-टंककला तिमिल्सेना
विश्वमा राज कसरी गर्न सकिन्छ ? यसको सरल जबाफ हो– राजनीतिद्वारा । मानव जातिको विकासक्रमसँगै राजनीतिको सुरुवात भएको हो भन्दा फरक नपर्ला । साम, दाम, दण्ड, भेद यी सबैको प्रयोग गरेर भए पनि अरूमाथि राज जमाउनु अर्थात् आफू शक्तिशाली बन्नु मानवीय स्वभाव हो ।
चाहे त्यो घरभित्र होस्, चाहे त्यसको दायरा विश्वभर होस्, आफ्नो राज जमाउन प्रयोग गरिने नीति राजनीति हो । अनि, राजनीतिका लागि सबैभन्दा महत्त्वपूर्ण पाटो हो– कूटनीति । अरूमाथि आफ्नो नियन्त्रण राख्नका लागि कूटिलता सबैभन्दा महत्त्वपूर्ण पाटो हो । आफ्नो लक्ष्यसम्म पुर्याउने ज्ञान वा तवरतरिका नै कूटिलता अर्थात् कूटनीति हो ।
यहाँ भन्न खोजेको कुरा के हो भने, वर्तमान विश्वले कूटनीतिको उच्चतम अभ्यास गरिरहेको छ, अरूमाथि आफ्नो नियन्त्रण कायमका लागि । विशेषगरी शक्ति राष्ट्रहरूको शक्तिको दायरा कूटनीतिकै धरातलमा तीव्र वेगमा कुदिरहेको छ । लाखौं मानिसको ज्यान जानेगरी, विध्वंश मच्चाउनेगरी, कति ठाउँमा त मानव अस्तित्व नै समाप्तिको नजिक पुग्नेगरी युद्धको डंका बजिरहेको छ ।
यी सबै केका लागि त ? जबाफ हो– अरूमाथि आफ्नो नियन्त्रण जमाएर सर्वशक्तिमान बन्नका लागि । अनि, कोही आफू अरूको नियन्त्रणमा नबसी स्वयं शक्तिशाली बनिरहनका लागि । यसरी शक्ति आर्जनकोे होडमा शक्तिशाली मानिने देशहरू कूटनीतिको उच्च अभ्यास गरिरहेका समय नेपाल कूटनीतिको कुन चरणमा छ ?
विश्वमा आफ्नो अस्थित्व विस्तार एवं बलियोका लागि भूमि विस्तार मात्र होइन, आर्थिक, साँस्कृतिक, सामाजिकलगायत अन्य थुप्रै पाटाहरू छन्, जसलाई अनुमान गरी आफ्नो समग्र अवस्थालाई हेरेर कूटनीतिक रूपमा सशक्तीकरणमा लाग्ने गरेका छन् विश्वभरका राष्ट्रहरू ।
नेपालले यसमध्ये कुन पक्षलाई सशक्त बनाउँदा उपयुक्त छ त ? अहिलेको अवस्था हेर्दा नेपालले आफ्नो शक्ति विस्तार गर्ने भन्दा पनि आफूलाई जोगाउने कसरी ? आफूमाथि अरूको हस्तक्षेप कम गर्ने कसरी भन्ने चरणमा छ ।
समग्रमा भन्दा, नेपाल अहिले विश्व शक्ति राष्ट्रहरूसँग कूटनीतिक रूपमा रक्षात्मक चरण (डिफेन्सिङ स्टेज)मा रहेको छ । अब कुरा रहयो, के नेपालले कूटनीतिको रक्षात्मक चरणमा राम्रो प्रदर्शन गरिरहेको छ ? अहँ ! छैन । विश्व शक्ति राष्ट्रका रूपमा उदीयमान २ ठूला राष्ट्रहरू भारत र चीनको बीचमा संवेदनशील भू–राजनीतिक भुमरीमा रहेको नेपालले थोरै मात्र पनि लरबर गरे अवस्था गम्भीर आउन सक्छ । त्यसमाथि उदाउँदै गरेका शक्ति राष्ट्रको बीचमा रहेको नेपालको भूमि अन्य शक्ति राष्ट्रका लागि अर्जुन दृष्टि बन्नु नेपालका लागि जटिलताको जालोले घर थपेको थप्यै गर्नु सरह छ नै ।
अहिलेको विश्वमा सर्वशक्तिमान कहलिएको संयुक्त राज्य अमेरिकामा अनि ४७औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पको आगमनले विश्वलाई नै कता लैजान्छ भन्ने बहस गरम भइरहेको अहिलेको अवस्थामा चीन र भारतमाथि ट्रम्पको नजरकोे प्रभाव नेपालमाथि नपर्ने कुरै छैन । अर्थात्, विशेषगरी नेपालले चीनसँग कस्तो लेनदेन गर्छ, त्यसले पनि विश्व शक्ति राष्ट्रका नजरमा नेपालको कूटनीतिक अवस्थाको मापन गर्ने नै देखिन्छ ।
हालसम्म १८२ देशसँग नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको अवस्था छ । कूटनीतिको प्रभाकारिताका लागि नै ३३ दूतावास, ३ संयुक्त राष्ट्रसंघीय स्थायी नियोग र ६ महावाणिज्य दूतावास गरी विदेशमा ४० वटा नेपाली कूटनीतिक कार्यालय छन् । विदेशका कूटनीतिक कार्यालयमा करिब १४० नेपाली कार्यरत छन् । तर, यी नै पर्याप्त छैनन् र हाल कूटनीतिक क्षेत्रमा देखिएको परिणाम सन्तोषजनक छैन भन्ने टिप्पणी विज्ञहरूबाटै यत्रतत्र सर्वत्र छरपस्ट छ ।
नेपालको कूटनीतिको विगत
नेपालले कूटनीतिको उच्चतम प्रयोग त अझै पनि पूर्ण रूपमा गरेको छैन । यद्यपि, आधुनिक नेपाल अर्थात् बाइसे, चौबीसे राज्य एकीकरणपछि औपचारिक रूपमा अझ बढी व्यवस्थित कूटनीतिको सुरुवात गरेको हो भन्ने दस्तावेजहरूले दर्शाउँछन् ।
तत्कालीन राजा पृथ्वीनारायण शाहले सन् १७६९ मा स्थापना गरेको मुन्सी खाना÷जैसी कोठा नेपालको परराष्ट्र मामिला हेर्ने पहिलो अड्डा थियो । नेपालको परराष्ट्र विभाग भने पहिलो पटक सन् १९३४ मा खुलेको थियो । २००७ सालको क्रान्तिसम्ममा नेपालको परराष्ट्र सम्बन्ध बेलायत, भारत, चीन, फ्रान्स र अमेरिकासँग थियो । त्यसमा पनि भारत र चीनसँग नेपालको कूटनीतिक सम्बन्ध निकै पुरानो रहेको तथ्य हामीमाझ छ । समयक्रमसँग अहिले नेपालको परराष्ट्र मन्त्रालयले सबै कूटनीतिक मामिला हेर्दै आएकोे छ ।
परराष्ट्र नीति र कूटनीतिको तालमेल कस्तो ?
परराष्ट्र नीतिकै आधारमा कूटनीति अघि बढ्ने भएकाले कूटनीतिक अवस्थाको चर्चालाई परराष्ट्र नीतिसँग छुट्याउन सकिँदैन । अर्थात, परराष्ट्र नीति र कूटनीतिको तालमेल एक हुनुपर्छ । नेपालले यी २ पक्षबीचको तालमेल बलियो बनाउन सकेको छ त ? यो अहं सवाल हो ।
नेपालको परराष्ट्र नीतिको मूल उद्देश्य सार्वभौमसत्ताको रक्षामा क्रियाशील भई राष्ट्रको सर्वांगीण हितलाई ध्यानमा राखी संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता, पञ्चशीलका सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिको मान्यतामा आधारित स्वतन्त्र परराष्ट्र नीति संचालन गर्ने हो । यी पक्ष पूरा गर्न अपनाइने नीति कूटनीति हो ।
यहाँ महत्त्वपूर्ण समीक्षाको विषय हो नेपालले राष्ट्रहितका सबै पक्षलाई सशक्त बनाउन कूटनीतिक प्रदर्शन उच्च गरेको छ त ? उत्तर एउटै आउँछ– कूटनीतिक कदममा अझै धेरै सुधार गर्नै पर्छ । कूटनीतिक सुधार आवश्यक छ भन्नुका आधारहरूको पनि चर्चा गरौं ।
नेपाल–भारत कूटनीतिक अवस्था
राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्धले वर्तमान अनि भविष्यको सम्बन्धलाई समेत निक्र्योल गर्छ । नेपाल–भारत सम्बन्ध इतिहासका पुस्तकमा मात्र नभएर धार्मिक ग्रन्थ र मिथसम्ममा समेटिएको कुराले पनि यो सम्बन्ध प्राचीन छ भन्न हिच्किचाउनु पर्ने छैन । तर, भारतसँग नेपालको कूटनीतिक सम्बन्ध बलियो भने छैन । नेपाल सबै क्षेत्रमा रक्षात्मक बन्(नुपरेको र पल्ला कमजोरको अवस्थामा छ । विश्व शक्ति राष्ट्रहरूको नजर, चीनसँगको सम्बन्धलगायत सबै पक्षमा जटिलताले गाँजेकाले पनि नेपाल–भारत कूटनीतिक सम्बन्ध संवेदनशील छ ।
नेपाल–भारत–चीन भू–राजनीतिक धरातल र सुरक्षा चासो
कूटनीतिक क्षेत्रमा खटिरहेका चिनियाँ अधिकारीले विभिन्न फोरमहरूमा दिएका अभिव्यक्ति आधार मान्ने हो भने उनीहरू नेपाल–भारत सम्बन्ध जस्तो छ, त्यही प्रकारको हुनुपर्छ भन्ने चीनको चाहना नभएको बताउँछन् ।
नेपाल–चीन सम्बन्ध मौलिक अनि बलियो हुनुपर्छ भन्ने मत आफूहरूको रहेको चिनियाँ अधिकारीहरूको भनाइ सुनिन्छ । विशेषगरी नेपालमा अमेरिकी प्रभावप्रति चीनको सजग दृष्टि देखिन्छ । नेपाल–भारत–चीन एकअर्कासँग अतिसंवेदनशील मोडमा रहेको र चीन र भारतप्रति शक्ति राष्ट्र अमेरिकाको प्रतिस्प्रर्धात्मक होड रहेकाले पनि नेपाल यसरी घानमा परेको हो ।
त्यसमाथि नेपालमा कसको प्रभाव बढी छ भन्ने होडमा भारत र चीन छन् । त्यसैले यी दुवै देश नेपालको एक–एक कदमको गरिहाइमा गएर बहस छेड्ने गर्छन् । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटेर आफ्नो प्रशासनिक नक्सा सार्वजनिक गरेपछि केही भारतीय उच्च अधिकारी र विज्ञले नेपाल चीनतर्फ ढल्किएको अभिव्यक्ति अहिले पनि दिँदै आएका छन् । नयाँ नक्सा सार्वजनिक गर्दा प्रधानमन्त्री थिए, केपी शर्मा ओली । अहिले पनि नेपाल सरकारको नेतृत्वकर्ता अर्थात् प्रधानमन्त्री केपी शर्मा ओली नै छन् । त्यसैले भारत अहिलेसम्म पनि वर्तमान सरकारप्रति सकारात्मक देखिँदैन ।
त्यसमाथि ओलीले चीन गएर बीआरआई सम्झौता गरेपछि नेपालप्रतिको भारतीय दृष्टि झन् संशययुक्त छ । केही समयअघि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत भ्रमणमा रहँदा भारत सरकारले गरेको बेवास्ता नेपाली कांग्रेससँग र आरजुको व्यक्तिगत सम्बन्ध बिग्रेकाले नभई प्रधानमन्त्री केपी ओलीप्रति भारतको अरुचिले हो भन्ने प्रस्ट छ ।
सीमा क्षेत्रको सम्बन्ध र शक्ति राष्ट्रको स्वार्थकै कारण भू–राजनीतिक धरातलको संवेदनशीलता थप जटिल बनिरहेको छ । यसले गर्दा नेपालले भारत र चीनसँग सन्तुलन मिलाउन सजग हुनुपरिरहेको छ ।
कमजोर कूटनीतिले शक्ति राष्ट्रको घानमा नेपाल
अमेरिकाको रणनीतिक योजना एमसीसी र चीनको रणनीतिक योजना बीआरआई यी दुवैसँग नेपालले अहिले सम्झौता गरिसकेको अवस्था छ । यिनै सम्झौताले चीन र अमेरिकासँगको कूटनीतिमा नेपालको केही चिसोपना देखिएकै छ ।
अमेरिकाको नेतृत्वमा रहेको पश्चिमा सरकारले तिब्बती मामिलालाई उचाल्न खोजिरहेको र नेपाली भूमिबाट चीनलाई नियन्त्रणमा राख्न खोजिएको अनि यसलाई हिन्द–प्रशान्त रणनीतिको हिस्सा बनाउन खोजिरहेको भन्ने प्रस्ट मत चिनियाँ पक्षको छ । अमेरिकासँग एमसीसीदेखि एसपीपीसम्मका एकपछि अर्को सम्झौताले चीन सशंकित छ भने बीआरआई सम्झौताले अमेरिका र भारत सशंकित छन् ।
यो अवस्था राजनीतिक, आर्थिक र कूटनीतिक रूपमा बहुआयामिक महत्त्वका रूपमा देखिएको जटिल समस्या हो । त्यसैले यहाँनिर अब कूटनीतिक कौशल देखाउनु नेपालको कूटनीतिक क्षेत्रको सफलता मापनको एक कडी हो ।
अब के गर्न सकिन्छ ?
विगतका कूटनीतिक चर्चा सुन्दा र दस्तावेज पल्टाउँदा अनि परिणामबारे बुझ्दा नेपालको कूटनीति अहिलेको तुलनामा बलियो नै थियो भन्न सकिन्छ । बहुदलीय व्यवस्थापश्चात् झन् नेपालको कूटनीतिक साख कमजोर भएको टिप्पणी विज्ञहरूले गर्दै आएका छन् ।
नेपाल आफैंमा भू–संवेदनशील अवस्थामा छ भने शक्ति राष्ट्रहरूको आ–आफ्नो शक्ति आर्जनको थलोका रूपमा परिणत भइरहेको छ । त्यसैले नेपालको भू–धरातल र शक्ति राष्ट्रहरूको चासोलाई मन्थन गर्दा अब नेपालले के गर्नुपर्ला ? यो मूल चासोको कुरा हो । सूक्ष्म अध्ययन र गहन विश्लेषणका साथ भन्दा, भारत र चीनसँगको छिमेकी सम्बन्धलाई आवश्यकताअनुसार समयानुकूल सन्तुलित बनाउने, अर्थ कूटनीतिलाई थप सशक्त बनाउने, सैन्य कूटनीतिमा संवेदनशील बन्ने, आर्थिक, राजनीतिक, सुरक्षा, भौगोलिक यी सबै पाटोमा तिखारिएको रणनीति अवलम्बन गर्नेलगायतका कुरा नेपालको कूटनीतिक क्षेत्रले अगाल्नै पर्छ ।