२०८३ असोज २४ गते शनिवार / Oct 10 , 2026 , Saturday
२०८३ असोज २४ गते शनिवार

भिडिसेफ नेपाल कालीकोटको सामाजिक लेखापरीक्षण सम्पन्न

Nada
कमल कुमाल
२०८२ भदौ २२ गते २०:५२
Shares
भिडिसेफ नेपाल कालीकोटको सामाजिक लेखापरीक्षण सम्पन्न

कालीकोट : ग्रामीण विकास तथा पर्यावरण संरक्षण मञ्च (भिडिसेफ) नेपाल, कालीकोटले आ.व. २०८१/८२ को सामाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न गरेको छ । ‘सुशासन, पारदर्शिता र जवाफदेहीता भिडिसेफको प्रतिबद्धता’ भन्ने मूल नारासहित सम्पन्न कार्यक्रममा संस्थाले विगतका वर्षमा गरेका गतिविधि, खर्च तथा उपलब्धि सार्वजनिक गरेको हो । 

ncell

भिडिसेफ नेपाल कालीकोटकी अध्यक्ष कल्पना रावल बोगटीको सभाअध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भिडिसेफ नेपालका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेसका नेता मिनबहादुर बोगटी, शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्द्र आचार्य, प्रहरी प्रमुख डिएसपी टेकबहादुर रावत, अनुसन्धान अधिकृत ठाकुर केसी, सामाजिक विकास कार्यालय कालीकोटका प्रमुख अविराज शाही, गैर महासंघ समितिका अध्यक्ष दिलीपकुमार शाही, विभिन्न क्षेत्रका प्रमुख तथा प्रतिनिधि, जिल्लामा क्रियाशील पत्रकारलगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रममा भिडिसेफ नेपाल कालीकोटका कार्यक्रम व्यवस्थापक राजेन्द्र सहकारीले सामाजिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्दै भिडिसेफ नेपाल कालिकोटले स्थानीय सरकारसँग सहकार्य गर्दै बालबालिका, किशोर–किशोरी र समुदायमैत्री कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए । उनले बालअधिकार संरक्षण, बालविवाह रोकथाम, किशोरी स्वास्थ्य सचेतना र वातावरण संरक्षणजस्ता क्षेत्रमा प्रभावकारी रूपमा काम भइरहेको बताए ।

अध्यक्ष रावलले संस्थाले विगतमा गरेका कामहरू पारदर्शिता र जवाफदेहीतासहित प्रस्तुत गरिएको उल्लेख गरिन् । आगामी दिनमा अझै बलियो योजनासहित अघि बढ्दै बालबालिका र किशोर–किशोरीको अधिकार र भविष्य सुरक्षित बनाउन योगदान दिने मुख्य लक्ष्य रहेको उनको भनाइ छ ।  

कार्यक्रममा सामाजिक लेखापरीक्षण प्रतिवेदनमार्फत वार्षिक बजेट खर्च, गतिविधि तथा उपलब्धिहरूको विस्तृत विवरण सार्वजनिक गरिएको थियो । सहभागी सरोकारवालाले प्रतिवेदन पारदर्शी र प्रभावकारी रहेको उल्लेख गर्दै आगामी दिनका लागि शुभकामना दिएका थिए । 

सहयात्रा तेस्रो परियोजनाले ग्रामीण तथा जोखिममा रहेका बालबालिकाको शिक्षा, संरक्षण, यौन तथा प्रजनन स्वास्थ्य र संकट सामना गर्ने शक्ति तथा मौलिक अधिकारलाई सुनिश्चित गर्दै आएको जानकारी दिइएको थियो । 

यस परियोजनाले सरकारी संरचना र संस्थालाई थप जिम्मेवार र जवाफदेही बनाइ बालअधिकार सुनिश्चिततामा योगदान पुर्‍याइरहेको र बालबालिकालाई हिंसा तथा हानिकारक प्रथाबाट सुरक्षित राख्दै उनीहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई पहिलो प्राथमिकतामा राखेको जनाएको छ । कार्यक्रमको सञ्चालन पत्रकार रत्न कार्कीले गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर