काठमाडौं : वैदेशिक रोजगार व्यवसायमा लामो समयदेखि थाँती रहेका समस्या समाधानका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्व प्रभावकारी हुनुपर्ने धारणा व्यवसायीहरूले राखेका छन् ।
एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले आइतबार राजधानीमा आयोजना गरेको ‘नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वको भूमिका र संघको विधान संशोधन’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी व्यवसायीहरूले उक्त धारणा राखेका हुन् ।
संगठनका सल्लाहकार सुरजकुमार घुण्डे गुरुङले वैदेशिक रोजगार व्यवसायमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको भूमिकाका विषयमा, संस्थाका महासचिव मधुकर रिजालले नेपालमा वैदेशिक रोजगारको अवस्था, समस्या र समाधान तथा सचिव अनिल बोगटीले संघको विधान संशोधनका विषयमा कार्यपत्र पेस गरेका थिए ।
ती कार्यपत्रमाथि टिप्पणी गर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य तथा वैदेशिक रोजगार फाँटका इन्चार्ज नागेन्द्र चौधरीले वैदेशिक रोजगार व्यवसायलाई सेवा उद्योगको हैसियत प्रदान गर्नुपर्ने बताए । सरकार संचालकले नीतिगत र व्यावहारिक समस्या थोपरिदिँदा व्यवसायीले त्यसलाई जबाफ दिनुपर्ने अवस्था आउनु विडम्बनापूर्ण भन्दै उनले वर्तमान अवस्थामा वैदेशिक रोजगार क्षेत्रलाई सुधार गर्नुको विकल्प नभएको बताए ।
उनले व्यवसायीलाई आर्थिक र चन्दाका स्रोत मान्ने प्रवृत्तिविरुद्ध आफ्नो पार्टीले ठोस निर्णयका आधारमा अघि बढेर भ्रातृ संस्थालाई वैदेशिक रोजगार व्यवसायीसँग चन्दा उठाउन प्रतिबन्ध लगाएको जानकारी दिए ।
संघका अध्यक्ष राजेन्द्र भण्डारीले राम्रो गर्नेलाई हिलो छ्याप्ने काम भएको भन्दै संघको यसअघिको साधारणसभामा कार्यसमितिको कार्यकाल ३ वर्ष बनाउने भन्दा होहल्ला गरेर असफल बनाएको बताए । उनले त्यस प्रकारका प्रवृत्तिले संस्था बलियो नबन्ने र व्यवसायीका समस्या समाधान पनि नहुने बताए ।
अध्यक्ष भण्डारीले सदस्यले तिर्नुपर्ने ७०० रुपैयाँ लेबीले कार्यालय संचालन र कर्मचारीलाई तलब दिन नसक्ने अवस्था भएकाले साधारणसभामा लेबी वृद्धि गर्ने तथा कार्यसमितिमा महिला व्यवसायीको संख्या बढाउन विधानमा समयसापेक्ष परिवर्तन गर्न लागिएको जानकारी दिए ।
यसअघिका २ पटकको चुनावी एजेन्डा बनेको संख्या सय समस्या सधैंका लागि समाधान हुन लागेको भन्दै अध्यक्ष भण्डारीले व्यवसायीलाई बलियो बनाउन संघको व्यवस्थित प्रशासनिक भवन खरिद गर्न लागेकाले कुनै शर्त नराखी सहयोग गर्न आग्रह गरे ।
सेवा शुल्कका विषयमा छलफल भए पनि परिणाम आउन नसकेको भन्दै उनले मलेसिया जस्ता श्रम सम्झौता भएका मुलुकमा सम्झौता कार्यान्वयन र श्रम सम्झौता नभएको देशमा संयन्त्र बनाई कामदारको १ महिनाको तलब बराबरको रकम सेवा शुल्क लिन पाउनेगरी तोक्नुपर्ने विषयमा आईएलओलगायतसँग गरिएको छलफल सकारात्मक रहेकोे जानकारी दिए ।
उनले संघको वर्तमान नेतृत्व सिन्डिकेटका विरुद्ध कडा रूपमा उभिएको भन्दै आगामी नेतृत्व पनि जुनसुकै नाममा हुने सिन्डिकेटविरुद्ध उभिन सक्नेलाई व्यवसायीले छान्नुपर्ने सुझाव राखे ।
वैदेशिक रोजगार व्यवसायी नेवा समाजका अध्यक्ष किसन प्रधानले चुनावी कार्यक्रमसँग जोडेर गरिने दीर्घकालीन सुधारका कार्यक्रम फलदायी हुन नसक्ने भएकाले नयाँ कार्यसमितिलाई राखेर समस्या समाधानका लागि छलफल गरिनुपर्ने धारणा राखे ।
एक दशकयता वैदेशिक रोजगारको नेतृत्वमा पार्टीको ह्वीपअनुसार उम्मेदवार बन्ने प्रवृत्तिले सुधार हुन नसकेको भन्दै अध्यक्ष प्रधानले संघको भवन खरिदका सन्दर्भमा पनि ठूलो र सानो सहयोग तथा नामकरण गर्ने विषयले व्यवसायीमा साना–ठूलाको भावना सिर्जना हुने परिस्थिति बनेको बताए ।
वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका महासचिव कुन्छादोर्जे दिमदोङले चुनाव लक्षित भए पनि राम्रो कार्यक्रम राखेको भन्दै कार्यपत्रमा संस्थागत धारणा पठाउने जानकारी दिए । उनले नेपालका संविधान समाजवाद उन्मुख भने पनि वैदेशिक रोजगार ऐनमा संख्या सय जस्ता विषयमा राखेर जटिलता बढाउने अवस्था रहेकोे बताए ।
उनले विगतमा संख्या सय समस्या समाधानका लागि पहल गर्दा संघको नेतृत्वबाट लाञ्छना लगाइएको र संघमा २१ सदस्यीय कार्यसमिति रहने भए पनि पर्दा पछाडि रहेकोे २२औं व्यक्तिले संघ संचालन गरेको आरोप लगाए । उनले संघको आगामी निर्वाचनलाई व्यवसायीको निर्वाचन गराउनुपर्ने धारणा राखे ।
वैदेशिक रोजगार व्यवसायी तमुधीः समाजका अध्यक्ष तीर्थबहादुर गुरुङले संघको निर्वाचित कार्यसमितिले व्यवसायीले अनुभूति हुनेगरी काम गर्नुपर्ने सुझाव दिए ।
तराई वैदेशिक रोजगार व्यवसायी समाजका उपाध्यक्ष अख्तर हुसेनले चुनावी सन्दर्भमा भए पनि विधानमा संशोधन र ऐन कानुन सुधारको विषय जायज भन्दै संघको निर्वाचन पार्टीगत रूपमा गर्न नहुने बताए । उनले दलहरूले प्रोपोगन्डामा लाग्ने तर वैदेशिक रोजगार व्यवसायी त्यसबाट पृथक् र दलीय परिधिबाहिर रहनुपर्ने बताए ।
छलफलको साझेदार मध्यान्ह राष्ट्रिय दैनिकका सम्पादक मदनकुमार श्रेष्ठले प्रजातन्त्रमा मात्र व्यवसाय फस्टाउने भएकाले प्रजातन्त्रको पहरेदार संचार क्षेत्रलाई सबल बनाउने विषयमा छलफल चलाउन संस्थालाई सुझाव दिए ।
वैदेशिक रोजगार पत्रकार समाजका अध्यक्ष उद्धवराज भट्टराईले २ दशकदेखि एउटै मात्र एजेन्डामा नेपालको वैदेशिक रोजगार केन्द्रित रहेकाले दल निकट संस्थाभन्दा संघले नेतृत्व गरेर सुधारका विषयमा छलफल चलाउनुपर्ने बताए । वैदेशिक रोजगार व्यवसायी तामाङ समाजका निवर्तमान अध्यक्ष मीन तामाङले व्यवसायी दलगत निर्देशनबाट मुक्त रहेर निर्वाचनमा जानुपर्ने सुझाव राखे ।
व्यवसायी राजकिशोर सिंहले मागपत्र प्रमाणीकरण र श्रम स्वीकृतिका समस्या समाधान हुनेगरी वैदेशिक रोजगार ऐन तथा अन्य व्यवस्था संशोधन गरिनुपर्ने सुझाव दिए । आरभ ग्लोबलका राज सिंह भण्डारीले मागपत्र प्रमाणीकरणमा दूतावासले दुःख दिने गरेको भन्दै व्यवसायीहरु बीआरआई मोडलमा जानुपर्ने बताए ।
कार्यक्रमका सभापति संस्थाका अध्यक्ष सन्तकुमार लामाले वैदेशिक रोजगारलाई व्यवस्थित गर्न संघको साधारणसभा सम्मुखमा अन्तरक्रिया राखेको बताए । कार्यक्रमको मध्यान्ह राष्ट्रिय दैनिक मिडिया पार्टनर रहेकोे थियो ।