काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारदेखि नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण अभियान सुरु गर्ने भएको छ ।
निरोधात्मक विधिबाट रोगहरुविरुद्ध प्रतिकारात्मक अभियान चलाउने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको घोषणाअनुसार स्वास्थ्य मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै फागुन १ गतेबाट एक महिने परीक्षण अभियान सुरु गर्ने भएको हो ।
गत महिना स्वास्थ्य मन्त्री पौडेलले गत मंसिर १६ गते निर्देशिका स्वीकृत गरेका थिए । यसलगत्तै मन्त्रालयले फागुन १ गतेबाट परीक्षण अघि बढाउने कार्यक्रम अघि बढाएको हो ।
देशमा एक करोड ४० लाख ९० हजार नागरिक ३० वर्ष माथिका छन् । यही उमेर समूहका नागरिकलाई समेट्ने लक्ष्य मन्त्रालयले राखेको छ । अभियानका क्रममा ३० वर्ष माथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य संस्थाहरुमा मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोग तथा शरिरको उचाइ र तौलको अनुपात पहिचान गर्ने मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले बताए । मन्त्रालयले यो सेवा निःशुल्क गर्ने बताएको छ ।
गत साउन २७ गते उनले प्रस्तुत गरेको योजना तथा प्राथमिकतामा रोगको उपचारसँगै निरोधात्मक विधिबाट समयमै नागरिकका स्वास्थ्य समस्या थाहा भाएर उपचार गराउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने उल्लेख थियो ।