रौतहट : रौतहटको कटहरिया ५ स्थित विवाह मण्डप भवनमा मिटर ब्याज संघर्ष समितिबाट असंतुष्ट पक्षले अर्को नयाँ समिति बनाएका छन् । उनीहरूले 'अनुचित लेनदेन तथा सम्पूर्ण ठगी विरुद्धको महाअभियान' नामक समिति गठन गरेका हुन् ।
शेष अवासको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाभरीको मिटर ब्याजपीडित एवम् बैंक पीडितहरू सहभागी भएका थिए । शनिवार भएको बैठकबाट इद महम्द अंसारीको अध्यक्षतामा नयाँ समिति निर्माण गरिएको हो ।
जसको उपाध्यक्षमा रामनाथ माझी, नगिया देवी, प्रेमदेवी दास, हेमनारायण चौधरी, सचिवमा नागेन्द्र महतो, सह सचिवमा बलराम महतो, गायत्री देवी विन, कोषाध्यक्षमा विरेन्द्र साह सोनार रहेका छन् ।
त्यस्तै सदस्यहरूमा शम्भु साह कानु, हरिनारायण साह तेली, रामएकवाल राय यादव, शेष इब्राहमलगायत छन् । यसअघि अस्थायी कमिटी गठन गरी सञ्चालनमा रहेको समितिले पूर्णता पाएको अनुचित लेनदेन तथा सम्पूर्ण ठगी विरुद्धको महाअभियानका मधेश प्रदेश अध्यक्ष नागेन्द्र यादवले जानकारी गराए ।
पीडितहरूको आवाज उठाउन र बुलन्द गर्नका लागि नयाँ समिति गठन गरिएको यादवले बताए । साहुपीडित र बैंकबाट पीडितहरूको हकहितको लागि समितिले काम गर्ने उनको भनाई छ ।
जिल्लामा आफूहरूले केहीदिन भित्रमा मात्रै १५ जनाको समस्या समाधान गराउन सफल भएको दाबीसमेत उनले गरे । अनुचित लेनदेन तथा सम्पूर्ण ठगी विरुद्धको महाअभियानका नवनियुक्त अध्यक्ष अंसारीले अहिले अलग भएर काम गरिरहको बताए ।
पिडितहरूलाई दुःख दिने मनसाय बनाएपछि नयाँ समिति खोल्ने निष्कर्षमा पुगेको उनले प्रष्ट पारे ।