-सन्दिप वि. क.
के तपाईं एकछिन कल्पना गर्न सक्नुहुन्छ, यदि संसारमा पैसा नभएको भए के हुन्थ्यो ? यसको उत्तर अति नै जटिल छ । आज मान्छे पैसा नै निम्ति दिनरात दौडिरहेको छ । संघर्ष, परिश्रम गरिरहेको छ ।
वास्तवमा राज्यद्वारा कानुनी मान्यताप्राप्त वस्तु, जुन आमनागरिकले विनिमयको माध्यमका रूपमा प्रयोग गर्छन्, त्यो नै पैसा हो । पैसाको विकास हुनुपूर्व विनिमय प्रथा थियो, जुन हामीले पाठ्यक्रममा पढ्दै आएका छौं । त्यो समय आफूसँग भएको वस्तु दिएर अरूबाट आफूलाई चाहिएको वस्तु साटेर विनिमय गर्ने प्रचलन थियो ।
जब वस्तुहरूको मूल्यांकन प्रणालीमा समानता नहुने, एकअर्कासँग भएका वस्तु दुवै पक्षलाई आवश्यक नपर्ने, वस्तुलाई स–साना इकाईमा विभाजन गर्न नसकिनेलगायतका समस्या हुन थाले, त्यसपछि सबैलाई स्वीकार्य हुने विनिमयको माध्यमका रूपमा मुद्रा (पैसा)को विकास भयो ।
मुद्राको सुरुवाती अवस्थामा सिक्का तथा बहुमूल्य धातुको प्रयोग हुने गथ्र्यो । सिक्काको प्रचलन पनि ओसारपसार अव्यावहारिक भएपछि कागजी नोटको प्रचलन भएको पाइन्छ । त्यसपछि प्लास्टिक नोटको प्रचलन भयो ।
हाल अमेरिकाले विश्वकै महँगो भर्चुअल मुद्रा बिटक्वाइन अर्थात् क्रिप्टोकरेन्सी कारोबारलाई कानुनी मान्यता दिइसकेको छ ।
यस्तै, पछिल्लो समय भौतिक मुद्रालाई प्रतिस्थापन गर्न डिजिटल करेन्सीको विकास हुन थालेको छ । २१औं शताब्दीसम्म आइपुग्दा पैसाको नयाँ रूप डिजिटल करेन्सीले लिएको छ ।
आज विश्वका केन्द्रीय बैंकहरू तथा अन्य नियामक निकायहरूले वित्तीय कारोबारमा डिजिटल मुद्राको प्रयोग गर्न सकिने वा नसकिने भन्नेबारे अध्ययन गरिरहेका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का अनुसार विश्वका १०० हाराहारी देश विद्युतीय मुद्रा निर्माणको अन्तिम चरणमा रहेका छन् ।
आज विश्वमा क्यारेबियन टापु बहामस भर्चुअल करेन्सी प्रयोग गर्ने पहिलो देश बनेको छ । सन् २०२० अक्टोबरमा ‘बहामियन सान्ड डलर’ नाममा त्यहाँ डिजिटल मुद्रा कारोबारमा आइसकेको छ । नाइजेरियाले २०२१ अक्टोबरमा ‘इनाइरा’ नामको विद्युतीय मुद्रा सार्वजनिक गरिसकेको छ ।
यस्तै, हाम्रो छिमेकी देश भारतले पनि १ डिसेम्बर २०२२ देखि नै रिटेल डिजिटल रुपैयाँ (इ–रुपी) सुरुवात गरिसकेको छ । चीनले सन् २०२२ मै डिजिटल युआन मुद्रा ल्याइसकेको छ । चीन जाने मानिसहरूले यही नयाँ डिजिटल मुद्रामा किनमेल वा लेनदेन गर्न सक्ने छन् ।
नेपालमा कहिले ?
विश्वव्यापी रूपमा फैलिएको कोभिड– १९ महामारीको सुरुवातसँगै नेपालमा डिजिटल भुक्तानी द्रुत रूपमा अगाडि बढेको छ । डिजिटल भुक्तानीहरू द्रुत रूपमा विकास भएसँगै नेपाललाई पनि डिजिटल करेन्सीको विकास गर्न उत्प्रेरित गरेको छ ।
विश्वभरमा विद्युतीय मुद्राको प्रयोग तथा सम्भाव्यता अध्ययन भइरहेका बेला नेपालमा पनि पहिलो पटक आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीतिमा सीबीडीसीको सम्भाव्यता अध्ययन गरिने छ भन्ने उल्लेख गरिएको छ ।
यसबाहेक २०२१ अगस्टमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरको अध्यक्षतामा उच्चस्तरीय सीबीडीसी स्टेयरिङ कमिटी गठन गरिएको थियो र २०२१ सेप्टेम्बरमा एक अध्ययन कार्यदल (आर्थिक अनुसन्धान विभाग, भुक्तानी प्रणाली विभाग, मुद्रा व्यवस्थापन विभाग इत्यादि विभागबाट प्रतिनिधि सम्मिलित सदस्य) गठन भयो ।
२०२२ अगस्टमा ‘सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) : आइडेन्टिफाइङ एप्प्रोप्रियट पोलिसी गोल्स एन्ड डिजाइन फर नेपाल’ नामक कन्सेप्ट रिपोर्ट सार्वजनिक परामर्शका लागि जारी गरिएको थियो ।
यससँगै २०२३ मेमा भुक्तानी प्रणाली विभागअन्तर्गत रहनेगरी सीबीडीसी डिभिजन स्थापना गर्ने निर्णय गरिएको थियो र २०२३ जुलाईदेखि सो डिभिजन संचालनमा आएको छ । नेपाल राष्ट्र बैंकको चौथोे रणनीतिक योजना, (२०२२–२०२६) मा सीबीडीसी विकास गर्न विज्ञहरू हायर गरी सीबीडीसी पाइलट परीक्षण सन् २०२६ मा गरिने छ भन्ने लेखिएको छ ।
यस्तै, डिजिटल करेन्सी प्रयोजनका लागि राष्ट्र बैंकले एक अध्ययनसमेत गरेको छ । विभिन्न मुलुकमा यस्तो डिजिटल मुद्रा प्रवाहका संरचना, प्रयोगमा रहेका भिन्न शैलीका कारण नेपालले एउटै तरिका अनुसरण गर्नुपर्ने अवस्था नरहेको र भविष्यमा हुने विकासक्रम अनुसार नै नेपालले डिजिटल मुद्रामा जान सकिने उल्लेख गरेको छ ।
राष्ट्र बैंकले डिजिटल मुद्रा प्रयोगमा ल्याउनुअघि नीति निर्माता, सरकारी निकाय, नियामक, बैंक तथा वित्तीय संस्थालगायतका विविध पक्षसँग सहकार्य गर्न आवश्यक रहेको अध्ययनले उल्लेख गरेको छ । राष्ट्र बैंकले गरेको अध्ययनअनुसार दक्षिण एसियाली मुलुकहरू भारत र भुटानमा नमुना परीक्षण भइरहेको उल्लेख छ । त्यस्तै, पाकिस्तान र श्रीलंकामा खुद्रा कारोबार सम्बन्धमा अनुसन्धान भइरहेको छ ।
नेपालमा करेन्सीको सम्भावना
नेपालमा डिजिटल करेन्सीको सम्भावना छ, जसलाई बुँदागत रूपमा तल प्रस्तुत गरिएको छ ।
सम्भावनाहरू
वित्तीय समावेशीकरण
डिजिटल करेन्सीको प्रयोगले नेपालका ग्रामीण र दुर्गम क्षेत्रमा रहेका व्यक्तिहरूलाई वित्तीय सेवामा पहुँच पु¥याउन सहयोग पु¥याउने छ । यदि सही प्रविधि र संरचना लागू गरियो भने डिजिटल मुद्रामार्फत बैंकिङ पहुँचलाई बढाउन सकिने छ ।
आर्थिक विकास र डिजिटल कारोबारको प्रोत्साहन
डिजिटल मुद्रा प्रयोग गर्नेले अर्थतन्त्रमा वित्तीय प्रवाहलाई पारदर्शी बनाउन सक्छ र अनलाइन कारोबारका लागि सजिलो बनाउँछ । यसले व्यापारको वृद्धि र डिजिटल प्लेटफर्महरूको उपयोगलाई प्रोत्साहन गर्न सक्छ ।
कम लागत र छिटो ट्रान्जेक्सन
डिजिटल मुद्रा (जस्तै : क्रिप्टोकरेन्सी वा सरकारी डिजिटल मुद्रा)ले विद्यमान भुक्तानी प्रणालीहरूको तुलनामा कम शुल्क र छिटो पैसा आदान प्रदान गर्न सहयोग गर्छ । यसले अन्तर्राष्ट्रिय ट्रान्जेक्सनमा पनि लागत घटाउन सक्छ ।
नयाँ प्रविधिको समावेश
डिजिटल करेन्सीले नेपालको बैंकिङ क्षेत्रमा नयाँ प्रविधि भित्र्याउन सहयोग गर्छ । डिजिटल करेन्सीको प्रयोगले नेपाली अर्थतन्त्रलाई ग्लोबल फाइनान्समा जोड्न सहयोग पुर्याउँछ ।
यति हुँदाहुँदै पनि डिजिटल करेन्सीका केही बेफाइदा अर्थात् चुनौतीहरू छन् ।
चुनौतीहरू
प्रविधि र संरचनामा चुनौती
नेपालका अधिकांश जनता अझै इन्टरनेटको पहुँचमा छैनन् । डिजिटल मुद्रा सुरु गर्नका लागि पर्याप्त इन्टरनेट नेटवर्क र डिजिटल प्लेटफर्महरूको विस्तार आवश्यक हुनेछ, जसले ठूलो लगानी र समय खर्च हुने गर्छ ।
साइबर सुरक्षाको खतरा
डिजिटल करेन्सीसँग जोडिएका साइबर अपराध र सुरक्षासम्बन्धी चुनौतीहरू हुन सक्छन् । यदि उपयुक्त सुरक्षा उपायहरू लागू नगर्ने हो भने, ह्याकरहरूको आक्रमण हुने सम्भावना रहन्छ ।
कानुनी र नीति ढाँचा
डिजिटल मुद्रा प्रचलनमा ल्याउनका लागि उपयुक्त कानुनी ढाँचा तयार गर्नुपर्ने हुन्छ । नेपालमा क्रिप्टोकरेन्सीको प्रयोगसँग सम्बन्धित अस्पष्टता र नियमहरूको अभाव छ, जसले यसलाई पूर्ण रूपमा स्वीकार गर्न चुनौतीपूर्ण बनाउँछ ।
प्रचलन र स्वीकृति
डिजिटल मुद्रा प्रयोगका लागि जनमानसमा पर्याप्त विश्वास र स्वीकृति हुनु आवश्यक छ । पारस्परिक मुद्रासँग तुलना गर्दा डिजिटल मुद्रा अझै नयाँ हुन्छ, जसले त्यसको प्रयोगलाई बढाउन थप समय र प्रयास आवश्यक पर्ने छ ।
तसर्थ, नेपालमा डिजिटल करेन्सीको चुनौतीका साथै सम्भावनाहरू पनि उत्तिकै छन् । यसको पूर्ण कार्यान्वयनका लागि सुधार र योजनाबद्ध ढंगले अघि बढ्नुपर्छ । नेपाल सरकारले डिजिटल वित्तीय सेवाहरूमा थप ध्यान पुर्याउँदै सही कानुनी र प्राविधिक संरचना निर्माण गर्ने हो भने, डिजिटल मुद्रा नेपालका लागि एक सकारात्मक कदम साबित हुन सक्छ ।