अर्घाखाँची : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सञ्चार क्षेत्रलाई सकारात्मक ढंगले अगाडि बढ्न आग्रह गरेका छन् ।
राष्ट्रिय टेलिभिजन प्रशारक संघ लुम्बिनी प्रदेशको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण समारोहमा बोल्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकार मिडिया क्षेत्रको दिगो स्थापनाका लागि प्रतिबद्ध रहेको बताए । उनले लुम्बिनी प्रदेशको समृद्धि र विकासका लागि सञ्चार क्षेत्रले सम्भावना पहिचान गर्दै सकारात्मक योगदान दिनुपर्नेमा जोड दिए । ‘मुलुक बनाउन बाहिरबाट कोही आउँदैन, हामी आफैंले बनाउनुपर्छ,’ उनले भने, ‘अब प्रदेश बनाउने जिम्मेवारी हाम्रो हो ।’
मुख्यमन्त्री आचार्यले सरकारले समस्याको समाधानका लागि सुन्न र कार्यान्वयनमा जान तयार रहेको स्पष्ट पारे । साथै, मिडिया संस्थाको संख्या बढेसँगै सरकारले बजेटको आकार पनि बढाउनेतर्फ ध्यान दिएको बताए । ‘राजस्वमा डेढ अर्बले वृद्धि गर्न सकेका छौं । सुरुमा योजना कम थिए, अहिले ती योजना विस्तार भएका छन्,’ उनले उल्लेख गरे ।
उनका अनुसार, प्रदेश सरकारले सञ्चार क्षेत्रमा विगतको तुलनामा बढी बजेट विनियोजन गरेको छ । १२ वटै जिल्लालाई समान दृष्टिकोणका साथ महत्त्व दिइएको र मिडियाको हकहितका लागि वकालत भइरहेको पनि उनले बताए ।
‘सञ्चार समन्वय परिषद्को भूमिका थप प्रभावकारी बनाउन कानुनी सुधारको प्रक्रिया अघि बढाइएको छ,’उनले भने,‘अहिले अर्थ मन्त्रालयमा पुगेको ऐन मन्त्रिपरिषद् हुँदै यही वर्षे अधिवेशनमा सदनमा प्रस्तुत हुनेछ। सञ्चार ऐनमा आवश्यक सुधार यही वर्ष हुन्छ ।’
कार्यक्रममा लुम्बिनी प्रदेश सञ्चार समन्वय परिषद्का अध्यक्ष यमबहादुर गाहा ‘मिलन’ ले सञ्चार क्षेत्रको सुदृढीकरणलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे ।
राष्ट्रिय टेलिभिजन प्रशारक संघका केन्द्रीय उपाध्यक्ष विष्णु भुसालले प्रदेशमा समानुपातिक विज्ञापन वितरणको नीति आवश्यक रहेको बताए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराजप्रसाद पोखरेलले आशा जगाउने खालका कार्यमा सञ्चार क्षेत्र लाग्नुपर्नेमा जोड दिँदै सकारात्मक विषयवस्तुलाई प्राथमिकता दिनुपर्ने बताए ।
लुम्बिनी उद्योग वाणिज्य महासंघका अध्यक्ष कृष्णप्रसाद शर्माले प्रदेशको आर्थिक विकास र सञ्चारको दिगो सञ्चालनका लागि वातावरण निर्माण राज्यको जिम्मेवारी भएको बताए । उनले तथ्य र प्रमाणमा आधारित पत्रकारिता आजको आवश्यकता रहेकोमा जोड दिए ।
उद्योग परिसंघ लुम्बिनीका अध्यक्ष एजाज आलमले मिडियाले निजी क्षेत्रको प्रवद्र्धनमा सहयोग पु¥याउने गरी काम गर्नुपर्ने धारणा राखे ।
चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंकप्रसाद पोखरेलले एकीकृत आवाज र आशावादी दृष्टिकोणसहित निजी क्षेत्रको समृद्धिका लागि सञ्चारको सहयोग अपरिहार्य रहेको बताए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे लगायतले आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रममा राष्ट्रिय टेलिभिजन प्रशारक संघ लुम्बिनीका निवर्तमान अध्यक्ष नरेश केसीको नेतृत्वमा रहेको कार्यसमितिले नवनिर्वाचित अध्यक्ष गोपाल ज्ञवालीको कार्यसमितिलाई पद हस्तान्तरण गरेको थियो ।