-खिमराज गिरी
वैकल्पिक मिडिया भन्नाले मुख्य धारका मिडिया, जस्तै : प्रिन्ट, रेडियो तथा टेलिभिजनभन्दा फरक धारबाट संचार माध्यममा काम गर्ने मिडिया, जस्तै : सामुदायिक रेडियो, ब्लग तथा पोस्टकार्ड, सोसियल मिडिया प्लेटफर्महरूअन्तर्गत फेसबुक, इन्स्टाग्राम, ट्वीटर, म्यासेन्जर, भाइबर, युट्युबका साथै विगतका शासकहरूका विरुद्धमा संचारित विविध सूचना दिने माध्यम, जस्तै ः पञ्चायतकालमा भूमिगत रूपमा संचालनमा रहेको पत्रिका ‘मुक्ति’ आदिलाई लिन सकिन्छ ।
बैकल्पिक मिडियालाई मुख्य धारका मिडियासँग तुलना गर्ने हो भने मुख्य धारका मिडिया, जो शक्तिशाली संचार प्रतिष्ठानद्वारा आर्थिक रूपमा पनि धेरै नै लगानी गरेर मिडिया हाउसहरूले मिडिया संचालन गरेका हुन्छन् भने वैकल्पिक मिडियाले गैरलाभकारी, निश्चित समुदायमा केन्द्रित रहेर विशेषगरी सामाजिक मुद्दालाई उठाउने प्रयत्न गरेका हुन्छन् ।
यसको उदेश्य भनेको समाजमा दबिएका आवाजहरूलाई स्थान दिने, सामाजिक न्यायको वकालत गर्ने, जस्तै : मानवअधिकार, जातीय मुद्दा, लैंगिक समानता, अल्पसंख्यकको प्रतिनिधित्व गर्नेजस्ता विषयवस्तुहरूमा ध्यान केन्द्रित गर्नु हो ।
त्यसैगरी कुनै पनि महत्त्वपूर्ण विषयमा जनसहभागितामा जोड दिनु नै वैकल्पिक मिडियाको उद्देश्य हो । त्यस्तै, यसले पारदर्शिता तथा स्थान विशेषका समस्या र मुद्दाहरूबारे पहिचान गरी स्थानीय स्तरमा जनचेतना बढाउनमा मद्दत गर्छ । यसले विशेषगरी स्थानीय मुद्दाहरूमा ध्यान दिने गर्छ, जुन मुद्दाहरूवारे सरकार तथा राष्ट्रियस्तरका मिडियाहरूको ध्यान नजान सक्छ ।
यसमा सबभन्दा राम्रो पक्ष भनेको स्वतन्त्रता र पारदर्शिता हो । नयाँ मिडियाको रूपमा उदाएको तथा आजकल वैकल्पिक मिडियाको रूपमा प्रख्यात रहेको अर्को मिडिया हो, युट्युब । यसमा कुनै पनि सामग्री निर्माण गर्दा सामग्रीको लोकतान्त्रीकरणअनुरूप निर्माण गर्न सक्छ । पिछडिएका वर्ग तथा आवाजविहीनहरूको आवाज पनि यसले उजागर गर्न सक्छ ।
यसले मनोरञ्जनका साथै विविध सामग्रीहरू उपलब्ध गराउन सक्छ । विशेषगरी विभिन्न जातजाति, भाषाभाषी, क्षेत्र, वर्ग, समुदाय तथा विविध कारणवश पछाडि परेका समुदायहरूको आवाज युट्युबले उजागर गरिदिन्छ । यसमा कमेन्ट, लाइक र शेयर गरेर अडियन्सबीच पारदर्शी रूपमा हरेक विषयमा छलफल प्रक्रियामा भाग लिने प्रक्रियालाई सुचारु गर्न सकिन्छ । यसका साधारण व्यक्तिले पनि सामग्री सिर्जना गर्न सक्षम हुन्छन् ।
यसरी अनलाइन प्लेटफर्महरू, जस्तै : ब्लग, विभिन्न युट्युब च्यानलहरू तथा अन्य डिजिटल च्यानलहरूले विविध क्षेत्रसँग सम्बन्धित समुदायहरूको मुद्दाहरू उजागर गर्दै आइरहेका छन् । त्यसैगरी सामुदायिक रेडियोहरूलाई पनि वैकल्पिक मिडियाको महत्त्वपूर्ण उपयोगी माध्यमको रूपमा लिन सकिन्छ ।
यसको इतिहासतिर फर्केर हेर्दा सुरुवाती चरणमा अर्थात् १७औं शताब्दीतिर वैकल्पिक मिडियाको रूपमा प्रशासनिक सूचना तथा विविध खबरहरू भित्ता तथा गल्ली र सडकका वालहरूमा टाँसेर राखिन्थ्यो र सर्वसाधारण जनताले त्यसबाट धेरै खवरहरू प्राप्त गर्न सक्ने अवस्था हुन्थ्यो । त्यसैगरी १८औं र १९औं शताब्दीतिर युरोपतिर औद्योगिक क्रान्तिपश्चात् श्रमिकहरूले वैकल्पिक मिडियाको आवश्यकता ठानी श्रमिक पत्रिका ‘द वर्किङ म्यान्स एडभोकेट’ जस्ता पत्रिकाहरू प्रकाशन गर्न थाले ।
त्यसैगरी नेपालमा वैकल्पिक मिडियाको कुरा गर्दा पञ्चायतकालमा प्रतिबन्धित पत्रिका ‘मुक्ति’को चर्चा निकै चल्यो । २०४६ सालको प्रजातन्त्र प्राप्तिपश्चात् सरकारी मिडियामा मात्र भर नपरी जनताको आवाज बुलन्द गर्नकै लागि विभिन्न किसिमका निजी मिडिया हाउसहरू पनि खुल्ने क्रम जारी रह्यो र त्यसमा प्रिन्ट तथा ब्रोडकास्टिङ मिडियाअन्तर्गत विभिन्न दैनिक तथा साप्ताहिक पत्रिका र प्रसारण माध्यामतर्पm निजी रेडियो र टेलिभिजनहरू प्नि संचालन गर्न थालियो ।
तिनीहरूको ठूलो लगानी रह्यो र मेन स्ट्रिम मिडियाको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार संप्रेषण गर्न थाले तर त्यसै क्रममा देशका कुना कन्दरातिरका आवाजविहीनहरूको आवाज बुलन्द गर्नका लागि भने स्थानीय रूपमा नै खोजीनीति गर्नुपर्ने आवश्यकताअनुरूप २०५४ सालमा सामुदायिक रूपमा रेडियो सगरमाथा संचालन हुन थाल्यो ।
यसलाई दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो मान्न सकिन्छ र यसले पर्यावरणीय मुद्दा तथा सामाजिक न्याय र जनचेतनासम्बन्धी कार्यक्रमहरूको रूपरेखा तयार पार्छ । पछि ६० को दशकमा यसले टेलिभिजन कार्यक्रम नै संचालन गर्न थाल्यो ।
यस्तै, नेपालमा संचालित अन्य केही प्रमुख सामुदायिक रेडियोहरूमध्ये बुटवलबाट संचालन हुने रेडियो लुम्बिनी सामुदायिक रेडियो हो र यसले स्थानीय भाषा, संस्कार, संस्कृतिलाई प्रवद्र्धन गर्दै आएको छ । त्यस्तै, गण्डकी सामुदायिक रेडियोले पनि स्थानीय रूपमा समाजमा हरेक क्षेत्रसँग सम्बन्धित सकारात्मक कार्यक्रमहरू संचालन गर्दै आइरहेको पाइन्छ । रेडियो पाल्पा पनि तानसेनबाट संचालन भएको छ र यसले पनि स्थानीय जनसमुदायको आवाज बुलन्द गर्छ ।
यसैगरी सामुदायिक टेलिभिजनको रूपमा गोर्खा, माउन्टेन र अन्नपूर्ण टेलिभिजनले पनि स्थानीय रूपमा समुदायका आवाजहरू उजागर गर्दै आइरहेका पाइन्छ ।
यसरी वैकल्पिक मिडियाको विकासक्रममा विश्व परिवेशलाई नियाल्ने हो भने सन् १९९० को दशक पछाडि इन्टरनेटको आविष्कार भएपश्चात् संचार जगत् डिजिटल युगमा प्रवेश गर्यो । जस्तै : ब्लग, पोडकास्ट, सोसल मिडिया आदिको प्रयोग गरेर मानिसले अनलाइन तथा नागरिक पत्रकारिताको अभ्यास गर्न थाले र कुनै पनि ठाउँमा घटेका घटनाहरू आधुनिक किसिमका डिजिटल मोबाइलको प्रयोगबाट तुरुन्तै सन्देश राखी सोसल मिडियामा दिन सक्ने वातावरण बन्यो ।
यसको महत्त्व : वैकल्पिक मिडियाको महत्त्वलाई हेर्ने हो भने यसले जनताको वास्तविक आवश्यकता र समस्यालाई प्राथमिकतामा राख्छ, जुन कि राष्ट्रियस्तरका मिडियाले हेर्ने समय दिन नसकेको स्थानीयस्तरका विविध आवाजहरूलाई यिनले उजागर गर्ने प्रयत्न गर्छन् । त्यसमा स्थानीय संस्कार, संस्कृति, भाषाभाषी तथा परम्परालाई जस्ताको तस्तै पृथक् समुदायलाई पनि जनचेतना अभिवृद्धि गर्ने अभिप्रायले प्रचार तथा प्रसारण गर्छन् ।
यसरी नेपालमा पनि वैकल्पिक मिडियाले राष्ट्रियस्तरका मिडियाले कभर गर्न नसकेका स्थानीय स्तरका मुद्दाहरू सजिलैसँग सतहमा ल्याउने र जसले गर्दा स्थानीय तथा केन्द्रीय सरकारले पनि त्यसको लेखाजोखा गर्ने अवसर मिल्ने भएकाले पनि यसको महत्त्व झल्किएको हो ।
चुनौती तथा नकारात्मक पक्ष
यसका विभिन्न चुनौतीहरू छन्, जस्तै : आर्थिक स्रोतको अभाव सदैव रहनु यसको मुख्य चुनौतीका रूपमा रहेको देखिन्छ किनकि प्रायः वैकल्पिक मिडियामा विज्ञापनमा आधारित आम्दानीमा कमी आउने भएकाले पनि यो समस्या तथा चुनौतीको जड बनेको छ ।
त्यसैगरी ग्रामीण क्षेत्रका लागि अझै पनि प्रायः इन्टरनेटको अभावका कारण डिजिटल डिभाइड हुनु स्वाभाविकै हो । गाउँघर तथा दूरदराजका गाउँबस्तीहरूमा अझै पनि बिजुलीको समस्याका कारण इन्टरनेटको पहुँच सहज छैन र डाटाबाट पनि सम्भव नरहेको देखिन्छ ।
मूलधारका राष्ट्रियस्तरका मिडियाहरूले कुनै पनि समाचार संप्रेषण गर्दा सत्य, तथ्य तथा आधिकारिक प्रमाणित गरेर मात्र गर्छन् किनकि जनता र सरकारका विश्वासिला मेरुदण्डका रूपमा उक्त मिडिया रहेका देखिन्छ ।
तर, अर्कातर्पm अहिले आएका न्यु मिडिया जस्तै सोसल मिडियामा कुनै पनि समाचार संप्रेषण गर्दा मिसइन्फर्मेसन, डिसइन्फर्मेसनतिर ध्यान नदिई बिनाआधार तथ्यहीन समाचारहरू धेरै भ्युज प्राप्त गर्ने तथा भाइरल बन्ने मनशायले संप्रेषण गरेको देखिन्छ । यसले गर्दा सामाजिक क्षेत्रमा त यसको असर नकारात्मक रूपमा प्रस्फुटित हुन्छ नै, राजनीतिक, धार्मिक, साँस्कृतिक तथा अन्य जनजीविकाको सवालमा पनि सैद्धान्तिक रूपमा एउटा प्रखर बोल्न सक्ने तर व्यवहारमा केही गर्न नसक्ने नेताको पछाडि लागेका युवा जमातको भीड देख्दा लाग्छ, निकट भविष्यमा नै कतै यो देशको अवस्था पनि नाजुक स्थितिमा र लैलै बरिलैको कथामा आधारित हुने त होइन ?
यसलाई जे पनि बोल्न र लेख्न पाइने नेपालको संविधान, २०७२ को धारा १७ मा उल्लेखित वाक् तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोगको नाममा लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्रको रूपमा परिभाषित गर्दै गर्दा कतै कुनै निश्चित व्यक्तिको आस्था र विश्वासको भरमा दौडिने भीडले गर्दा भविष्यमा कार्यपालिका, ब्यवस्थापिका तथा न्यायपालिकामा समेत असर पुर्यायो भने त्यसको जिम्मेवार को त ?