२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

भोलिदेखि नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गरिने

shivam cement
२०८१ माघ ३० गते १५:४८
Shares
भोलिदेखि नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गरिने

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि बिहीबारदेखि एक महिने परीक्षण अभियान थाल्ने भएको छ । निरोधात्मक विधिबाट रोगहरू विरुद्ध प्रतिकारात्मक अभियान चलाउन बिहीबारदेखि परीक्षण अघि बढाउन लागिएको हो ।

‘हामीले सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा उपचारात्मक सेवा व्यवस्थित गरेसँगै निरोधात्मक विधिबाट नागरिकलाई रोगको दुष्चक्रबाट यथासम्भव जोगाउने योजना अन्तर्गत अभियान थालिएको हो,’ मन्त्री प्रदीप पौडेलले भने,‘नागरिकको आधारभूत स्वास्थ्य परीक्षण अनि सचेतनाका माध्यमबाट सकेसम्म रोग लाग्नै नदिने तथा लागेको खण्डमा समयमै उपचारबाट नागरिकको स्वास्थ्य र नागरिक तथा राज्य दुवैको धनराशी जोगाउने हाम्रो प्रयत्न जारी छ ।’

नेपालमा १ करोड ४० लाख ९० हजार नागरिक ३० वर्ष माथिका छन् । यही उमेर समूहका नागरिकलाई समेट्ने लक्ष्य स्वास्थ्य मन्त्रालयले राखेको छ । अभियानका क्रममा ३० वर्ष माथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य संस्थाहरूमा मधुमेह, उच्च रक्तचाप, मुगौला सम्बन्धी रोग तथा शरिरको उचाइ र तौलको अनुपात पहिचान गर्ने मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले बताए । मन्त्रालयले यो सेवा निःशुल्क गर्ने बताएको छ । 

‘स्थानीय तहसम्म रहेका स्वास्थ्य संस्थामा ३० वर्ष माथिका सबैलाई निःशुल्क परीक्षण गरिनेछ,’ प्रवक्ता बुढाथोकीले भने । फागुन महिनामा पाठेघरको मुखको क्यान्सरविरुद्ध समेत यस्तै स्क्रिनिङ अभियान सञ्चालन गर्ने तयारी मन्त्रालयको छ । 
 
 

सम्बन्धित खबर