अर्घाखाँची : लुम्बिनी प्रदेश सभा सांसद रामजी प्रसाद घिमिरेले जैविक विविधताको संरक्षण विना मानव जीवन सुखी र स्वास्थ नहुने बताएका छन् ।
हाम्रो परम्परागत रैथाने बाली,जडिबुटी, पशुपन्छी, जलीय जीव, परम्परागत परिकार, बनस्पति हराउँदै गएकोले यसको संरक्षण सम्बर्द्धन गर्नु अहिलेको पहिलो काम भएकोले सोही अनुसार काम गर्न उनले आग्रह गरे ।
नेपाल कृषि अनुसन्धान परिषद, राष्ट्रिय कृषि अनुवंशिक स्रोत केन्द्र (जिन बैंक) खुमलटार ललितपुरको आयोजनामा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ ढिकुरा गैरागोठमा तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवसको उपलक्ष्यमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै घिमिरेले हाम्रा जडिबुटीहरू, खाद्य पदार्थहरूलाई विदेशिहरूले आफ्नो उत्पादन भनेर दर्ता गरी स्वामित्व खोस्ने काम भएको बताए ।
उनले भने, ‘यो राज्यको चिन्ताको विषय भएको छ । अब रैथाने सम्पत्ति, जैविक विविधधताको संरक्षण सम्बर्द्धन गरी नेपालीपन जोगाउँदै स्वस्थ्य र सुखी हुने मार्गमा उन्मुख हुन जरूरी छ ।’
कार्यक्रमको विषयमा प्रकाश पार्दै नेपाल कृषि अनुवंशिक स्रोत केन्द्र राष्ट्रिय जीन बैंक (नार्क) प्रमुख डा.बाल कृष्ण जोशीले रैथाने अनुबंशिक श्रोत भनेको जीवन भएको बताउँदै कृषि नीति अनुरूप प्राकृतिक संरक्षण,सम्बद्र्धन र सदुपयोग गर्दै जैविक विविधता जोगाउन सकेमात्र मानव जीवन रहने बताए ।
उनले औषधी, अनाजबाट १५ किसिमका गम्भीर रोग समेत निको पार्न सकिने भएकोले अब कृषि हस्पिटल र कृषि क्लिनिक समेत खोल्न सरकारसँग छलफल अगाडि बढेको बताए ।
कार्यक्रममा आयुर्वेद विज्ञ जडिबुटी संरक्षक धर्मराज पौडेलले २०१४ मा नेपालको जडिबुटी र परम्परागत चिकित्सामा भारतको हक लाग्ने भनि सम्झौता भएको र त्यसकोविरूद्धमा अदालतमा मुद्दा दर्ता गरेको र त्यसको सुनुवाइ अहिलेसम्म नभएको बताए ।
रैथाने बाली त्यस्ता जातसँगै पशुपन्छी, जीवजन्तु, जडिबुटी, रैथाने खाना लगायतका विषयमा संरक्षण, सम्बद्र्धन र अनुसन्धान गर्ने उद्देश्यले राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैंक) स्थापना भएको डा.मुकुन्द भट्टराईले बताए ।