-कृष्ण वर्मा
अहिले हामी सबैको बिहानी सामाजिक संजालमा चिने जानेका मात्र १०–१२ जनालाई शुभयात्रा र बधाई तथा शुभकामना दिँदैमा बित्छ । रेमिट्यान्सका लागि अन्य कम कमाइ हुने देशमा जानेहरूको भीडले एयरपोर्ट खचाखच छ । भारतमा र अन्य अवैधानिक रूपले जानेहरूको त इन्तिगिन्ती छैन ।
चोक तथा मोटर बाटो पुराना झिटी गुण्टा बोकेर हिँडेका २–४ गाडीहरूलाई बिदाइ गर्नुपर्ने दैनिकी बनेको छ । शहरका हरेक गल्ली र घरहरूमा कोठा भाडामा खाली भन्ने सूचना देख्न पाइन्छ । कहिलेकाहीँ अत्यास लाग्ने मलामी नपाएको, १–२ जनाले लास कुरेको, उपचार नपाएको समाचार र फोटोको त कुरै नगरौं । माथिका यी सबै गर्ने र देख्ने हाम्रो दैनिकी बनेको छ ।
यही क्रियाकलाप निरन्तर रहने हो भने अब यो गाउँ, शहर र देशमै को बस्ने छन् भन्ने कुराको एउटै उत्तर छ– बूढाबूढी र असहायहरू मात्र । गाउँमा युवा आउन त शिरीष देवकोटाको गीत जस्तै ‘छन त छन् छोरा र छोरी, फर्कंदैनन् बाउ–आमा नमरी’ भएको छ ।
अहिले नै गाउँघर खण्डहर बनेको छ । विकास र निर्माणले तीव्र रूप लिएको छ । बाटो पिच भएका छन्, खानेपानी घरघरमा पुगेको छ, अस्पताल र विद्यालयहरू ठूलाठूला बनेका छन् तर न अस्पतालमा डाक्टर छन्, न त विद्यालयमा विद्यार्थी ।
खेत र बारी बाँझो भएको छ, रूख बिरुवाले घर र बारी ढाकेको छ । गाउँ मान्छेभन्दा बढी बाँदर र जंगली जनावरको कब्जा बनेको छ । विद्यालयमा शिक्षकको विज्ञापन १०औं पटक गर्दा शिक्षक पाइँदैन । अस्पताल लैजाने नौजवानविहीन बनेको छ गाउँ । मान्छे मर्दा मलामी जाने र घर कुर्ने मान्छे छैनन्, अवस्था कहालीलाग्दो बनेको छ । चिन्ता सबैको छ तर चिन्तन कसैको छैन ।
अन्तर्राष्ट्रिय व्यापारिक पत्रिका फोब्र्सले भनेको छ, ‘जब उत्पादन र सेवाको माग हुँदैन, तब व्यापार असफल हुन्छ ।’ यही कुरालाई नेपालको परिप्रेक्ष्यमा गाउँ, शहर र देश खाली भएको अवस्थालाई प्रमाणित गरेको छ । जब युवाहरूलाई यहाँ रोजगारी र केही नयाँ गर्ने वातावरण मिल्दैन, तब हुने भनेकै स्थानन्तरण हो ।
यहाँ प्रचुर मात्रामा रोजगारी र उत्पादनमा मात्र हुने हो भने हाम्रो सफलता युवा पलायन रोक्नमा हुने थियो । तर, हालसम्म यो हुन सकेको छैन । कुनै समयपछि सुरक्षा र सरकारी सेवामा समेत अन्य देशले जस्तै लोटरी फर्म भराउने अवस्था नआउला भन्न सकिन्नँ भने शैक्षिक योग्यता १२ भन्दा माथि हुने छैन ।
हरेकको सोच, गाउँ छाडेर बजार जाने, बजार छाडेर विदेश जानेमा मात्र छ । हाम्रो शिक्षाले पनि त्यही नै सिकाएको छ, समय सापेक्ष हाम्रा पाठ्यक्रमहरू परिमार्जित भएनन् । शिक्षा र स्वास्थ्यमा व्यापार र विभेद भयो । व्यवस्थाहरू बदलिए अवस्थाहरू बदलिएनन् । नेता, नेतृत्व र उच्च पदस्थहरूले मात्र देश खर्लप्पै खाए, खाएर मात्र नभएर गाउँ, समाज र देशका लागि प्रत्युत्पादक बने । हरेक ठूला बडाका सन्तान हेर्ने हो भने सबै विदेश छन् घर र बसाइ भने शहर र बजारमा, त्यही सिको सर्वसाधरणले गर्न थाले ।
हामीले निर्वाचनपछि सधैं नेता र नेतृत्वलाई गाली गरेका हुन्छौं तर निर्वाचनमा भने गाउँ भरिनेगरी तिनै नेतालाई भोट हालेर जिताउँछौं । राजनीति सुधारका लागि धेरै आन्दोलन र घटना पनि भए तर उपलब्धि भने हरेक दिन राज्यको ऋण बढ्ने, तुच्छ शब्दमा एकले अर्कालाई गाली गर्ने, भ्रष्टाचार र अनियमितत(ालाई राजनीतिक नेतृत्वले पक्षपोषण गर्ने, आफ्नो भनाइमा सहमत नहुनेहरूलाई जेलनेल राख्नसमेत पछि नपर्ने, केही गरौं भन्नेहरूलाई राज्यको लम्बेतान प्रक्रियामा अल्झाएर पैसा असुल्ने, उत्पादन सुरु गरे चाहिनेभन्दा बढी कर लगाउने, करको दुरुपयोग गर्नेभन्दा अर्को भएको देखिँदैन । यी र यस्ता अवस्था भएपछि यो देशमा बस्छ को ?
देशलाई भ्रष्टाचार र अनियमितताको पनि धेरै हिस्सा छ, यो अवस्थामा जानका लागि । हाम्रो व्यवस्था र पद्धतिले भने अझै पनि सुशासन र सदाचारको कुरा उठाउन छाडेको छैन । कुनै ठाउँ र स्थान छैन होला, जहाँ भ्रष्टाचार र अनियमितता नहोस् ।
जागिरका लागि सोर्स, कामका लागि सोर्स, व्यापार व्यवसाय सुरु गर्न÷गराउन सोर्स, उपचार पाउन सोर्स, राम्रो विद्यालयमा पढ्न सोर्स, सरुवा हुन सोर्स । अवस्था यस्तो भइसकेको छ कि बिनासोर्स र पैसा यहाँ केही सेवा र सुविधा प्राप्त गर्न सकिँदैन ।
यहाँ त जसले यी सबै गर्न सक्छ, त्यो मात्र बस्न सक्ने अवस्था सिर्जना भइसकेको छ । कसैले त भन्न पनि थालिसके, भ्रष्टाचार र अनियमितता रोकिने हो भने अहिले बसेकाहरू पनि यो देशमा बस्ने छैनन् । मतलब, अनियमितता र भ्रष्टाचार गर्न रमाउनेहरू मात्र यो देशमा बस्छन् भन्ने भाष्य बनिसकेको छ ।
हरेक स्थानीय तहमा १५ शय्याका अस्पताल बने तर त्यहाँ न डाक्टर छन्, न त उपकरण । जिल्लाका हरेक सदरमुकामको जिल्ला अस्पतालमा न सुविधा सम्पन्न भवन छ, न त चिकित्सक र उपकरण छन् । भएका चिकित्सकहरू पनि निजीमा गएर जनताको मन अमिलो हुनेगरी लुटिरहेका छन् ।
बजार हुँदै गाउँ जाने बाटो पिच भयो तर उपभोग गर्नेहरू भने त्यही बाटो हुँदै शहर, बजार हुँदै विदेश पलायन भएका छन् । विकास र व्यवस्थापनको तालमेल नमिल्नु पनि बसाइँसराइको एउटा कारण हो । हाम्रोमा भौतिक पूर्वाधार विकास निर्माण जनताका लागि भन्दा पनि भ्रष्टाचार र अनियमितताका लागि हो भन्दा उपयुक्त हुन्छ । होइन भने यस्तो अवस्थामा हामीले राज्यको पैसा दुरुपयोग किन गरिरहेका छौं ? कि त गाउँको बसाइँसराइ रोकौं कि विकास रोकौं ।
यी सबैको चिन्तन राजनीतिक दल र नेतृत्वले गर्नुपर्ने हो तर उनीहरूलाई आफ्नो पद जोगाउने र राज्यको ढुकुटीमा कालसँग बच्नेभन्दा अर्को कुनै सोच नै छैन । उच्च पदस्थ नेतृत्व र कर्मचारीहरूलाई देशको माया नै छैन । यदि उहाँहरूलाई देशको माया हुने हो भने यो पक्कै पनि रोकिन्छ । तर, त्यो उहाँहरूबाट सम्भवै छैन । हेर्दा र समाचार बनाउँदा भने यो देश स्वर्ग बन्नमा अब धेरै छैन भन्ने देख्न र सुन्न पाइन्छ तर हेर्दा भने धिक्कार लाग्ने भइसकेको छ ।
दक्ष जनशक्तिलाई देशमा बस्ने र काम गर्ने वातावरण बनाउने, भौतिक सुख र सुविधालाई न्युनीकरण गर्ने नैतिक शिक्षा लागू गर्ने, सदाचार र कर्तव्यपरायणलाई नागरिकको कर्तव्य बनाउने, सामाजिक सद्भाव र सहिष्णुतालाई अनिवार्य गराइनु, कानुनी राज्यको महसुस नागरिकले गर्ने बनाउनु, विकास र निर्माणलाई पारदर्शी, गुणस्तरीय र उपयोगी बनाउने, सत्ता र नेतृत्वको मोह त्यागी पुस्ता हस्तान्तरण गर्ने, सरकारी सेवालाई सजिलो, समय सापेक्ष, झन्झटरहित, जबाफदेही र पारदर्शी बनाउने, कर प्रणालीलाई व्यवस्थित, सहज र सजिलो बनाउने, पारिवारिक र नागरिक कर्तव्यलाई अपरिहार्य बनाउनतर्फ लाग्ने हो भने यो अवस्थाबाट छुटकरा पाइने छ होइन भने गाउँघर रित्तिँदै, शहर पतलिँदै र देश युवाविहीन बन्नमा कसैले रोक्न सकिने छैन ।
हामी सबै आ–आफ्नो ठाउँबाट यसमा लाग्नुपर्ने देखिन्छ । देश रित्तो हुँदै छ यसमा हामी सबैको चिन्तन हुनु अनिवार्य छ । बसाइँसराइ र स्थानान्तरण निरन्तर प्रक्रिया भए पनि यसका फ्याक्टरहरूलाई सुधार गर्न सकिए गाउँ रित्तो हुने छैन । वृद्धवृृद्धा, असहाय र जंगली जनावरले गाउँ रुङ्नुपर्ने छैन ।