चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजन हुन नदिइने बताएका छन् । गृह जिल्ला चितवन पुगेका प्रचण्डले अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा पार्टी एकतालाई अक्षुण्ण राखिने दृढता व्यक्त गरे ।
पार्टी विवाद उत्कर्षमा पुगेका बेला तीन दिनका लागि चितवन झरेका प्रचण्डले आफू र अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली बीच दूरी बढाउने शक्ति नै सक्रिय भएको बताए । तर, त्यस्ता प्रयास बिफल बनाउने प्रचण्डको भनाइ छ ।
एक साताका लागि स्थायी कमिटी बैठक स्थगित भए पछि अध्यक्ष द्वय ओली र प्रचण्डले विवाद हल हुँदै सन्देश दिएका छन् । देशबासीको नाममा सम्बोधन गर्दै ओलीले विवाद पार्टीभित्रको आन्तरिक र नियमित प्रक्रिया भएको बताएका थिए । यसको भोलिपल्ट अध्यक्ष प्रचण्डले पार्टीभित्रको विवाद हल हुँदै गएको बताए ।
प्रचण्डले आफूले धैर्य नअपनाएको भए पार्टी विभाजनतर्फ जान सक्ने बताएका थिए । “पार्टी विभाजित हुन दिइने छैन, पार्टीको एकतालाई अक्षुण्ण राखिनेछ, यो विश्वास म तपाईंहरुलाई दिलाउन चाहन्छु”, चितवनमा आयोजित कार्यक्रममा आइतबार प्रचण्डले भने ।
पार्टी एकताबद्ध हुने दृढता व्यक्त गर्दै प्रचण्डले कार्यकर्तासँग भने, “अहिले यता र उता दौडिनुभयो भने पछि पछुताउनुहोला ।” सबैले पार्टी एकताका पक्षमा नारा लगाउनुपर्नेमा उनले जोड दिए ।
पार्टीभित्र गम्भीर समस्या सिर्जना भए पनि आफू पार्टीमा देखिएका पछिल्ला सङ्कटबारे गम्भीर छलफलमा रहेको बताउँदै प्रचण्डले नेता तथा कार्यकर्तालाई नहतारिन आग्रह गरे । हतारमा फुट्ने र फुर्सदमा पछुताउने अवस्था आउन नदिन आफू हदैसम्म लचकताका साथ लागिपरेको बताउँदै प्रचण्डले भने, “ठूलो पार्टीमा विवाद आउनु नौलो होइन, विचार, विधि र जनवादी केन्द्रीयताका आधारमा एकताबद्ध हुने सैद्धान्तिक यथार्थलाई सम्पूर्ण कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले मान्नै पर्छ ।”
चीनमा विशाल कम्युनिष्ट पार्टी नफुटेको बताउँदै प्रचण्डले चिनियाँ नेताहरुसँगको छलफलमा विचार र विधिबाट चलेमा पार्टी नफुट्ने अनुभवबारे बुझ्न पाइएको जानकारी दिए । उनले पार्टीमा विवाद भएमा विधिबाट समाधान खोजिने बताए ।
हिजो संविधान नबनोस् भनेर धेरै कसरत भएको बताउँदै प्रचण्डले भने, “संविधान बन्न नदिने दबाबलाई परास्त गरेर संविधान बनायौँ ।” पार्टी र नेतालाई उक्साउने प्रवृत्तिका विरुद्ध खबरदारी गर्न प्रचण्डले कर्ताकर्तालाई आग्रह गरे ।
संविधान बनाउनेदेखि नाकाबन्दी, नयाँ नक्सा जारी गर्ने जस्ता कार्य सबै मिलेर गरेको बताउँदै उनले भने, “हामी कोही राष्ट्रवादी, कोही राष्ट्रघाती होइनौँ । सबै मिलेर राष्ट्राका लागि काम गरेका छौँ ।”
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies