स्याङ्जा : स्याङ्जाका किशोरीलाई लक्षित गर्दै २२ माघदेखि २७ गतेसम्म पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने भएको छ । स्याङ्जाका ११ पालिकाका ९३१९ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग गरिने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप लगाइने भएको हो ।
एचपीभी अभियानका लागि सरकारले पहिलो पटक खोप लगाउन लागेको हो ।१० देखि १४ वर्ष उमेरसमूहका किशोरीलाई एचपीभी खोप लगाइने भएको जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाका प्रमुख केशव चापागाईले जानकारी दिए ।
प्रमुख चापागाईले भने, ‘५ नगरपालिकासहित ६ गाउँपालिकामा अध्ययनरत कक्षा ६ देखि १० कक्षाका ९ हजार २८८ जना छात्राहरू र विद्यालय नजाने ३१ जना किशोरीलाई खोप लगाइनेछ ।’
तीमध्ये कक्षा ६ मा अध्ययरत १ हजार ८७७ जना छन् भने कक्षा ७ देखि १० सम्म अध्ययरत छात्राको संख्या ७ हजार ४११ छ । विद्यालय नगएका मध्ये १० वर्ष उमेरका ७ जना र ११ देखि १४ वर्ष उमेरका २४ जना रहेको जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाले जनाएको छ ।
पुतलीबजार नगरपालिका १ हजार ७२०, वालिङ्का १ हजार ९८०, गल्याङका १ हजार १११ जना, चापाकोटका ८९० र भीरकोटका ८३३ जना किशोरीले खोप लगाउने छन् ।
यसैगरी, फेदीखोलाका ४६४, आँधीखोलाका ३९९, हरिनासका ४६१, बिरुवाका ४२६, अर्जुनचौपारीका ४३७ र कालीगण्डकीका ५९८ जना किशोरी छन् । एचपीभी खोप लगाउँदा एचपीभीको सङ्क्रमणबाट हुने मुखको क्यान्सरलाई ७० प्रतिशतले घटाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।