लमजुङ : नेकपा माओवादी केन्द्रका महासचिव तथा पूर्वमन्त्री देवप्रसाद गुरुङले स्वास्थ्य क्षेत्रमा सरकारले लगानी बढाएर अझै गुणस्तरिय सेवा उपलब्ध गराउनुपर्ने बताएका छन् ।
शनिबार लमजुङ अस्पतालले मर्स्याङ्दी गाउँपालिका वडा नं. ३ खुदीमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ती रहेकाले सरकारले यस क्षेत्रमा लगानी बढाएर नागरिकको रक्षा गर्नुपर्नेमा जोड दिए ।
जनताले स्वास्थ्य सेवा पाउनु मौलिक अधिकार रहेकाले जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु तीन वटै सरकारको दायित्व रहेकाले यसतर्फ सरकारको ध्यान केन्द्रित हुन जरुरी रहेको महासचिव गुरुङको भनाइ छ ।
सरकारले गुणस्तरीय स्वास्थ्य सेवा मात्र नभइ पूर्वाधार, दक्ष जनशक्तिको पहुँच बढाउन सरकारले ध्यान दिँदै लगानी गर्नुपर्ने उनको भनाइ छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सबैको ध्यान जान जरुरी रहेको र यसमा हेलचक्राई नगर्न उनले सबैलाई आग्रह गरे । त्यस्तै, जिल्ला अस्पतालले दुरदराजमा रहेका नागरिकको घर दैलोमा पुगेर स्वास्थ्य सेवा दिएको भन्दै प्रसंशा गरे ।
त्यस्तै, नेकपा एमालेका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य जमिन्द्रमान घले, मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङलगायतले स्वास्थ्य क्षेत्रमा सबै नागरिकको पहुँच पुर्याउन सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
त्यस्तै, जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजंग तामाङले अस्पतालले जिल्लाका विभिन्न ठाउँमा यस्ता शिविर गर्दै नागरिकको स्वास्थ्य पहुँच पुर्याउने काम गर्दै आएको बताए । शिविरमा ५०० जनाको विभिन्न स्वास्थ्य उपचार गराएको उनको भनाइ छ ।