-श्याममदन के. सी.
नेपालमा आएको राजनीतिक परिवर्तनले नेपाली जनतालाई विखण्डतिर लगेको छ । समाजमा एकत्रित भएर बसेका विभिन्न जाति, जनजातिका समुदायहरूलाई छिन्नभिन्न पारिएको छ । यसले समाजमा मिलेर बसेका समुदायलाई छिन्नभिन्न पार्ने अवस्थामा पुर्याएको छ । राजनीतिमा देखिएको विकृतिले दिनप्रतिदिन समाजलाई जुटाउनेभन्दा फुटाउनेतिर अघि बढेको देखिन्छ ।
यस्तो स्थितिबाट समाजलाई बचाउनका लागि एक मात्र सूत्रको रूपमा अमूर्त साँस्कृतिक सम्पदाले महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ । यस्ता अमूर्त साँस्कृतिक सम्पदाहरूले नेपाली जनताको हृदयमा संवेदना जगाउने काम गर्ने छन् । विशेषगरी नेपाली जनताको परम्परा र जीवनशैलीसँग सम्बन्धित हुने भएकाले अमूर्त सम्पदाहरू महत्त्वपूर्ण भएका हुन् ।
यस्ता संस्कृति र समुदायले गाउन सकिने गीत, जन्मदेखि मृत्युसम्मका संस्कारहरू र वाचन गर्न सकिने कथाका रूपमा रहेका हुन्छन् । नेपालभर छरिएर रहेका यस्ता अमूर्त साँस्कृतिक सम्पदाहरूलाई राष्ट्रिय एकताको प्रतीकको रूपमा अंगीकार गर्नुपर्छ । यसरी राष्ट्रका पूर्वदेखि पश्चिमसम्मका जनतालाई एकताबद्ध बनाउने अमूर्त साँस्कृतिक सम्पदा मुलुकको अबको गन्तब्य हुनुपर्छ ।
अमूर्त सांस्कृतिक सम्पदा भन्नाले अघिका पुर्खाहरूबाट परम्परागत रूपमा प्राप्त गरी आगामी सन्ततिहरूमा हस्तान्तरण हुँदै आएका परम्परा एवं जीवन्त अभिव्यक्तिहरू हुन् । यसमा मौखिक परम्परा, प्रस्तुतिकला, सामाजिक अभ्यास, रीति रिवाज, चाडपर्व, प्रकृति र ब्रह्माण्डसँग सम्बन्धित ज्ञान हुन् ।
त्यसैगरी अभ्यास एवं परम्परागत शिल्पकला निर्माण गर्ने ज्ञान तथा सीपहरू समावेश गरिएको हुन्छ । यस्ता अमूर्त साँस्कृतिक सम्पदा समुदाय आफंैले पहिचान एवं परिभाषित गरेका हुन्छन् । प्रचलन र अभ्यासहरू अमूर्त साँस्कृतिक सम्पदाका अंशहरू हुन् भन्ने निर्णय गर्ने अधिकार सम्बन्धित स्थानको समुदायसँग रहेको देखिन्छ ।
अमूर्त साँस्कृतिक सम्पदाहरूमा परम्परागत ज्ञान, सीप र रीतिमा निर्भर रहन्छ । अमूर्त संस्कृति एक पुस्तादेखि अर्को पुस्तासम्म हस्तान्तरण भई निरन्तर समुदाय र समूहद्वारा पुन निर्मित गरिन्छ । यसले उनीहरूलाई पहिचान र निरन्तरताको बोध गराउँछ ।
यसरी साँस्कृतिक विविधता र मानव सिर्जनशीलताका लागि सम्मान प्रवर्द्धन गर्छ । विभिन्न समुदायको अमूर्त साँस्कृतिले अन्तरसाँस्कृतिक सम्वादमा सहयोग पुर्याउने तथा एकअर्काका जीवनशैलीलाई पारस्परिक सम्मान गर्न प्रोत्साहित गरेको देखिन्छ । ज्ञानको हस्तान्तरणको सामाजिक र आर्थिक मूल्य राज्यका अल्पसंख्यक समूह र मूलधारमा रहेका सामाजिक समूहका लागि उत्तिकै सान्दर्भिक छ ।
यसले विविध साँस्कृतिक समूहहरूले भाग लिने समकालीन ग्रामीण तथा शहरी प्रचलनहरू समेटेको छ । यस्ता अमूर्त साँस्कृतिक सम्पदाहरूले हाम्रा विगत, वर्ममान र भविष्यलाई जोड्ने सेतुको रूपमा काम गर्दै आएका छन् । प्रत्येक समुदायको पहिचान र निरन्तरताको बोध गराउन योगदान पुर्याएको छ ।
सामान्य अमूर्त संस्कृति निरन्तर रूपमा परिवर्तित हुँदै र विकसित हुँदै सबै पुस्तालाई अटाउने किसिमले विकसित गरिएका छन् । समझदारीको अभावले गर्दा जोखिममा परेको अमूर्त संस्कृतिलाई ग्रामीण र शहरी क्षेत्रमा गहन रूपमा राष्ट्र निर्माणमा यसको भूमिकाका सम्बन्धमा चर्चा गर्नु अबको गन्तव्य बनाउनुपर्छ ।
पर्यटक भित्र्याउनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अमूर्त साँस्कृतिक सम्पदाको स्याहार संभार गर्न सकिएको छैन । नेपालीहरूको जीवनलाई सहज र एकताबद्ध बनाउने अमूर्त संस्कृतिलाई समाप्त पार्न खोजिएको छ । यस कार्यले संस्कृति मात्र नभई हाम्रो सामाजिक, साँस्कृतिक, धार्मिक क्षेत्रलाई ध्वस्त बनाउने देखिन्छ । यस्तो खतराबाट बचाउनका लागि आगामी गन्तव्य अमूर्त साँस्कृतिक सम्पदालाई जोगाउनु हुनुपर्छ । राष्ट्र जोगाउने गन्तव्यका रूपमा यसलाई उपयोग गर्नुपर्ने देखिन्छ । राष्ट्र बचाउन र समुदायलाई अझ एकआपसमा बलियो बन(ाउनका लागि अमूर्त संस्कृतिलाई जीवन्त राख्नु अनिवार्य छ । यसका लागि अमूर्त संस्कृतिलाई समुदायभित्र र युवा पुस्ताहरूका बीच नियमति रूपमा अभ्यास गर्नुपर्ने र सिकिरहनुपर्ने वातावरण तयार पार्नु आवश्यक छ ।
यसलाई नाटक मञ्चन, गीत, संगीत, सांगीतिक बाजागाजा वा शिल्पहरू एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण तथा संचारमा संलग्न प्रक्रियाहरूमा केन्द्रित गरिनुपर्छ । यसले आजको पुस्ताका लागि जीवनको सक्रिय अंशका रूपमा सुनिश्चित गर्नु हो । यसले समुदायमा रहेका भाषासहितका मौखिक परम्पराहरू तथा अभिव्यक्तिहरूलाई जोगाउँछ ।
प्रदर्शनकारी र अभिनयकलाहरू, सामाजिक व्यवहार, अनुष्ठानहरू तथा चाडपर्वका उत्सवहरूले समाजलाई एक ढिक्का बनाउन सघाउँछन् । प्रकृति र ब्रह्माण्डसँग सम्बन्धित ज्ञान तथा व्यवहारहरू र परम्परागत सीप तथा कलाकौशलहरूलाई जोगाउनु भविष्यको लक्ष्य हुनुपर्छ । त्यसका लागि संरक्षणका उपायहरू अवलम्बन गरी जीवन्तता, निरन्तर पुनर्सिर्जना र हस्तान्तरण सुनिश्चित गर्ने लक्ष्य राख्नुपर्ने देखिन्छ ।
त्यसका लागि अमूर्त संस्कृतिको पहिचान, अभिलेखीकरण औपचारिक र अनौपचारिक शिक्षाका माध्यमबाट गरिनुपर्छ । लोप हुन पुगेका अमूर्त साँस्कृतिक सम्पदाहरूको अनुसन्धान, संरक्षण, प्रवर्द्धन, अभिवृद्धि र हस्तान्तरण गरी विविध पक्षहरूलाई पुनर्जीवन दिनेजस्ता क्रियाकलापहरू समावेश गर्नु प्रमुख लक्ष्य हुनुपर्छ ।
नेपालको अमूर्त साँस्कृतिक विविधताले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न सकेको हुँदा यसलाई समाजमा पुनर्जागरण गर्ने लक्ष्य हुनुपर्छ । अमूर्त साँस्कृतिक सम्पदाको संरक्षणका लागि विवरणसूची तयार पार्नका लागि र कार्यक्रम, परियोजनालगायतका क्रियाकलापहरूलाई अगाडि बढाउनुपर्ने देखिन्छ ।
नेपालको पहिचान अभिव्यक्तिको प्रमुख माध्यम भएका भाषा जगेर्नादेखि समुदायको कला, संस्कृति, मौखिक तथा लिखित साहित्य, रीति रिवाज, परम्परागत ज्ञान, सीपलगायत विविध पक्षको संरक्षण र सम्वद्र्धन गरी पर्यटन प्रवर्द्धन र स्थानीय रोजगारी वृद्धि गरी जनतालाई एकजुट बनाउने अभियान हालको लक्ष्य हुनुपर्छ ।