा वैदेशिक शिक्षा क्षेत्र बनिरहेको छ । आज प्लस टु नसक्दै युवाहरू कसरी विदेश जाने भन्नेमा नै छन् । यसले हाम्रो शिक्षा क्षेत्र क्रमशः धराशायी बन्दै गइरहेको देखाउँछ ।
यद्यपि, उल्लेखित अवस्थाप्रति न राजनीतिक दलहरूलाई चिन्ता छ, न त नेताहरूलाई । जिम्मेवारी लिएको सरकारको अवस्था पनि लाजलाग्दो छ । सत्तामा बस्नेहरू कसरी सत्तामा बसिरहने भन्ने चिन्तामा छन् भने सत्ताबाहिर पुगेका कसरी सत्तामा पुग्ने भन्ने चिन्तामा देखिन्छन् ।
सत्ताको खेलले नेतृत्वले जनताका एजेन्डा बिर्सिएका छन् । सरकार र नेताहरूले ‘आफू भलो त जगत् भलो’ भन्ने भनाइलाई चरितार्थ गरिरहेका छन् भन्दा पनि फरक नपर्ला । सँगै, पुराना भनिएका राजनीतिक दलहरू मात्र नभई आम नागरिकहरूले विश्वास गरेका नयाँ राजनीतिक दलका नेताहरू पनि आशातीत नहुनु अर्को विडम्बनाको विषय हो ।
आज पुराना एकपछि अर्को काण्डले डामिँदा नयाँ पनि अनुहार देखाउन नसकिने भएका छन् । यसले पनि आमरूपमा मुलुकलाई कता पुर्याइरहेको छ भन्ने समीक्षा हुन सकेको छैन ।
निष्कर्षमा, देश भ्यु टावरको अर्थनीतिले जकडिएको छ, जसले उत्पादन दिँदैन र मुलुकलाई अगाडि पनि लैजाँदैन । यसले मुलुकलाई थप छिट्टै बर्बादीको हालतमा पुर्याउँछ । तर, सरकार र सरकार नेतृत्व यसप्रति जबाफदेही नबन्नु निकै दुःखको कुरा हो । यसबाट कसरी निकास पाउने, प्रश्न उठेको छ ।