२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

एनपिएलको तयारी पूरा, विजेताले १ करोड ५० लाख पाउने

Nada
२०८३ कार्तिक ८ गते १७:०२
Shares
एनपिएलको तयारी पूरा, विजेताले १ करोड ५० लाख पाउने

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सञ्चालन हुन लागेको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को सम्पूर्ण तयारी पूरा भएको छ ।

ncell

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)बाट आधिकारिक मान्यता प्राप्त यस प्रतियोगिता सुरु हुनु अघिल्लो दिन आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा क्यानले तयारी ९५ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको औपचारिक जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले प्रतियोगिता सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय काम अन्तिम चरणमा पुगेको स्पष्ट पारे । चाडपर्वका कारण केही प्रक्रियागत काममा सामान्य ढिलाइ भएपनि प्रतियोगिता तोकिएकै कार्यतालिकाअनुसार भव्य रूपमा सञ्चालन हुने क्यानको भनाइ छ ।

खड्काकाअनुसार यो प्रतियोगिता आईसीसीबाट आधिकारिक स्वीकृति प्राप्त भएकाले यसको प्रत्यक्ष प्रभाव अन्तर्राष्ट्रिय स्तरमै पर्नेछ ।

एनपिएलको तेस्रो संस्करणबाट क्यानअन्तर्गत ७० देखि ७५ करोड रुपैयाँसम्मको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । क्यानका कोषाध्यक्ष पदम खड्काले एनपिएलको प्रायोजन, टिकट बिक्री तथा अन्य स्रोतबाट क्यानले उक्त परिमाणमा आर्थिक कारोबार गर्ने अनुमान गरिएको जानकारी दिएका हुन् ।

उनकाअनुसार प्रतियोगिताका लागि प्रायोजनबाट मात्रै करिब २० करोड रुपैयाँ प्राप्त हुने अनुमान छ । टिकटिङलगायत अन्य स्रोतबाट हुने आम्दानीसमेत जोड्दा क्यानअन्तर्गतको एनपिएलले ७० देखि ७५ करोड रुपैयाँसम्मको आर्थिक कारोबार गर्ने उनको भनाइ छ । फ्रेन्चाइज टोलीका मालिकहरूले पनि प्रतियोगिताका लागि क्यानले गर्ने खर्चकै हाराहारीमा खर्च गर्ने अनुमान गरिएको खड्काले बताए । यसअनुसार एनपिएलको तेस्रो संस्करणको एक महिनाको अवधिमा समग्र आर्थिक कारोबार करिब डेढ अर्ब रुपैयाँ पुग्ने अनुमान रहेको उनले बताए ।

खड्काले एनपिएलको तेस्रो संस्करणका लागि पुरस्कार राशि पनि बढाइएको जानकारी दिए । उनकाअनुसार प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ८० लाख रुपैयाँ पाउनेछ भने तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्ने उनले बताए । 

पहिलो र दोस्रो संस्करणमा पनि व्यक्तिगत तथा टोलीगत पुरस्कारको व्यवस्था गरिएको उल्लेख गर्दै उनले यसपटक एनपिएल गभर्निङ काउन्सिलको सल्लाह र क्यान अध्यक्षको सहमतिमा पुरस्कार राशि निर्धारण गरिएको बताए ।

क्यानको नेतृत्वले नेपाली क्रिकेटलाई आर्थिक रूपमा सबल बनाउने र संस्थाको कार्यकाललाई उपलब्धिमूलक बनाउने लक्ष्यसहित काम गरिरहेको उनको भनाइ छ । एनपिएलको पहिलो संस्करणदेखि तेस्रो संस्करणसम्म आइपुग्दा प्रतियोगिताले आर्थिक रूपमा उल्लेखनीय प्रगति गरेको उनले बताए । 

एनपिएलको तेस्रो संस्करणले नेपाली क्रिकेटको व्यावसायिक विकासमा थप योगदान पुर्‍याउने अपेक्षा क्यानले गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर