२०८१ माघ १९ गते शनिवार / Feb 01 , 2025 , Saturday
२०८१ माघ १९ गते शनिवार
Ads

निर्देशनमा जमेका आचार्य

hardik ivf
२०८१ माघ १९ गते ०६:३०
निर्देशनमा जमेका आचार्य

काठमाडौं : अहिलेका सफल निर्देशकमध्येका एक हुन् ऋषिराज आचार्य । सानैदेखि चलचित्र क्षेत्रमै भविष्य बनाउने सोचेर लागिपरेका आचार्य अहिले सफल निर्देशक बन्न सफल भए । सानो छँदा चलचित्र त टाढाको कुरा टेलिभिजनमा समेत राम्रोसँग कुनै कार्यक्रम नहेरेका, तर बजार जाँदा खाजा खानेबेला होटलमा अनि बजारकै अरुको घरमा कहिलेकाहीँ ब्ल्याक एन्ड ह्वाइट टेलिभिजनको अनुहार देखेका आचार्यले कक्षा ४ मा पढ्दा पहिलोपटक चलचित्र भवनमै बसेर पूरा चलचित्र हेर्ने अवसर पाएका थिए ।

सामान्य परिवारमा दाङ जिल्लाको ग्रामीण भेगमा जन्मिएका आचार्य सानै उमेरदेखि हरेक कुरा बुझ्न चाहने र केही देख्यो कि उत्सुकतापूर्वक प्रश्न गर्ने स्वभावका थिए । उनका बुबा जागिरको सिलसिलामा भारत जाने आउने गर्दथे । सोही क्रममा उनकी आमा पनि सँगै लाहुर गएर केही समय बसिन् । त्यहाँ बस्दा उनले हलमा गएर चलचित्र हेरिन् । चलचित्रभित्र अनेक कुराहरू देख्दा उनी खुसीका साथ आश्चर्य परिन् । त्यसपछि नेपाल आएर बस्न थालेपछि उनलाई लाग्यो– ‘छोराछोरीहरूले पनि चलचित्र हेरे भने धेरै कुरा जान्लान्, बुझ्लान् र बाठा होलान् ।’

आमाको सल्लाहअनुसार उनका बुबाले उनलाई घोराही उपमहानगरपालिकास्थित गणेश चित्रालयमा चलचित्र हेराउन लगे । उनले त्यसबेला नेपाली चलचित्र ‘मायाप्रीति’ हेरेका थिए ।

अहिले उक्त चलचित्रबारे सम्झँदा सायद केही त्रिकोणात्मक मायाप्रेमको कथा जस्तो लाग्ने उनी बताउँछन् । तर कक्षा ४ पढ्दाको उनको त्यो बालमानसपटलमा चलचित्र भनेको एक अदभूत क्षमता, अदभूत जादु, एउटा पूरा जिन्दगी अटेको जस्तो लाग्यो । त्यहिबेलादेखि उनको दिमागमा चलचित्र घुमिरह्यो ।

चलचित्रको हिरो बन्छु भनेर कक्षा ८ पढ्दा भागेर काठमाडौं आएको कुरा होस् या पुनः घर फर्किएर एसएलसीपछि काठमाडौं पढ्न आएपछिको कुरा होस्, हर समय उनको दिमागमा चलचित्रको हिरो हुनुपर्छ बाहेक अरु केही आएन । 

प्रविणता प्रमाणपत्र तह अध्ययनको सिलसिलादेखि विधिवतरूपमा यो क्षेत्रमा आफ्नो भविष्य बनाउन कोसिस र समाजशास्त्रमा स्नातकोत्तर गर्दाको समयमा उनलाई विभिन्न क्षेत्रमा वि.सं. २०६८ तिरै मासिक २ लाख रुपैयाँसम्मको जागिरको प्रस्ताव आउँदा पनि उनको मनमा जागिर गरेर बस्छु भन्ने कहिल्यै आएन । बरु आफू सफल कलाकार बन्ने र सफल निर्देशक बन्ने मात्र उनलाई लागिरह्यो । उनको दिमागमा चलिरहन्थ्यो कि आफू चलचित्रकै लागि जन्मेको हुँ ।

काठमाडौं आउँदाको सुरुवाती समयमा गुजाराका लागि केही समय प्राइभेट स्कुलमा पढाउने काम गरेपनि अध्ययन सकाएर करियर सुरु गर्ने बेला उनलाई जागिर खान मन लागेन । उनलाई केबल चलचित्र क्षेत्रमै तल्लीन रहन मन लाग्यो ।

वर्षौ संघर्ष गर्दासम्म सफलता प्राप्त नभएको देख्दा चिनेजानेकाहरूले ‘अब सकिँदैन यो क्षेत्रमा, न कोही आफन्त छ, न त प्रशस्त पैसा छ, अरु नै कामतिर लाग’ भन्दा पनि उनी डग्मगाएनन् । उनी निरन्तर चलचित्र क्षेत्रकै लागि संघर्ष गरिरहे ।

हालसम्म नेपाल टेलिभिजनमा टेलिसिरियल ‘आफन्त’, ‘यात्रा जिन्दगीको’, नेपाल टेलिभिजन प्लसमा ‘सन्जिवनी’, ‘विश्वास’, तराई टेलिभिजनमा ‘ममता’, नेपाल वान टेलिभिजनमा ‘झट्का’लगायत गरेर करिब १ हजार एपिसोड टेलिश्रृंखला निर्देशन गरिसकेका आचार्यले ‘मिस्टेक’, ‘सपना तिम्रो मेरो’, ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’, ‘ड्रीमगर्ल’, ‘द राइज’, ‘चुरिफुरी’, ‘द्रौपदी’ गरी आधा दर्जन बढी ठूलो पर्दाको चलचित्र निर्देशन गरिसके । तीमध्ये अधिकांश चलचित्रले सफलता हासिल गरे । अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरेर बनाइएको चलचित्र ‘द्रौपदी’ अब प्रदर्शनको तयारीमा छ ।  हाल उनी नेपाल सरकार चलचित्र जाँच पास समितिका विज्ञ सदस्य हुन् । 

उनको अभिनयको सुरुवात सन्तोष पन्तको ‘हिजोआजका कुरा’बाट भएको थियो भने निर्देशनको सुरुवात शम्भु प्रधान निर्देशित चलचित्रमा सहायक निर्देशकबाट भएको थियो । तर उनी वास्तविक आफ्नो गुरु आफ्नो आमाबुबालाई मान्छन् । आमाले आफूलाई चलचित्र भनेको राम्रो कुरा हो, चलचित्र  हेर्दा धेरै कुरा जानिन्छ, बुझिन्छ अनि रमाइलो पनि हुन्छ भनेर २४ किलोमिटरको यात्रा तय गरेर चलचित्र हेर्न लगेकै कारण हाल आफू यो अवस्थासम्म आएको आचार्य बताउँछन् ।

उनी भन्छन्, ‘चलचित्र क्षेत्रमै विधिवतरूपमा सुरुवात गरिसकेपछि कतिसँग केही न केही सिकियो होला, कोही औपचारिकरूपमै गुरु हुनुभयो । तर त्यो समयमा त्यति टाढाको बाटो चलचित्र हेराउन पर्छ, राम्रो हुन्छ भनेर नपठाएको भए के थाहा अहिले यहाँ भइँदैन थियो कि ! त्यसैले म जहाँ छु त्यसको श्रेय आमा बुबालाई नै जान्छ । उहाँहरू नै मेरो गुरु हुनुहुन्छ ।’ आचार्यले निर्देशन गरेको पछिल्लो चलचित्र ‘द्रौपदी’ आगामी चैत ८ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

ADVenergy

सम्बन्धित खबर

Advertise