२०८१ चैत २१ गते बिहिवार / Apr 03 , 2025 , Thursday
२०८१ चैत २१ गते बिहिवार
Ads

भविष्य स्वच्छ ऊर्जाको

draupadi film
२०८१ माघ २१ गते ०५:३०
भविष्य स्वच्छ ऊर्जाको

–कृष्ण अधिकारी

आज विश्व सूचना, सञ्चार प्रविधि, पूर्वाधारको क्षेत्रमा मात्र नभएर उपयोगका विभिन्न स्रोतहरूमा पनि आमूल परिवर्तनतर्फ अघि बढिरहेको छ । मानिसको जन्मदेखि मृत्युपर्यन्त नभई नहुने स्रोत ऊर्जा क्षेत्रमा पनि ठूलो रूपान्तरण भएको छ । परम्परागत र खनिज इन्धनले नै ऊर्जाको आधारभूत आवश्यकता परिपूर्तिदेखि विकासमा फड्को मारेको विश्व आज यसबाट सिर्जित वातावरणीय प्रभावका कारण अनेक समस्यासँग जुध्न बाध्य भएको छ ।

यी दुवै ऊर्जा वातावरणीय दृष्टिले मात्र हानिकारक नभई यसको अस्तित्व पनि समाप्त हुने हुँदा विकल्पमा नवीकरणीय वा स्वच्छ ऊर्जाको आवश्यकता महसुस भयो र पछिल्लो केही दशकयता विश्वभर नै यसको विकास र विस्तारमा जोड दिन थालिएको छ । स्वच्छ ऊर्जा स्रोतहरूले परम्परागत जीवाश्म इन्धनहरूको निर्भरता घटाउने र जलवायु परिवर्तनको प्रभावलाई कम गर्न महत्त्वपूर्ण भूमिका खेल्छन् । 

स्वच्छ ऊर्जाले वातावरणीय संरक्षण हुने मात्र नभई दिगो विकास र समृद्ध भविष्य सुनिश्चित गर्ने उपाय पनि हो । वातावरणीय दिगोपनलाई प्राथमिकता दिने आर्थिक प्रणालीको रूपमा हरित अर्थतन्त्रलाई लिने गरिन्छ । हरित अर्थतन्त्रका लागि स्वच्छ ऊर्जाको रूपान्तरण एक प्रमुख आधार हो, जसले प्रदूषण घटाउँदै ऊर्जा आवश्यकतालाई पूरा गर्छ र दिगो विकासका लक्ष्य हासिल गर्न मद्दत गर्छ ।

उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रका लागि स्वच्छ ऊर्जा रूपान्तरणबाट आर्थिक समृद्धि ल्याउन सकिन्छ । खनिज तथा परम्परागत ऊर्जाको प्रयोगले गर्दा नै आज विश्व जलवायु परिवर्तनबाट सिर्जित अनेक समस्याहरूबाट नराम्ररी प्रभावित बनेको छ । यस शताब्दीकै मुख्य चुनौतीको रूपमा रहेको जलवायु परिवर्तनको प्रभावलाई कम गर्न स्वच्छ तथा नवीकरणीय ऊर्जा प्रयोग अपरिहार्य हुन्छ । स्वच्छ ऊर्जाको प्रयोगले वातावरणीय सन्तुलन कायम राख्न मात्र नभई रोजगारी सिर्जना र स्थानीय स्रोतहरूको उपयोग भई दिगो विकासमा सहयोग पुग्छ ।

संयुक्त राष्ट्रसंघले पनि पृथ्वी र पृथ्वीमा बसोबास गर्ने मानव तथा सम्पूर्ण प्राणी जगत्को हित गर्ने स्वच्छ ऊर्जाको न्यायपूर्ण र समावेशी रूपान्तरणका लागि सचेतना जगाउने र सोहीबमोजिमका क्रियाकलापहरू संचालनमा जोड दिएको छ । 

जलवायु परिवर्तनबाट सिर्जित असरलाई न्यूनीकरण गर्नका लागि स्वच्छ ऊर्जा रूपान्तरण अपरिहार्य छ भन्ने तथ्यलाई विश्वले स्वीकार गरी ऊर्जा रूपान्तरणमा जोड दिन थालेका छन् । 

नेपालको अवस्था

नेपाल स्वच्छ तथा नवीकरणीय ऊर्जाको ठूलो सम्भावना रहेको मुलुक भएकाले यसको उपयोगबाट आयातीत इन्धनमा निर्भरता घटाएर ऊर्जा सुरक्षामा वृद्धि गर्न र मुलुकको अर्थतन्त्रलाई नै बलियो बनाउन सकिन्छ । नेपालको हरित अर्थतन्त्रका लागि स्वच्छ ऊर्जाका रूपान्तरणका क्षेत्रहरूमा जलविद्युत्, सौर्य ऊर्जा, बायो ग्यास र जैविक ऊर्जा, वायु ऊर्जा, भू–तापीय ऊर्जा, बायोग्यास जस्ता ऊर्जा स्रोतहरू रहेका छन् ।

परम्परागत ऊर्जा र आयातीत इन्धनमा नै निर्भर रहँदै आएको नेपालमा पछिल्लो केही वर्षयता ऊर्जा रूपान्तरण विविध क्षेत्रमा भइरहेको छ । हाम्रो जस्तो विकासशील देशमा ऊर्जा रूपान्तरणले आर्थिक विकास, ग्रामीण क्षेत्रको विकास र जीवनस्तर सुधारमा महत्त्वपूर्ण भूमिका खेल्छ ।

नेपालमा पानीको स्रोत अत्यधिक भएकाले जलविद्युत् ऊर्जा रूपान्तरणको प्रमुख क्षेत्र हो । सूर्यको किरणलाई सोलार प्यानलमार्फत विद्युत् ऊर्जाको रूपमा रूपान्तरण गरिएको छ । हिजो वाटको रूपमा घरेलु सौर्य प्रणालीको रूपमा उपयोग हुँदै आएको सौर्य ऊर्जा अहिले मेगावाटको रूपमा विस्तार भएको छ । सौर्य ऊर्जालाई मिनी ग्रिडको रूपमा वितरण गर्न थालिएको छ ।

जैविक फोहोरदेखि गाईभैंसीको गोबर, कृषिजन्य फोहोर र जैविक फोहोरलाई बायो ग्यास प्लान्टबाट ग्यास मात्र नगरी विद्युत् ऊर्जामा रूपान्तरण गरिएको छ । हिमाली र पहाडी क्षेत्रमा हावाको शक्तिलाई विद्युत् ऊर्जा उत्पादन गर्ने प्रयासहरू पनि भइरहेका छन् । पेट्रोल, डिजेल जस्ता खनिज इन्धनलाई प्रयोग गरेर सवारी साधन र मेसिनहरू चलाउन यान्त्रिक ऊर्जामा रूपान्तरण गरिन्छ ।

नेपालमा रहेको थर्मल स्प्रिङ (हट स्प्रिङ)हरूलाई भू–तापीय ऊर्जामा रूपान्तरण गर्ने सम्भावना छ ।

नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि ऊर्जा रूपान्तरणमा जोड दिन थालिएको छ । पेरिस सम्झौतामा प्रतिबद्धता जनाएबमोजिम नेपालले सन् २०४५ सम्ममा खुद शून्य उत्सर्जनको लक्ष्य हासिल गर्नका लागि जलविद्युत्बाहेकका नवीकरणीय ऊर्जाको विकास गर्नुपर्ने छ भने सन् २०३० सम्ममा २० प्रतिशत ऊर्जाको खपत नवीकरणीय स्रोतबाट गर्ने आवधिक योजनामा उल्लेख छ । नेपालले दोस्रो राष्ट्रिय निर्धारित योगदान, २०२० को प्रतिवेदनले २०३० सम्ममा ५ हजार मेगावाट क्षमता बराबर नवीकरणीय ऊर्जाबाट विद्युत् उत्पादन गर्ने लक्ष्य तय गरेको छ ।

कोप सम्मेलनहरूमा गरिएको संकल्प प्रस्तावहरूमा समेत नेपालले पेट्रोलियम पदार्थको प्रयोगमा न्यूनीकरण गर्ने तथा नवीकरणीय ऊर्जाको लगानीलाई वृद्धि गर्ने भन्ने प्रतिबद्धता जनाएको छ ।

स्वच्छ ऊर्जा उपयोग गर्न सकेमा नेपालले पेट्रोलियम पदार्थ आयातमा वार्षिक रूपमा खर्च हुने करिब साढे २ खर्ब रुपैयाँ बचत गर्न सक्छ भने परम्परागत ऊर्जामाथिको निर्भरतामा पनि कमी आउँछ । नवीकरणीय ऊर्जाको विस्तार तथा ऊर्जा दक्षताको अवलम्बनमार्फत आधुनिक ऊर्जाको पहुँच वृद्धि गर्ने तथा ऊर्जा सुरक्षा सुनिश्चित हुन सक्छ ।

सरकारले हालै सन् २०३५ सम्ममा जडित क्षमता २८ हजार ५०० मेगावाट र वार्षिक प्रतिव्यक्ति विद्युत् खपत १ हजार ५०० किलोवाट घण्टा (युनिट) पुर्‍याउने लक्ष्यसहित हालै स्वीकृत गरेको ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना ल्याई स्वच्छ ऊर्जालाई उच्च महत्त्व दिएको छ । 

अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसको अवसरमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले हालै आयोजना गरेको उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रका लागि स्वच्छ ऊर्जा रूपान्तरणसम्बन्धी सम्मेलनका अवसरमा पनि उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रको विकासमा सघाउ पुर्‍याउने स्वच्छ ऊर्जा रूपान्तरणलाई तीव्रता दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका थिए । सो अवसरमा नेपालको ऊर्जा रूपान्तरण एवं जलवायु परिवर्तनसँग सम्बन्धित वर्तमान विकास साझेदारी एवं भविष्यको लगानी छनोटका सन्दर्भमा यस क्षेत्रमा भएका सफल आयोजना एवं थालनीका अभ्यासहरूको अनुभव आदानप्रदान भएको थियो ।

यसर्थ, स्वच्छ ऊर्जा प्रवद्र्धन गरेर वातावरण संरक्षणसँगै आर्थिक विकासलाई दिगो बनाउने ठूलो सम्भावना रहेकाले सरकारका हरेक नीति योजना, कार्यक्रमहरू यसतर्फ लक्षित हुन आवश्यक छ ।

ADV

सम्बन्धित खबर

Advertise