अर्घाखाँची : अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नम्बर १०, शिखरबार्नीमा २०७३ असार १३ गते शिलान्यास भएको विमानस्थल अहिले भलिबल ग्राउन्डमा परिणत भएको छ ।
बजेट अभावका कारण निर्माण कार्य अलपत्र परेपछि अहिले केटाकेटी खेल्ने, बस्तुभाउ चराउने, बिहान मर्निङ वाकमा जानेहरुका लागि आराम गर्ने र मोटरसाइकल, गाडी सिक्नका लागि महत्वपूर्ण स्थान बन्न पुगेको छ ।
आठ वर्षमा काम गर्दा धावनमार्ग सम्याउने र (कटिङ) को काम मात्रै पूरा भएको अर्घाभगवती विमानस्थलको काम विगतको वर्षदेखि पूर्णविराम लागेपछि स्थानीय चिन्तित बनेका छन् ।
पार्किङ लगायतका संरचना निर्माण र ग्राभेल तथा पिच (कालोपत्रे) को काम बाँकी छ । ६० प्रतिशत काम सम्पन्न भएपनि हाल निर्माण कार्य बन्द रहेको छ ।
यता नेताहरुले भने भाषण गर्दा विमानस्थल निर्माण गर्ने, बजेट हाल्ने भन्दै जनतालाई झुक्काउने गरेको स्थानीय ईश्वरीप्रसाद मरासिनीले बताए ।
विमानस्थल निर्माणमा हालसम्म करिब २१ करोड रुपैयाँ खर्च भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । पहिलो टेन्डरमा पाँच करोड ५० लाख रुपैयाँमा कटिङको काम भएको प्राधिकरणका अधिकारीहरु बताउँछन् ।
दोस्रो टेन्डरमा चार करोड, तेस्रोमा ६ करोड ५० लाख र चौथो टेन्डरमा चार करोड ८० लाख रुपैयाँको काम सो ठाउँमा भएको छ । हाल आठ सय मिटर लम्बाइको धावनमार्ग तयार गरिएको भएपनि बजेट अभावले दुई वर्षदेखि काम ठप्प छ । यस्तै कटिङ गरिएको क्षेत्र र धाबन मार्गपनि जीर्ण हुँदै गएको स्थानीय प्रेमनारायण आचार्यले बताए ।
राष्ट्रिय वनको जग्गामा निर्माण भइरहेको विमानस्थल सम्पन्न गर्न करिब ३० करोड रुपैयाँ खर्च लाग्ने लागत अनुमान गरिएको छ ।
२०७३ सालमा तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले शिलान्यास गरेपनि पछि २०७६ सालमा उनै रायमाझीले दोस्रो पटक शिलान्यास गरी विमानस्थल निर्माणको काम सुरु भएको थियो । वातावरणीय प्रभाव मूल्यांकन तथा विमानस्थलको प्रभावकारिताका विषयलाई लिएर मुद्दा परेपछि काम केही समय रोकिएकाले काम गर्न ढिलाइ भएको हो ।
उक्त मुद्दा छिनोफानो भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु बताउँछन् । अहिले भने सो विमानस्थलमा रकम शून्य भएकोले काम अघि नबढेको र दुई वर्षदेखि आयोजना ठप्प भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक ज्ञानेन्द्र भूलले मध्यान्हलाई जानकारी दिए ।
निर्माणाधीन विमानस्थलको धावनमार्ग सवारी सिक्ने, फोटो खिच्ने र टिकटक बनाउने स्थलको रुपमा बाहेक अन्य कुनै काममा प्रयोग नभएपछि स्थानीयबासीको सपना अपुरै छ ।
स्थानीयहरुले विमानस्थल निर्माणका लागि मुख्यमन्त्री चेतनाराणय आचार्य तथा अन्य नेताहरुलाई बजेट व्यवस्थापनका लागि आग्रह गर्ने गरेपनि विमानस्थल बनाउनेमा कसैको ध्यान पुग्न सकेको छैन । अर्घाखाँचीबाट काठमाडौं–पोखरा जानका लागि भैरहवा पुगेर बल्ल जहाज चढ्नुपर्ने बाध्यता रहेको छ ।