विराटनगर : सरकारले कुष्ठरोग निवारणका लागि निःशुल्क उपचारसहित ठूलो लगानी गरेपनि नयाँ रोगी थपिने क्रम भने घटेको छैन । कोशी प्रदेशमा आर्थिक वर्ष २०८०/८१ मा कुष्ठरोगका ४ सय ११ संक्रमित फेला परेका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार प्रदेशको १२ जिल्लामा नयाँ र पुराना गरी ४ सय ११ कुष्ठरोगका संक्रमित भेटिएका हुन् । जसमध्ये सबैभन्दा बढी झापा जिल्लामा भेटिएका छन् । पुराना बिरामी भने ३ जना रहेका छन् । तीनमध्ये झापामा १ र मोरङमा २ जना भने पुरानै बिरामी दोहोरिएको निर्देशनालयले जनाएको छ ।
७२ औं विश्व कुष्ठरोग दिवसको अवसर पारेर कोशी अस्पताल विराटनगरमा आयोजित एक कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका कुष्ठरोग फोकल पर्सन तुलसीप्रसाद गुरागाईंले सबैभन्दा बढी झापामा एक सय ३५ कुष्ठरोग संक्रमित भेटिएका बताए ।
उनका अनुसार मोरङमा एक सय ३२ जना र सुनसरीमा एक सय २८ जना कुष्ठरोगका संक्रमित भेटिएका छन् ।
उनका अनुसार धनकुटामा ७ जना, उदयपुरमा १२ , पाचथरमा २ जना, इलाममा ४ जना र तेह्रथुममा एक जना कुष्ठरोगका संक्रमित रहेका छन् । गुरागाईंले कोशी प्रदेशका नयाँ संक्रमितमध्ये अंगभंग भएपछि मात्र सम्बन्धित ठाउँमा उपचारका लागि आउने संक्रमितको संख्या ५२ र १२ जना १४ वर्षमुनिका बालबालिका रहेको जानकारी दिए ।
कोशी अस्पतालका छाला तथा यौनरोग विभागका प्रमुख तथा छालारोग बिशेषज्ञ डा.चन्द्रभाल झाले कुष्ठरोगका कारण तत्काल बिरामीको मृत्यु नहुने र छालामा चिलाउने दुख्ने जस्ता समस्या पनि नदेखिँदा बिरामीहरु उपचारका लागि समयमै स्वास्थ्य संस्था नपुग्ने भएकाले यसको उपचारमा थप चुनौती थपिएको बताए । उनले सरकारले पनि यसको कार्यक्रममा त्यति ध्यान नदिएका कारण कुष्ठरोग उपेक्षित बन्दै गएको बताउँदै उनले निवारणका लागि थप जनचेतना आवश्यक परेको बताए ।
हरेक वर्षझैं यो वर्ष पनि जनवरी महिनाको अन्तिम आइतबार कुष्ठरोग सचेतनाका लागि एकबद्ध भइ कुष्ठरोग अन्त्यको कार्यमा सहभागी हौं भन्ने नाराका साथ कुष्ठरोग दिवस मनाइएको छ ।
बिरामीको आत्मविश्वास बढाउन, पूर्ण रुपमा उपचार गरी रोग निर्मूल पार्न, कुष्ठरोगीहरुप्रति समाजमा हुने तिरस्कार तथा सामाजिक कुरीति र अन्धविश्वासलाई हटाएर कुष्ठरोग अन्त्य गर्ने उद्देश्यले हरेक वर्ष जनवारीको अन्तिम आइतबार यो दिवस मनाइने गरिएको छ ।
कुष्ठरोग विभागलाई ५ लाख बराबरको सामग्री
विश्वास परियोजना अन्तर्गत फेरमेड नेपालले कोशी अस्पतालको कुष्ठरोग विभागलाई ५ लाख बराबरको सामग्री हस्तान्तरण गरेको छ ।
७२ औं विश्व कुष्ठरोग दिवसको अवसर पारेर कोशी अस्पतालमा आयोजित कुष्ठरोग सम्बन्धी एक कार्यक्रममा फेरमेड नेपालले उक्त सामग्री अस्पताललाई हस्तान्तरण गरेको हो ।
उक्त सामग्रीमा क्षयरोग र कुष्ठरोग प्रभावित बिरामीहरुको लागि आवश्यक औषधि, चिकित्सा उपकरण, स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक अन्य सामग्रीहरू साथै सेल्फ केयरका सामग्रीहरु रहेका छन् ।
कोशी अस्पतालका पूर्व मेसु तथा छाला तथा यौनरोग विभाग प्रमुख डा.चन्द्रभाल झालाई सामग्री हस्तान्तरण गर्दै फेरमेड नेपालका टिम लिडर डम्बर सिंह गुरुङले कुष्ठरोगको उपचारमा कोशी अस्पतालले उत्कृष्ठ सेवा दिएको कारण सेवालाई थप गुणस्तर र प्रभावकारी बनाउन फेरमेडले सहयोग स्वरुप सामग्री उपलब्ध गराएको बताए ।
उनले अगामी दिनपनि आवश्यक सहयोग गर्न फेरमेड सधैँ तयार रहेको समेत बताए ।
पूव मेसु झाले अस्पतालको कुष्ठरोग विभागका लागि अस्पतालले बजेट नछुट्याएका कारण व्यवस्थित हुन नसेको विभागलाई फेरमेडले उपलब्ध गराएको लजिष्टक तथा उपचार सामग्रीहरुको सहयोगले उपचार सेवा थप प्रभावकारी र गुणस्तरीय सेवा दिन सहयोग पुग्ने बताए ।
‘फेरमेट नेपालको सहयोगमा कुष्ठरोग विभागको ल्याव, औषधी, विभागका फाइलहरु सबै व्यवस्थित बनेको छ,’ डा.झाले भने ‘फेरमेड नेपालको उक्त सहयोग सामग्रीले अस्पतालाई कुष्ठरोग उपचार सेवालाई थप गुणस्तर र प्रभावकारी बन(ाउन सहयोग पुग्ने विश्वास लिएका छौं ।’
कार्यक्रममा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक ज्ञानबहादुर बस्नेत, एनएलआरका पूर्व प्रतिनिनिधि लवी शाक्य, जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य प्रमुख मुलुकचन्द्र राजबंशी लगायतले कुष्ठरोग निवारणका लागि सबै एकबद्ध भइ लाग्नुपर्ने धारणा व्यक्त गरेका थिए भने कार्यक्रममा सहभागी कुष्ठरोग बिरामीहरुले उपचारका क्रममा भोग्नुपरेको कठिनाइका बारेमा आफ्ना अनुभवहरु सुनाएका थिए ।