-निमिष झा
भौगोलिक बनोट एवं प्राकृतिक तथा सांस्कृतिक सम्पदाको हिसाबले नेपाल पर्यटन क्षेत्रको अग्रणी देश हो । यहाँको भूबनोट ६० देखि ८ हजार ८०० मिटरसम्मको उचाइमा फैलिएकाले यहाँ प्रत्येक १० किलोमिटरको अन्तरालमा फरक हावापानी पाइन्छ, जसले धेरै पर्यटक आकर्षित हुने गरेको छ ।
भगवान् गौतमबुद्धको जन्मभूमिका रूपमा चिनिने नेपाल विश्वमा सांस्कृतिक धरोहरको रूपमा रहेको छ । करिब १२५ जातजाति बसोबास गर्ने यो देशमा १२३ भाषा बोलिन्छन्, जसका कारण यहाँको जनजीवनमा विविधता पाइन्छ ।
निःसन्देह प्राकृतिक तथा सांस्कृतिक दृष्टिकोणले नेपालमा पर्यटन उद्योगका केही सम्भावना छन् । परन्तु, हालसम्म पनि विश्वसामु राम्ररी चिनाउन नसकेकाले यहाँको पर्यटन उद्योगले ठोस विकास गर्न सकेको छैन ।
नेपालको पर्यटन उद्योग हिमाल र पहाडमा केन्द्रित भएकाले मधेश प्रदेशको प्राथमिकतामा नपरेको हुन सक्छ । भारतसँगको खुला सिमाना र भौगोलिक सुगमता मधेशमा पर्यटन समृद्धिको आधार बन्न सक्छ । हालसम्म पनि संघ तथा प्रदेश दुवै सरकारले मधेशको पर्यटन विकासलाई प्राथमिकतामा राखेको छैन ।
मधेश प्रदेशका ८ वटै जिल्ला छिमेकी राष्ट्र भारतको धेरै जनसंख्या भएको विहार राज्यसँग जोडिएका छन् । भारतकै उत्तर प्रदेश र पश्चिम बंगाल राज्यसँग पनि सहज आवागमन भएकाले यी भारतीय राज्य नेपालको पर्यटन बजारका सम्भावना पनि हुन् । भविष्यमा यसको लाभ मधेशले भारतीय पर्यटकबाट प्रत्यक्ष लिन सक्छ ।
मधेशमा अधिकांश पर्यटक भारतबाट भित्रिन्छन् । हालसम्म पनि उनीहरूको आकर्षणका लागि सिमानामा राम्रो व्यवस्था गरिएको छैन । नेपालमा आएर बढी खर्च गर्नेमा भारतीय पर्यटक पहिलो स्थानमा पर्छन् । त्यसैले उनीहरूबाट बढी फाइदा लिन छुट्टै पर्यटन नीति आवश्यक छ ।
वीरगन्जको शंकराचार्य द्वार, गढीमाई, घण्टाघर, विन्ध्यवासिनी, पर्सा निकुञ्ज, बाराको गहवामाई, सिम्रौनगढ, धनुषाको धनुषाधाम, जनकपुरको विश्व प्रसिद्ध जानकी मन्दिर आदि मधेशको पर्यटनको धरोहर हुन् । धार्मिक स्थल जनकपुरलाई रामायण संजालसँग जोड्ने घोषणा भए पनि यसलाई मूर्त रूप दिन सकिएको छैन ।
नेपाल पर्यटन बोर्डद्वारा प्रकाशित तथ्यांकअनुसार सन् २०२३ मा नेपालमा १० लाखभन्दा बढी पर्यटक भित्रिए । कोभिड– १९ को महामारीपछि उक्त वर्ष यहाँ सबैभन्दा बढी पर्यटक आएका थिए । यद्यपि, मधेश प्रदेशमा कति पर्यटक कहाँबाट आए, त्यसको लेखाजोखा हुन सकेको छैन ।
नेपाल सरकारले सन् २०२५ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको छ । साथै, सन् २०२३ देखि २०३२ सम्मलाई पर्यटन दशकका रूपमा मनाएर प्रतिवर्ष ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । यस लक्ष्यलाई व्यवहारमा उतार्न सके मधेशको अर्थतन्त्र सबलीकरणमा केही टेवा पुग्ने छ ।
मिथिला–मधेश
तराई–मधेश अर्थात् मिथिला संस्कृतिको समृद्ध क्षेत्र । मधेशको पर्यटन भन्नासाथ धनुषाको जनकपुरधामलाई लिइन्छ । यो क्षेत्र जानकी मन्दिरका कारण पनि मिथिला संस्कृतिको पर्यायवाची बनेको छ ।
धार्मिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण मधेश प्रदेश आन्तरिक तथा बाह्य पर्यकटको रोजाइमा पर्दै आएको छ । विशेष गरेर भारतीय पर्यटक मधेशको भ्रमणमा आउने गरेका छन् तर आन्तरिक तथा बाह्य पर्यटकलाई टिकाउन सकस छ ।
मिथिला, भोजपुरी र बज्जिका भाषाको क्षेत्र मधेश प्रदेशमा मठमन्दिरलगायत धार्मिक स्थलको बाहुल्य छ । घुमफिरमा आउने अधिकांश पर्यटकको धार्मिक भ्रमण हुने गरेको छ ।
मधेशका ८ वटै जिल्लामा धार्मिकस्थल छन् । जानकी, गढीमाई, कंकालिनी, छिन्नमस्ता भगवती, राजदेवी, सलहेश फूलबारी, लक्ष्मीनारायण, पारसनाथ मन्दिर प्रमुख आकर्षण हुन् । जानकी मन्दिर विश्वभरका हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र हो । सबैभन्दा धेरै पर्यटक जानकी मन्दिरकै भ्रमणमा आउने गरेका छन् ।
हिन्दु धर्मावलम्बी मात्र नभई मुस्लिम, बौद्ध तथा जैन धर्मावलम्बीका आस्थाका केन्द्रहरू पनि हुनु यहाँको सबैभन्दा सुन्दर पक्ष हो । महोत्तरीको बलवा नगरपालिकामा रहेको ३०० वर्ष पुरानो रौजा मजार छ । यो इस्लाम धर्मावलम्बीहरूको एक प्रमुख धार्मिकस्थल हो ।
प्रत्येक वर्ष चैत महिनामा मजारमा उर्ष जलसा (धार्मिक प्रवचन) भव्य रूपमा मनाइने गरिन्छ, जहाँ हिन्दुहरू पनि सहभागी हुन्छन् । त्यसैगरी सप्तरीको वनस्खण्डी सिख समुदाय, पर्साको भिष्वा मठ बौद्ध र एतिहासिक, पुरातात्विक धरोहर पारसनाथ मन्दिर जैन धर्मको आस्थाको केन्द्रका रूपमा परिचित छन् ।
मधेश आफैंमा एउटा सुन्दर फूलबारी हो । यहाँ मधेशी–पहाडी, हिन्दु, मुस्लिम, जैन धर्मावलम्बीको समेत बसोबास छ । मिथिलाकालीन कला, संस्कृति, वेशभूषा, धार्मिक विविधता, आदिम धर्म संस्कारसँग जोडिएका मूल्य मान्यता, मठमन्दिर, कृषि पर्यटन, जैविक विविधता, नेपाल भारत सांस्कृतिक÷वैवाहिक सम्बन्धसँग जोडिएका हेर्नलायक प्राचीन सम्पदाहरू पनि यहीँ विद्यमान छन् ।
नेपालमा अहिले संचालनमा रहेको एक मात्र रेल सेवा मधेश प्रदेशकै जनकपुरधाममा छ । त्यसको संचालनपछि भारतीय धार्मिक पर्यटकहरूको आवागमन पनि बढेको छ तर त्यसरी आएका धार्मिक पर्यटकहरूलाई जनकपुरको जानकी मन्दिरभन्दा अरू ठाउँ पनि लैजानेगरी कुनै योजना बनेको देखिँदैन ।