काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का ‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिन आइतबार नयाँदिल्ली प्रस्थान गरेका छन् ।
फेब्रुअरी ११ देखि १४ सम्म भारतको राजधानी नयाँदिल्लीमा हुने ऊर्जा सप्ताह भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयको संरक्षकत्वमा तथा भारतीय पेट्रोलियम उद्योग महासंघको आयोजनामा सम्पन्न हुनेछ । सम्मेलनमा भारतको कम कार्बन वृद्धि अर्थव्यवस्थाका लागि अग्रगामी मोडेल, ऊर्जा पहुँच, सुरक्षा, किफायती ऊर्जा र दिगोपनबारे छलफल हुनेछ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने यस कार्यक्रममा १० देशका करिब ७० हजार ऊर्जा व्यवसायी सहभागी हुनेछन् । कार्यक्रममा ९० सत्रमा छलफल, ५०० वक्ताको प्रस्तुति र ७०० कम्पनीको प्रदर्शनी हुने बताइएको छ ।
मन्त्री खड्काले ‘क्लिन कुकिङ’ र ‘इनर्जी एक्सेस ग्याप’ सम्बन्धी दुई मन्त्रीस्तरीय सत्रलाई सम्बोधन गर्नेछन् । उनको साथमा ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारी र अर्थ विज्ञ अमित श्रेष्ठ पनि नयाँदिल्ली प्रस्थान गरेका छन् ।