२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

मधेश प्रदेशको विकास र समृद्धिको मुख्य आधार पर्यटन : मुख्यमन्त्री सिंह

ADV
आबिद हुसेन
२०८१ असार १२ गते १७:२२
मधेश प्रदेशको विकास र समृद्धिको मुख्य आधार पर्यटन : मुख्यमन्त्री सिंह

वीरगञ्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले पर्यटन क्षेत्रको विकास गर्न सके मधेश प्रदेशको कायापलट हुने बताएका छन् । त्यसका लागि प्रदेश सरकारले निजी क्षेत्रसँगको सहकार्यमा काम पनि थालिसकेको उनले बताए ।

वीरगञ्जमा बुधबार प्रदेशको उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयले आयोजना गरेको सरकोकारवालासँग अन्तरक्रिया एवम् संवाद कार्यक्रममा मुख्यमन्त्री सिंहले भने, ‘मधेश प्रदेशको विकास र समृद्धिको मुख्य आधार पर्यटन पनि हो । यदि पर्यटन क्षेत्रको विकास गर्न सकियो भने यो प्रदेशको कायापलट गर्न सकिन्छ । यसका लागि निजी क्षेत्रलाई पनि सँगै लिएर प्रदेश सरकारले काम पनि थालिसकेको छ ।’

प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा पर्यटकीय क्षेत्रका पूर्वाधार विकास र प्रचार प्रसारका लागि योजना र कार्यक्रमहरु समावेश गरिसकिएको उनले जानकारी गराए । मधेश प्रदेशमा पर्सा र बारा, रौतहट र सर्लाही, महोत्तरी र धनुषा तथा सिरहा र सप्तरीका पर्यटकीय स्थललाई जोडेर चार वटा पर्यटकीय सर्किट बनाउने काम भइरहेको उनले बताए । मधेश प्रदेशमा घुम्न आउने पर्यटकहरुलाई कम्तीमा पनि तीन दिन बास बसाउन सक्ने गरी पर्यटन क्षेत्रमा प्रदेश सरकारले काम गरिरहेको उनले बताए ।

मुख्यमन्त्री सिंहले भने, ‘अहिलेको सरकार पहिलेको सरकारको जस्तो मोजमस्ती गर्नका लागि बनेको होइन । रातदिन काम गर्नका लागि बनेको हो । मधेश सरकारमाथि विगत ७ वर्षदेखि परेको नकारात्मक धारणालाई मेट्ने गरी अहिलेको सरकारले काम गरिरहेको छ ।’

कार्यक्रममा प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई (समीर)ले विक्रम संवत २०८२ लाई मधेश प्रदेश सरकारले ‘भिजिट मधेश’ वर्षका रुपमा मनाउने घोषणा गरे । ‘भिजिट मधेश’को नारा ‘घुमौं मधेश, बुझौं मधेश’ रहेको उनले जानकारी गरााए । उनले भने, ‘यसका लागि प्रदेश सरकारले अहिलेदेखि नै तयारी थालिलसकेको छ ।’

प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि थुप्रै योजनाहरु समेटिएको पनि उनले जानकारी दिए । मधेश प्रदेशका ६५ वटा पर्यटकीय गन्तव्यको पहिचान गरी त्यहाँ पूर्वाधार विकासका लागि डिपिआर बनाउन बजेटको व्यवस्थापन गरिसकिएको उनले बताए । मधेश प्रदेशको मुख्य पर्यटकीय गन्तव्यस्थल पर्साको ठोरीमा पर्यटन पूर्वाधार विकासका लागि पनि बजेट विनियोजन गरिएको उनले बताए ।

कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका मोहन शर्माले मधेशमा पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र र पर्यटन बोर्डबीच सहकार्यको आवश्यकता रहेको औंल्याए । उनले मधेशमा रहेका ऐतिहासिक सम्पदा र पर्यटकीय स्थलहरुको उपयोग गर्न नसकिएको टिप्पणी गरे ।

उनले मधेश प्रदेशको पर्सा राष्ट्रिय निकुञ्ज र बागमती प्रदेशको चितवन राष्ट्रिय निकुञ्जलाई जोडेर थप अर्को पर्यटकीय सर्किट बनाउन सके मधेशमा पर्यटकको संख्या बढाउन सकिने धारणा राखे । उनले बाराको निजगढ अन्र्तराष्ट्रिय विमानस्थल निर्माण नभएसम्म मधेश प्रदेशमा बाह्य पर्यटकको संख्या बढाउन नसकिने पनि तर्क गरे ।

उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका सचिव राजीव पोख्रेलले मधेश प्रदेशमा पर्यटन, धार्मिक र ऐतिहासिक पर्यटकीय गन्तव्यहरु प्रशस्त भएकाले यहाँ पर्यटनको प्रचुर सम्भावना रहेको बताए । उनले सबै मिलेर पर्यटन क्षेत्रको विकास गर्न सके छिमेकी मुलुक भारतबाट मात्रै वर्षमा ५० लाख पर्यटक भित्र्याउन सकिने बताए ।

मन्त्री भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका पूर्वपर्यटन राज्यमन्त्री रहबर अन्सारी, प्रदेश सभा सदस्यहरु जनार्दन सिंह क्षेत्री र श्याम पटेल, मधेश विश्वविद्यालयका उपकुलपति डाक्टर दीपक शाक्य, भारतीय महावाणिज्यदूतावास वीरगञ्जका महावाणिज्यदूत देवी सहाय मीना, भिजिट मधेशका अभियन्ता ओमप्रकाश सर्रााफ, मन्त्रालयका उपसचिव सुशील साहका साथै पर्सा, बारा र रौतहट जिल्लाका विभिन्न पालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी उपरीक्षक, पर्यटन विकास कार्यालयका प्रमुख, होटल तथा पर्यटन व्यवसायी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise