अर्घाखाँची : मानिसका लागि स्वास्थ्य जीवनको महत्वपूर्ण सवाल हो । मानिसले जुनसुकै कुरामा सम्झौता गर्ला तर आफ्नो स्वास्थ्य र रोगसँग कहिल्यै सम्झौता गर्दैन । किनभने उसलाई सबैभन्दा बढी चिन्ता आफ्नो स्वास्थ्य हो । प्रायः सबै मानिसले भरपर्दो डाक्टर र विश्वासिलो अस्पतालको खोजी गर्ने गदर्छन् । आम नागरिक स्वास्थ्यको गुणस्तरीयताको खोजीमा लागेका हुन्छन् । त्यसैमध्ये अर्घाखाँची जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाएका डाक्टर हुन् अशोक शाह ।
डाक्टर शाह अर्घाखाँचीका धेरै नागरिकहरुका सफल, असल, अनुभवी र सहज डाक्टरको रूपमा परिचित छन् । २०४७ साल चैत्र ७ गते सप्तरी जिल्लामा जन्मिएका शाह सानैदेखि लगनशील, अनुशासित, सिर्जनशील र पढाइमा उत्कृष्ट विद्यार्थी थिए । स्थानीय गाउँको केशव स्मारक मावि टिकुलियाबाट माध्यमिक तहको शिक्षा २०६३ सालमा उत्तीर्ण गरी काठमाडौंको पिनाकल कलेजबाट साइन्स विषयमा कक्षा १२ उत्तीर्ण गरेका उनी बंगलादेशबाट मेडिकल विषय अध्ययन गरी सानै उमेरमा डाक्टर बन्न सफल भएका हुन् ।
२०७९ सालमा एमबीबीएस पास गरेसँगै अर्घाखाँची अस्पतालमा सेवाका लागि आएका शाह छोटो समयमै अर्घाखाँची, गुल्मी र प्यूठानका बिरामीबीच विश्वास जित्न सफल एमडिजिपी डाक्टर बनेका छन् । ३५ वर्षीय डाक्टर शाह बिरामीसँग निकै मिठो व्यवहार गर्छन् । उनी बिरामीसँग लामो समय कुराकानी गर्दै समस्या र अवस्था राम्ररी बुझ्छन् । आफूलाई विश्वास नलागेसम्म लामो छलफल गरेर मात्र औषधि लेख्ने गरेका कारण धेरै बिरामीले उनलाई मन पराएका छन् ।
उपचारका क्रममा बिरामीले आफ्नोपनको अनुभूति गर्ने भएकाले डाक्टर शाह धेरै बिरामीको रोजाइँमा परेका छन् । साना, ठूलासम्मका रोग उपचारमा सफल भएका शाह अहिले जिल्ला अस्पताल छोडेर सन्धिखर्क पोलिक्लिनिकमा सेवा दिइरहेका छन् । तर बिरामीले उनलाई उतिकै खोजी गरेर भेट्न आउने गरेका छन् ।
उनको उपचार सेवाप्रति सन्तुष्ट हुँदै पाणिनी घर बताउने कल्पना गौतम भन्छिन्, ‘म लामो समयदेखि बिरामी थिएँ । धेरै औषधि खाएँ, धेरै ठाउँ गएँ तर निको भएन । डाक्टर अशोकलाई देखाएपछि अहिले मलाई सन्चो भएको छ ।’ बिहानदेखि बेलुकासम्म बिरामीको उपचारमा व्यस्त देखिने शाहलाई भेट्न प्रायः बिरामीहरूको लामै लाइन लाग्ने गरेको पाइन्छ ।
उनको आफ्नै किसिमको व्यवहार छ । बोलीमा आफ्नोपन छ । जहाँ काम गरिन्छ त्यहाँ जिम्मेवारीपूर्वक काम गर्नुपर्छ भन्ने मान्यता बोकेका शाह सधैँ बिरामीप्रति उत्तरदायी र जवाफदेही देखिन्छन् । स्वास्थ्य सेवा प्रवाहका क्रममा समस्या देखिएमा आफ्नो टिमसँग सल्लाह गरेर मात्र उपचार अघि बढाउने उनको बानी छ । गरिब–दुखीदेखि पहुँचवालासम्म सबैलाई समान व्यवहार गर्ने शाह बिरामीलाई परिवारका सदस्यसरह मानी उपचार गर्छन् ।
छात्रवृत्ति र मेहनतका कारण आफु डाक्टर बन्न सफल भएकोमा उनी खुशी छन् । उनी भन्छन्, ‘म बिरामीको सेवक हुँ, सधैँ सेवा गर्न पाइरहुँ । उपचारका क्रममा कहिलेकाहीँ जटिल समस्या आउन सक्छ । यहाँको प्रविधीले सम्भव नभएमा बाहिर पठाउनुपर्छ, तर म बिरामीलाई सहयोग गर्न कहिल्यै पछि पर्दिन ।’
उनले जीवनमा प्रेरणादायी व्यक्तित्वको रूपमा कृष्णप्रसाद पंडितलाई र सम्झनामा रहने बिरामीको रूपमा टपेन्द्र टण्डनलाई लिएका छन् ।
शाह भन्छन्,‘बिरामीका लागि अस्पताल मन्दिर हो, डाक्टर भगवान हुन् । त्यसैले सबै डाक्टर र स्वास्थ्यकर्मी बिरामी सेवामा समर्पित हुन आवश्यक छ ।’