-नारायण अर्याल
अहिले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (एनएसी)का आन्तरिक उडानतर्फका सम्पूर्ण जहाज ग्राउन्डेड अवस्थामा छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार अहिले नेपालमा ५४ वटा विमानस्थल हवाई उडानका लागि बनाइएका छन् तर तीमध्ये २८ वटा मात्र संचालनमा छन् । अन्य विमानस्थलले भने जहाज देख्दैनन् ।
खोटाङको लामीडाँडा विमानस्थलले गत वर्ष ४७७ रुपैयाँ मात्र आम्दानी गर्यो । विराटनगर, नेपालगन्ज र धनगढीलाई क्यानले आन्तरिक हब विमानस्थलको रूपमा संचालन गर्दै आएको छ, जहाँबाट अन्य आन्तरिक विमानस्थलमा उडान हुन्छ ।
त्यस्तै, संचालनमा रहेकामध्ये ३ वटै अन्तर्राष्ट्रिय विमानस्थल, विराटनगर, चन्द्रगढी, धनगढी, जनकपुर, नेपालगन्ज, सिमरा र राजविराज विमानस्थलमा रात्रि उडानको समेत सुविधा छ । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मात्र पूर्ण क्षमतामा संचालन हुने गरेको छ ।
पछिल्लो समय निर्माण सम्पन्न भएकामध्ये आन्तरिकतर्फका २० वटा विमानस्थल भने संचालन हुन नै सकेका छैनन् । बागलुङ, रुकुमको चौरजहारी, दार्चुला, ढोरपाटन, गोर्खाको पालुङटार, जिरी, कालीकोट, कमलबजार, काँगेलडाँडा, खिजी चण्डेश्वर, लाङटाङ, लामीडाँडा, महेन्द्रनगर, मनाङ, डोल्पाको मसिनेश्वर, मेघौली, रोल्पा, रुम्जाटार, स्याङ्बोचे र टीकापुर विमानस्थलको अवस्था ठप्प छ । राज्यको अर्बौं रुपैयाँ खर्च गरेर बनाइका झण्डै आधा संख्याका विमानस्थल संचालनमा नआउँदा राज्यको हवाई नीतिमा ठूलो समस्या रहेको अनुमान गर्न सकिन्छ ।
सन् १९६३ देखि हालसम्म नेपालले विभिन्न ४२ वटा देशसँग द्विपक्षीय हवाई उडान सम्झौता गरेको छ, जसमा विभिन्न १५ वटा विमान कम्पनीले २८ वटा विमानमार्फत उडान सेवा प्रदान गर्दै आएका छन् ।
त्यस्तै, आन्तरिक उडानतर्फ ९ वटा विमान कम्पनी र १२ वटा कम्पनीका हेलिकोप्टरले हवाई सेवा प्रदान गर्ने गर्छन् । क्यानको तथ्यांकअनुसार सन् २०२३ मा त्रिभुवन विमानस्थलमा ३१ हजार ४६० बाह्य र ९६ हजार ९८९ आन्तरिक उडान भएका थिए, जसमार्फत आन्तरिकतर्फ ४३ लाख २५ हजार ५६ र बाह्यतर्फ ४३ लाख २९ हजार ४०० यात्रुले सेवा लिएका थिए ।
अध्यागमन विभागका अनुसार सो अवधिमा १० लाख १४ हजार ८८५ जना पर्यटक नेपाल घुम्न आएका थिए । बाह्य उडान गर्ने अन्य व्यक्तिहरू भने नेपाली नै रहेका तथ्यांकको तुलनाले देखाउँछ । सरकारले विदेशी पर्यटक भित्र्याउने विषयमा राखेको संख्यात्मक लक्ष्य तुलनात्मक रूपमा पूरा हुँदै आएको देखिए पनि अर्बौं लगानीमा बनाइएका आन्तरिक विमानस्थलहरू भने उडानविहीन बन्दा राज्यलाई ठूलो घाटा हुन पुगेको छ ।
तर, आन्तरिक विमानस्थलहरू संचालनमा आउन नसक्नुका पछाडि सडक यातायातको विस्तार र जहाजको समस्या रहेको पनि बताउने गरिएको छ । विगतमा सडक नभएको अवस्थामा विमानस्थलहरू संचालन भएकामा सडक संजाल विस्तार भएपछि संचालन हुन नसकेको पनि बताउने गरिएको छ ।
त्यस्तै, अहिले आन्तरिक उडानतर्फका साना जहाजको संख्या पनि कम भएका कारण प्रतिस्पर्धा नहुँदा महँगो हुन गई सेवाग्राहीले हवाई उडान रोज्न छाडेको बताउने गरिएको छ । ती दुवै तर्कहरूमा सापेक्ष सत्य देखिन्छ । साथै, राजनीतिक रूपमा जनमत प्राप्त गर्ने नाउँमा संचालनको सम्भावना नभएको ठाउँमा विमानस्थल निर्माण गर्दा पनि अधिकांश विमानस्थल संचालन नभएको केही विश्लेषकहरूले तर्क गरेका पाइन्छ ।
क्यानका अनुसार अहिले उडान गर्ने ट्वीनअटर जहाजहरू जम्मा ७ वटा छन् । साना जहाज उडान गर्ने विमानस्थलको संख्याको तुलनामा जहाजको संख्या निकै कम हुनुमा निजी क्षेत्रको आकर्षण पनि कम रहेको देखिन्छ । यसका लागि लगानीको वातावरण बनाउन राज्यले नै पहल गर्नुपर्ने हुन्छ ।
तर, संचालन नभएका विमानस्थलको संख्या दर्जन बढी भएको अवस्थामा अझै पनि कतिपय राजनीतिक व्यक्तिहरूले आफ्नो लहडमा नयाँ विमानस्थल थप्ने होडबाजी गरिरहेका पाइन्छ । यस्तो हस्तक्षेप अझै पनि विमानस्थल क्षेत्रमा अगाडि बढ्यो भने राज्यको राजस्व गलत ठाउँमा प्रयोग हुँदै जाने र विमानस्थल क्षेत्र थप बर्बाद हुने देखिन्छ । त्यसैले नेपालको विमानस्थल क्षेत्रलाई व्यवस्थित गर्न छिटोभन्दा छिटो नयाँ गतिशील हवाई नीतिको विकास गर्न जरुरी छ ।